आइतबार, मंसिर २१, २०८२

कर्णालीमा पाँच हजारभन्दा बढी उद्योग खारेजी

 |  शुक्रबार, वैशाख ५, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ५, २०८२

काँक्रेविहार- कर्णाली प्रदेशका १० जिल्लामा पाँच हजारभन्दा बढी उद्योग खारेजीमा परेका छन्। उद्योग दर्ता गरेर नियमित सञ्चालन नगरेका कारण पाँच हजार ३६३ उद्योग खारेजीमा परेको उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुर्खेतका प्रमुख देवीलाल सापकोटाले बताए।

National life

खारेजीमा सबैभन्दा बढी दैलेखमा स्थापना गरिएका उद्योग छन्। दैलेखमा एक हजार ६७५ वटा उद्योग खारेज भएका छन्। दोस्रो खारेजीमा पर्नेमा सुर्खेत छ। सुर्खेतमा एक हजार ४५५ वटा खारेज भएका छन्।

कालिकोटमा चार सय ७८, जुम्लामा पाँच सय ८७, मुगुमा २१, सल्यानमा पाँच सय दुई, जाजरकोटमा चार सय २७, डोल्पामा ५१ वटा उद्योग खारेज भएका छन्। त्यस्तै हुम्लामा नौ र रुकुमपश्चिममा एक सय ५८ वटा उद्योग खारेज गरिएका छन्।

कर्णालीका १० जिल्लामा ४३ हजार ६७८ उद्योग दर्ता भएकामा सबैभन्दा बढी सुर्खेतमा दर्ता गरिएका थिए। सुर्खेतमा मात्र १४ हजार २६५ वटा उद्योग दर्ता भएको निर्देशनालयले जनाएको छ। हाल यहाँ एक हजार ३४१ उद्योगमात्र नवीकरण भएका छन्।

दैलेखमा चार हजार ७४८ उद्योग दर्ता गरिएकामा हालसम्मा तीन हजार ५९१ उद्योगको नवीकरण गरिएको छ। कालिकोटमा दुई हजार ८३७ उद्योग दर्ता भएकामा हाल एक हजार ९३६ वटामात्र उद्योग नवीकरण गरिएको छ। 

Laxmi sunrise bank
kumari

यसैगरी जुम्लामा चार हजार ३८६ वटा उद्योग दर्ता भएकामा दुई हजार ३५७ वटा मात्र नवीकरण भएको कार्यालय प्रमुख सापकोटाले बताए। मुगुमा दुई हजार २३ वटा उद्योग रहेकामा हाल ४५० वटा मात्र नवीकरण भएका छन्। सल्यानमा तीन हजार ६६३ वटा उद्योग रहेकामा तीन हजार २१७ वटा मात्र सञ्चालनमा रहेको निर्देशनालयले जानकारी दिएको छ। जाजरकोटमा तीन हजार ६८ दर्ता भएकामा एक हजार ८९७ वटा मात्र सञ्चालनमा रहेको पाइएको छ। 

त्यसैगरी डोल्पामा दुई हजार २३६ उद्योग दर्ता भएकामा हाल नौ सय २२ मात्र नवीकरण भएको निर्देशनालयले जनाएको छ। हुम्लामा तीन हजार ७१९ वटा उद्योग दर्ता भएकामा हाल आएर ७३६ वटा मात्र नवीकरण गरिएको छ।

रुकुमपश्चिममा दुई हजार ७३३ उद्योगमा दुई हजार २५० उद्योगमात्र सञ्चालनमा रहेको उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुर्खेतको तथ्यांकमा उल्लेख छ। एक लाख २१ हजार ५५५ जनाले यी दर्ता भएका उद्योगबाट रोजगारी पाएको निर्देशनालयले जनाएको छ। रासस

प्रकाशित: Apr 18, 2025| 19:01 शुक्रबार, वैशाख ५, २०८२
प्रतिक्रिया दिनुहोस्