तुलसीपुर- दाङको तुलसीपुर उपमहानगरपालिका-५ स्थित रानीजरुवामा सडक निर्माणका लागि दबाब दिन सडकमै केरा रोपेर विरोध जनाइएको छ।
बोलपत्र आह्वान भएको तीन वर्ष बित्दा पनि सडक निर्माण नभएको भन्दै स्थानीय युवाहरूले विरोध जनाएका छन्। पटकपटक सम्बन्धित निकायलाई झक्झक्याउँदा पनि चासो नदिएपछि बुधबार स्थानीयले एक घण्टा सडक अवरुद्ध गरी केराका बोट रोपेका थिए।
बसपार्कस्थित पीपलबोट नजिक चक्काजामसहित सडकमा केराका बिरुवा रोपिएको सङ्घर्ष समितिका सदस्य दीपक काफ्लेले बताए। ‘सुरुमा टेन्डर पनि भयो, ठेकेदार पनि आए तर काम अगाडि बढेन। त्यसपछि यहाँ न ठेकेदार आएका छन् न त सडक नै बनेको छ’, उनले भने।
सडक नबन्दा आवतजावतमा मात्र नभई यहाँको व्यवसाय नै धराशायी भएको सङ्घर्ष समितिका सदस्य आकाश भण्डारीले बताए।