काठमाडौं- लामो समयपछिको खडेरीपछि केही दिनदेखि पानी परिरहेको छ। आज पनि काठमाडौं उपत्यकाको आकाश धुम्मिएर गड्याङगुडुङ गरिरहेको छ।
यसैगरी कोशी, मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रहेको छ। बाँकी भू–भागमा मुख्यतया सफादेखि आंशिक बदलीको अवस्था छ। आज साँझ काठमाडौंसहित ताप्लेजुङ, ओखलढुंगा, जिरी, पोखरा लगायतका शहरमा हल्का पानी पर्ने सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।
अहिले देशभरको मौसममा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। मंगलबार र बुधबार वर्षाको सम्भावना कम रहेको तर बिहीबारदेखि आइतबारसम्म धेरै ठाउँमा वर्षा हुने अनुमान रहेको मौसमविदले बताएका छन्।
अर्को साता सोमबारदेखि वर्षाको सम्भावना घट्ने भएकाले त्यसपछि मात्रै बाली भित्र्याउन महाशाखाले किसानलाई सुझाएको छ। अहिले देशका तराई र पहाडी भेगहरूमा गहुँ बाली भित्र्याउने बेला भएको छ। त्यस्तै दलहन र तेलहन बाली पनि भित्र्याउने तयारीमा किसान छन्।