बिहीबार, पुस १०, २०८२

तनहुँको बन्दीपुरमा चितुवा आतंक, सावधानी अपनाउन आग्रह

 |  सोमबार, वैशाख १, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १, २०८२

तनहुँ- तनहुँको बन्दीपुर गाउँपालिका– २ कामीडाँडामा गत शुक्रबार राति चितुवाको आक्रमणबाट बालिकाको मृत्यु भएपछि चितुवा नियन्त्रणका लागि बाख्रा खोर राखिएको छ।

National life

डिभिजन वन कार्यालय तनहुँले यस क्षेत्रको जङ्गलमा आइतबार बाख्रासहितको खोर राखेको हो। चितुवाको आक्रमणपश्चात् स्थानीयवासी त्रसित भएकाले चितुवा नियन्त्रणमा लिन अपरिहार्य भएको वडाध्यक्ष तिलकबहादुर कुँवरले बताए।

उनले भने, ‘चितुवाको आक्रमणपश्चात् स्थानीयवासी त्रसित छन्। कामीडाँडा वरपरका गाउँबस्तीमा चितुवा पटकपटक देखिएको छ। साँझ र रातको समयमा सावधानी अपनाउन अपिल गरेका छौँ।’

चितुवाको आक्रमणबाट दश वर्षीया अनुजा विकको मृत्यु भएको थियो। फुपूको घरमा जाँदै गरेको बेलामा चितुवाको आक्रमणमा परेकी विकको शव जङ्गलमा भेटिएको थियो।

डिभिजन वन कार्यालय तनहुँले घटनास्थल वरपर सबै सतर्क भई सुरक्षित रहन आग्रह गरेको छ। कार्यालयले चितुवासँग जोगिन साँझ तथा रातको समयमा घरगोठ उज्यालो बनाउन, एक्लै नहिँड्न आग्रह गरेको छ।

Laxmi sunrise bank
kumari

त्यस्तै चितुवासँग जोगिन साँझ तथा रातको समयमा घरगोठ उज्यालो बनाउने, झाडी सफा गर्न तथा बच्चा तथा वृद्धहरूको विशेष ख्याल र रेखदेख गर्न कार्यालयको अनुरोध छ।

तनहुँमा पछिल्लो केही वर्षयता चितुवाको आक्रमणबाट बालबालिकाको मृत्यु भएको छ। भानु, बन्दीपुर, आँबुखैरेनीमा चितुवाको आतङ्क छ। चितुवाको आक्रमणबाट पछिल्लो छ वर्षको अवधिमा १४ बालबालिकाले ज्यान गुमाएका छन्। चितुवाको आक्रमणबाट भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिकामा बालबालिकाको मृत्यु भएको छ।

मृग, वन कुखुरालगायत वन्यजन्तु मानिसले शिकार गरिदिँदा वनमा शिकारको अभाव भई चितुवाले मानिसको शिकार गर्न थालेको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ।

जङ्गल फँडानी गरेर बस्ती बसाल्ने, जङ्गली जनावर मारेर खाइदिने कारणले गर्दा र मानव र वन्यजन्तुबीच द्वन्द्व बढ्दो अवस्थामा रहेको सहायक वन अधिकृत काशीराज पण्डितले बताए। 

प्रकाशित: Apr 14, 2025| 15:01 सोमबार, वैशाख १, २०८२
प्रतिक्रिया दिनुहोस्