बिहीबार, असार ४, २०८३

जुम्ला-रारा अल्ट्रा म्याराथन वैशाख अन्तिम साता

 |  शनिबार, चैत ३०, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, चैत ३०, २०८१

जुम्ला- जुम्ला सदरमुकाम खलङ्गा बजारमा आगामी वैशाख २७ गतेदेखि प्रतियोगिता सुरु हुने भएको छ। कर्णाली खेलकुद क्लब जुम्लाको आयोजनामा छैटौँ संस्करणको जुम्ला–रारा अल्ट्रा म्याराथन प्रतियोगिता हुने भएको हो।

National life

खेलकुद पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको क्लबले विगत १७ वर्षदेखि जुम्लामा खेलकुद विकास, सामाजिक उत्थान र बालबालिकाको हितमा काम गर्दै आएको छ।

क्लबका संरक्षक तथा ओलम्पियन हरिबहादुर रोकायको नेतृत्वमा प्रतियोगिता हरेक वर्ष हुँदै आएको क्लबका अध्यक्ष सरोज शाहीले जानकारी दिए। अन्तर्राष्ट्रिय मापदण्डअनुसार दूरी ५१ किलोमिटर तोकिएको छ।

अध्यक्ष शाहीले भने, “दौडको रुट पनि परिवर्तन गरिएको छ। यसबाट जुम्लादेखि रारासम्मको पदयात्रा प्रवर्द्धनसमेत योगदान पुग्ने विश्वास छ।”

प्रतियोगिताका लागि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र डिभिजन वन कार्यालयले सहयोग गरेको छ। माथिल्लो मिलीचौरदेखि राराताल किनार, ठाकुर बाबाको मन्दिरहुँदै हुटुमा समापन हुने गरी तय गरिएको क्लबका अध्यक्ष शाहीले जानकारी दिए।

Shivam cement

दौडमा सहभागी खेलाडीले तिरेको दर्ता शुल्कको १० प्रतिशत उच्च पर्वतीय प्रशिक्षण भवन निर्माणका लागि छुट्याइएको छ। भवन क्लबका संरक्षक रोकायले प्रदान गरेको जग्गामा निर्माण गरिनेछ।

प्रतियोगितामा ५१ किलोमिटर अल्ट्रा दौड, पाँच किलोमिटर खुल्ला दौड (उद्योगी, व्यापारी, कर्मचारी) र १९ वर्ष मुनीका विद्यार्थीका लागि १० किलोमिटर दौडको व्यवस्था गरिएको छ। दौडमा स्थानीय, राष्ट्रिय र अन्तरराष्ट्रिय धावकको सहभागिता रहने छ। विगतमा बेलायत, नेदरल्याण्ड, भारत, इटाली र अमेरिकासमेतबाट समेत धावकले भाग लिएका थिए। दौड चन्दननाथ भैरवनाथको आँगन, खलङ्गा बजारको जुम्लाबाट शुरु भई मुगुको रारा तालको हुटुमा समापन हुनेछ।

एकाउन्न किलोमिटर प्रतियोगितामा प्रथम हुने (महिला/पुरुष) रु एक/एक लाख प्रदान गरिने छ। यस्तै (महिला र पुरुष) दोस्रो स्थान हासिल गर्नेलाई जनही रु ७५ हजार, तृतियलाई रु ५० हजार, चौथोलाई रु २० हजार पुरस्कार प्रदान गरिने क्लबले जनाएको छ।

पाँच किलोमिटर दौड प्रतियोगितामा प्रथम हुनेलाई (महिला र पुरुष) रु पाँच हजार, दोस्रोलाई रु तीन हजार र तृतिय हुनेलाई रु तीन हजार प्रदान गरिने छ। विद्यालयस्तरीय १० किलोमिटर दौड प्रतियोगितामा प्रथम हुनेलाई (महिला/पुरुष) रु १० हजार, दोस्रो हुनेलाई रु ६ हजार र तृतीय हुनेलाई रु चार हजार पुरस्कार प्रदान गरिने छ।

प्रकाशित: Apr 12, 2025| 09:01 शनिबार, चैत ३०, २०८१
प्रतिक्रिया दिनुहोस्