बिहीबार, असार ४, २०८३

निस्दीमा घट्दैछ बालविवाह

 |  बिहीबार, चैत २८, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २८, २०८१

पाल्पा- बालविवाह न्यूनीकरणका लागि पाल्पाको निस्दी गाउँपालिकाले सचेतनामूलक कार्यक्रममा जोड दिएको छ। पालिकास्तरमा बालविवाह न्यूनीकरण गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्न थालेपछि यहाँ पछिल्ला वर्षमा बालविवाह हुने क्रम घट्दो अवस्थामा छ।

National life

निस्दीमा विसं २०७९ मा २७६ जोडीले बालविवाह गरेकामा २०८१ सालको हालसम्म भने यस्ता आठ जोडी मात्र रहेका बालकल्याण अधिकारी कृश्माखर पाण्डेले जानकारी दिए। उनका अनुसार उमेर नपुग्दै विवाह गर्ने जोडीलाई बालमैत्री शाखाको समन्वयमा अभिभावक, जनप्रतिनिधि, प्रहरीको रोहवरमा २० वर्ष पुगेपछि मात्र विवाह गर्ने सहमतिमा छुटाइने गरिएको छ। यहाँ विसं २०८० मा ५२ जोडीले बालविवाह गरेका थिए।

बालकल्याण अधिकारी पाण्डेले भने, “बालविवाह न्यूनीकरण अभियान सञ्चालनपश्चात् यस वर्षमा आइपुग्दा उमेर नपुग्दै विवाह गरेर घरजम गर्नेको सङ्ख्या न्यून हुँदै गएको छ। विद्यार्थीलाई सचेत र थप सक्रिय बनाउन विद्यार्थीमाझ जनचेतनामूलक कार्यक्रम र पालिकामा बालविवाह न्यूनीकरण गर्न २०७९ देखि विभिन्न कार्यक्रम तथा अभियान सञ्चालन भइरहेका छन्।”

गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारुले आगामी २०८३ सालभित्र बालमैत्री गाउँपालिका घोषणा गर्न पालिकास्तरबाट विभिन्न कार्यक्रमका साथ युवामैत्री पालिका निर्माणमा पनि जोड दिइएको बताए। विद्यालयमा बालविवाह न्यूनीकरण गर्न बालविकासदेखि कक्षा १० सम्मका विद्यार्थीबीच बौद्धिक तथा शारीरिक प्रतियोगिता आयोजना गर्ने गरिएको छ।

गाउँपालिकाको अभियानअन्तर्गत वडालाई विसं २०८२ भित्र बालमैत्री वडा घोषणा गर्ने लक्ष्यसहित काम भइरहेको निस्दी–२ का वडाध्यक्ष एवं बालमैत्री शासन समिति संयोजक फत्तेसिं दर्लामीले बताए। बालविवाहविरुद्ध सचेतना जगाउन, बालअधिकारको प्रत्याभूति दिलाउन, बालबालिकाको शारीरिक र मानसिक विकासका लागि बालमेला आयोजना गरिएको उनले बताए।

Shivam cement

सोमबार र मङ्गलबार पनि यहाँ बालमेला आयोजना गरिएको र वडा नं २ बाट सुरु भएको बालमेला यस वर्ष पालिकाको सातवटै वडामा सञ्चालन गर्ने योजना रहेको गाउँपालिकाको बालकल्याण शाखाले जनाएको छ। वडा कार्यालयको आयोजना र गाउँपालिकाको आर्थिक सहयोगमा बैशाख महिनाभित्र सबै वडामा बालमेला कार्यक्रम गरिने बालकल्याण अधिकारी पाण्डले जानकारी दिए।

प्रकाशित: Apr 10, 2025| 08:42 बिहीबार, चैत २८, २०८१
प्रतिक्रिया दिनुहोस्