बिहीबार, असार ४, २०८३

पुनहिलमा बल्ल पुग्यो बिजुली

 |  मंगलबार, चैत २६, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २६, २०८१

म्याग्दी- अन्नपूर्ण गाउँपालिका-६ स्थित पर्यटकीयस्थल पुनहिलमा विद्युत् सुविधा विस्तार भएको छ।

National life

समुद्री सतहबाट तीन हजार २१० मिटर उचाइमा रहेको पुनहिलमा हिमाल, सूर्योदय, जंगल, पहाडी भूगोलको दृष्यावलोकन गरी प्रकृतिमा रमाउन आउने पर्यटकको सुविधाका लागि नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रले विद्युत् सुविधा विस्तार गरेको हो।

पर्यटकको सहजताका लागि पदमार्ग उज्यालो बनाउन, विद्युतीय उपकरण चार्ज गर्न र केही तल रहेको मूलबाट पानी तान्ने उद्देश्यले घोडेपानीबाट १५ वटा पोल र एक किलोमिटर एबिसी तार तानेर पुनहिलमा विद्युत् सुविधा विस्तार गरिएको केन्द्रका प्रमुख सत्यनारायण गामीले जानकारी दिए।

घोडेपानीवासीको मागअनुसार २०८० साल पुसमा २५ लाख रूपैयाँ खर्चेर विद्युतीयको लाइन पुर्‍याए पनि गाउँपालिकाले हालै मिटरबक्स जडान गरेपछि विद्युत् वितरण थालिएको उनले बताए। घोडेपानी क्षेत्रको विद्युत् आपूर्तिलाई सहज र गुणस्तरीय बनाउन नांगो तार हटाएर एबिसी केबुल र ५० केभीए क्षमताको नयाँ ट्रान्सफर्मर जडान गरिएको छ।

विद्युत् सुविधा भएपछि पदमार्गमा सडक बत्ती जडान गर्न र पुनहिलमा लिफ्ट प्रविधिबाट पानी तानेर लैजाने तयारी गरेको घोडेपानी टोल सुधार समितिका उपाध्यक्ष जुली ठकुरी पुनले बताए। पुनहिलमा घोडेपानीबाट ग्यालिन, बोत्तल र ड्रममा बोकेर पानी लैजाने गरिएको छ। एक घण्टा लगाएर उकालोमा पानी बोकेर लैजानुपर्ने भएकाले पुनहिलमा तातोपानी, चिया, कफीको मूल्य बढी तिर्नुपर्दा पर्यटकले मर्कामा परेको गुनासो गरेका छन्।

Shivam cement

चुरेन, पुथा, गुर्जा, धवलागिरि, मानापाथी, निलगिरि, अन्नपूर्ण, बराह शिखर, माछापुच्छ्रे, लमजुङ र मनास्लु हिमालका साथै सूर्योदयको अवलोकन गर्न सकिने पुनहिलमा यहाँ वार्षिक ३० हजार जनाको अनुपातमा विदेशी र त्योभन्दा बढी आन्तरिक पर्यटक पुग्ने गर्छन्।

पुनहिल भ्रमणका लागि अन्नपूर्ण गाउँपालिकालाई नेपालीले प्रतिव्यक्ति ५० र विदेशीले १५० रूपैयाँका दरले प्रवेश शुल्क तिर्नुपर्छ। चालु आर्थिक वर्षमा पुनहिल प्रवेश शुल्क र चिया पसल सञ्चालनका लागि गाउँपालकाले ४० लाख १०० रूपैयाँमा ठेक्का लगाएको छ। रासस

प्रकाशित: Apr 08, 2025| 17:01 मंगलबार, चैत २६, २०८१
प्रतिक्रिया दिनुहोस्