बिहीबार, पुस १०, २०८२

सावित्री खत्रीको लोभलाग्दो च्याउखेती

 |  मंगलबार, चैत २६, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २६, २०८१

पर्वत- जलजला गाउँपालिका-८ फर्सेकी सावित्री खत्री व्यावसायिक च्याउखेतीबाट मनग्य आम्दानी गर्न सफल भएकी छिन्। कृषि पेसाबाट गाउँमै केही गर्न सकिन्छ भनेर विगत ११ वर्षदेखि व्यावसायिक कृषिखेतीमा सक्रिय खत्रीले च्याउ र तरकारीखेतीबाट बर्सेनि १२ लाख रूपैयाँभन्दा बढी आम्दानी गर्न थालेकी छिन्।

National life

चारवटा गुम्बज टनेलमा कन्ये र गोब्रे च्याउखेती उत्पादन गरी छिमेकी जिल्ला बागलुङ, म्याग्दी र पर्वतको कुश्मा बजारमा खपत गर्ने गरेको अगुवा कृषक खत्रीको भनाइ छ। यस वर्ष च्याउबाट मात्रै सात लाख रूपैयाँभन्दा बढी आम्दानी भएको उनले बताइन्।

'च्याउखेतीबाट हुने आम्दानीबाट सन्तुष्ट छु, उत्पादित च्याउको बिक्रीका लागि कुनै समस्या छैन,' कृषक खत्रीले भनिन्। गोब्रे च्याउको प्रतिकिलो ५ सय र कन्येलाई २ सय रूपैयाँमा बिक्री गर्ने गरेका उनले गोब्रे च्याउबाट यसवर्ष पाँच लाख र कन्ये च्याउबाट दुई लाख रूपैयाँ आम्दानी भएको बताइन्।

कच्चापदार्थसहितका साम्रगीसमेत तयार गर्ने गरेकी कृषक खत्रीले सात रोपनी जमिनमा उत्पादन हुने अन्य तरकारीबाट पाँच लाख रूपैयाँको बिक्री गर्छिन्। च्याउबाहेक मौसमअनुसार काँक्रो, घिरौँला, बोडी, सिमी, करेला, भन्टा, खुर्सानी, धनियाँ, गाजरलगायतका तरकारी उत्पादन गर्दै आएको बताइन्।

तीनवटै जिल्लाका सदरमुकाम नजिकै रहेको र कालीगण्डकी करिडोरअन्तर्गत मालढुंगा-बेनी सडक नजिकै रहेकाले उत्पादित च्याउ र तरकारी बजारीकरणमा समस्या नरहेको उनले बताइन्। खत्रीले यस वर्ष उच्च प्रविधिको टनेल थपेर बाह्रै महिना च्याउखेती गर्न थालेकी छिन्। उनले वातानुकूलित टनेलमा जाडो तथा गर्मी दुवै याममा च्याउ उत्पादन हुने बताइन्। अब च्याउखेतीबाट निरन्तर आम्दानी हुने उनको भनाइ छ।

Laxmi sunrise bank
kumari

सामाजिक एवं राजनीतिक रुपमा सक्रिय रहेकी खत्रीले राम्रो उत्पादन दिने र श्रमिक पनि कम लाग्ने हुँदा च्याउखेतीलाई विस्तार गर्दै गएकी छिन्। वैदेशिक रोजगारीबाट फर्किएका श्रीमान् भीमबहादुर केसीले च्याउ र अन्य तरकारीखेतीको उत्पादन तथा बजारीकरणमा सघाइरहेका छन्। अहिले दम्पतीका अलावा समय-समयमा ज्यालादारी मजदुर खोजेर तरकारीखेती गर्ने गरेको उनको भनाइ छ।

खेती गर्नलाई धेरै ठूलो ठाउँ, समय पनि नचाहिने र बेच्नलाई सजिलो भएकाले यसप्रति श्रीमानले विदेश नगई सघाउन थालेको खत्रीले बताइन्। मेहनत गर्ने हो श्रीमान्ले विदेशमा कमाउने पैसा दुवै मिलेर यहीँ दुःख गरी कमाउन सकिने खत्रीको अनुभव छ। खत्रीले च्याउखेतीबाट भएको कमाईले छोरीलाई उच्च शिक्षाका लागि विदेश पठाउन सफल भएकी छिन् भने छोरालाई समेत निजी विद्यालयमा पढाएकी छिन।

यसका अलावा बैंकमा बचत गर्न सफल भएको उनले बताइन्। मेहनत र परिश्रम गर्ने हो भने पैसा कमाउन विदेश जान पर्दो रहेनछ भन्ने आफ्नो अनुभवले देखाएको उनले बताइन्।

पछिल्लो समय गाउँपालिकामा व्यावसायिक रुपमा लाग्ने कृषकको आकर्षण बढेको रहेको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताए। 'गाउँपालिकाले पनि प्रोत्साहन गरिरहेको छ, अबका दिनमा च्याउखेतीमा अनुदान समेत बढाउँछौँ,' आचार्यले भने। रासस

प्रकाशित: Apr 08, 2025| 18:01 मंगलबार, चैत २६, २०८१
प्रतिक्रिया दिनुहोस्