बुधबार, पुस ९, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • कोसी सरकारले ‘कोसी पर्यटन वर्ष’ मनाउने तयारी गरेसँगै निजी क्षेत्र उत्साहित

कोसी सरकारले ‘कोसी पर्यटन वर्ष’ मनाउने तयारी गरेसँगै निजी क्षेत्र उत्साहित

 |  बुधबार, चैत २०, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, चैत २०, २०८१

झापा- कोसी प्रदेश सरकारले आगामी वर्षलाई ‘पर्यटन वर्ष’ का रूपमा मनाउने तयारी गरेसँगै निजी क्षेत्रका व्यवसायी उत्साहित बनेका छन्। प्रदेश सरकारले यही चैत २७ गते तेह्रथुमको गुराँस क्षेत्र तीनजुरे मिल्केमा एक समारोहका बीच ‘कोसी पर्यटन वर्ष-२०८२’ प्रारम्भ गर्दैछ।

National life

'कोसी पर्यटन वर्ष’ निर्देशक समितिका सहसंयोजक भवष श्रेष्ठले पर्यटकीय आधारमा कोसी मुलुकका साथै विश्वको उत्कृष्ट गन्तव्यका रूपमा रहेको बताए। उनले यहाँका सम्भावनायुक्त गन्तव्यहरूको महत्त्व र सौन्दर्यकाबारेमा पर्याप्त प्रचारप्रसार हुन नसकेको धारणा व्यक्त गरे।

'पर्यटनमार्फत मुलुकको समृद्धि खोज्न आगामी वर्ष महत्वपूर्ण आधारशीला बन्नेमा निजी क्षेत्र आशावादी छन्', पर्यटन व्यवसायीसमेत रहेका श्रेष्ठले भने, 'यसबाट कोसी प्रदेशमा रहेका पर्यटकीय क्षेत्रहरूको पहिचान, प्रचारप्रसार, संरक्षण र प्रवर्द्धनमा सघाउ पुग्ने विश्वास लिएका छौँ।'

उनले मुलुकको होचोस्थान कचनकवलदेखि विश्वको अग्लो चुचुरो सगरमाथा भएको प्रदेशका रूपमा कोसी रहेको बताउँदै पर्यटन वर्षमा पर्यटकीयस्थलको पहिचान, संरक्षण, प्रवर्द्धन र नीति निर्माणका लागि विभिन्न कार्यक्रम र योजना सञ्चालन हुने जानकारी दिए।

मेची बस व्यवसायी प्रालिका अध्यक्ष राजेन्द्र रिजालले पर्यटक आगमनको पहिलो पूर्वाधार सडक भएको उल्लेख गर्दै एसियाली राजमार्गको सञ्जालले जोडिएको कोसी प्रदेशमा पर्यटक भित्र्याउन तुलनात्मक रूपमा सहज हुने धारणा राखे। उनले पूर्व-पश्चिम राजमार्गलाई एसियाली राजमार्गका रूपमा स्तरोन्नति गर्ने काम तीव्रगतिमा भइरहेको हुँदा आगामी दिनमा स्थलमार्गबाट नेपालमा धेरैभन्दा धैरै पर्यटक भित्र्याउन सकिने सम्भावना व्यक्त गरे।

Laxmi sunrise bank
kumari

आशिष ट्राभल्स काँकडभिट्टाका सञ्चालक एवं पर्यटन व्यवसायी नेत्र कार्कीले पर्यटन वर्षको घोषणाले वर्षौँदेखि यो व्यवसायमा लागेका निजी क्षेत्रमा उत्साहको लहर आएको बताउँदै प्रदेश सरकारले प्रवर्द्धनात्मक कार्यक्रमलाई केही स्थान वा क्षेत्रमा मात्र सीमित बनाउन नहुने सुझाव व्यक्त गरे।

'विराटनगर, धरान र बेतनामा मात्र कार्यक्रम गरेर पर्यटन वर्ष सफल हुँदैन। ट्राभल एजेन्सी सञ्चालनका रूपमा ३० वर्षदेखि अनुभवका आधारमा प्रदेशका पर्यटकीय सबै क्षेत्रमा क्रमशः प्रवर्द्धनात्मक कार्यक्रम गर्दै जानुपर्छ', उनले भने, 'कोसी प्रदेशमा सबैभन्दा बढी पर्यटक पूर्वीनाका काँकडभिट्टाबाट प्रवेश गर्छन्। पर्यटन वर्ष मनाइरहँदा पूर्वीनाकालाई विशेष महत्त्व दिन जरुरी छ।'

पर्यटन वर्ष मनाउने सरकारको योजनाले संरक्षण अभियन्तासमेत उत्साहित बनेका छन्। चरा तथा वन्यजन्तु संरक्षण समाजका अध्यक्ष देवेन्द्र खरेलले नेपाल चरा पर्यटनका दृष्टिले स्वर्ग भएको बताए। नेपालमा पाइने आठसय ९८ प्रजातिका चरामध्ये पाँचसय ३० प्रकारका चरा कोसी टप्पु क्षेत्रमा पाइने जनाउँदै उनले मेचीनगर क्षेत्रमा मात्रै ३३७ प्रकारका चरा पाइने बताए।

'कोसी पर्यटन वर्षले चरा पर्यटनको सम्भावनालाई प्रचारप्रसार गर्नुका साथै पर्यटकलाई आकर्षित गर्ने विश्वास लिएका छौँ', उनले भने, 'यहाँका हिमाल, पहाड, मठमन्दिर र भौगोलिक सौन्दर्यलाई नजिकबाट हेर्न पर्यटक आउने गरेका छन्। यहाँको जैविक विविधता, चरा तथा वन्यजन्तु र कला संस्कृति हेर्न चाहने पर्यटकहरू पनि विश्वमा लाखौँको सङ्ख्यामा रहेकाले सोहीअनुसरा प्रचारप्रसार र प्रवर्द्धन गर्नु आवश्यक छ।'

चरा तथा वन्यजन्तु संरक्षण समाजका अध्यक्ष खरेलले इलामको सन्दकपुरमा पाइने दुर्लभ रेडपाण्डा हेर्न भारतीय बाटो भएर बर्सेनि हजारौँ पर्यटन आउने गरेका जनाउँदै त्यसबाट नेपालले खासै लाभ भने लिन नसकेको गुनासो गरे।

'भारतबाट खुला सीमाको प्रयोग गरी पर्यटक आउँछन् र रेडपाण्डा हेर्ने, फोटो खिच्ने गर्दछन्। अनि सामाजिक सञ्जालमा भारतको भनी प्रचार गर्छन्', उनले भने। यस्ता गतिविधि रोक्न पनि संघ र प्रदेश सरकारले प्रवर्द्धनात्मक कार्यक्रम विस्तार गर्दै जानुपर्नेमा उनले जोड दिए।

पर्यटन कार्यालय काँकडभिट्टाका प्रमुख छविलाल खतिवडाले पर्यटन वर्षलाई यस क्षेत्रसम्बन्धी भौतिक संरचना र आवश्यक नीति निर्माण वर्षका रूपमा मनाउनु पर्नेमा जोड दिए। उनले भने, 'यो भ्रमण वर्ष होइन, पर्यटन वर्ष हो। यसमा सबैले सहकार्य र समन्वय गरी पर्यटनका माध्यमबाट आर्थिक गतिविधि चलायमान बनाउने गरी काम गर्नुपर्छ। यहाँका पर्यटकीय गन्तव्यका बारेमा प्रचारप्रसार गरी बढीभन्दा बढी पर्यटकलाई आकर्षित गर्न सबैले समन्वय गर्नु पर्दछ।' रासस

प्रकाशित: Apr 02, 2025| 19:31 बुधबार, चैत २०, २०८१
प्रतिक्रिया दिनुहोस्