बुधबार, पुस ९, २०८२

चितवन राष्ट्रिय निकुञ्जमा नियन्त्रित डढेलो

 |  बुधबार, चैत २०, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, चैत २०, २०८१

चितवन- चितवन राष्ट्रिय निकुञ्जले पाँच सय हेक्टरभन्दा बढी क्षेत्रफलमा नियन्त्रित डढेलो लगाएको छ। गत फागुन दोस्रो सातादेखि निकुञ्जले घाँसेमैदान व्यवस्थापनका लागि नियन्त्रित डढेलो लगाएको हो।

National life

निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार घाँसेमैदान व्यवस्थापनका लागि नियन्त्रित डढेलो लगाइएको बताउँदै निकुञ्जका कर्मचारी, नेपाली सेना, स्थानीयसहितको टोलीले डढेलो लगाएर नियन्त्रणमा लिएका जानकारी दिए। उनका अनुसार निकुञ्जको पूर्वी क्षेत्रमा दुई सय हेक्टरभन्दा बढी र पश्चिम क्षेत्रमा तीन सय हेक्टरभन्दा वढी क्षेत्रफलमा डढेलो लगाइएको थियो।

“घाँसेमैदानमा भएका ज्वलनशील पदार्थमा डढेलो लगाएर नियन्त्रणमा लिएका हौँ”, सूचना अधिकारी मगरले भने। निकुञ्जमा नेपाली सेना र निकुञ्ज कर्मचारीले डढेलो लगाएका बताउँदै मध्यवर्ती सामुदायिक वनमा उपभोक्ता समितिहरूले निकुञ्जको समन्वयमा नियन्त्रित रूपमा घाँसेमैदान व्यवस्थापनका लागि डढेलो लगाएका उनले जानकारी दिए।

अहिले नियन्त्रित डढेलो लगाइसकिएको बताउँदै उनले अग्नि रेखा व्यवस्थापनको कामलाई तीव्र बनाइएको मगरले जानकारी दिए। उनले भने, “निकुञ्जभित्र रहेका अग्नि रेखाहरूको व्यवस्थापनको काम भइरहेको छ। सरसफाइ गर्ने, नयाँ अग्नि रेखा बनाउनेलगायत काम भइरहेका छन्।”

पछिल्ला दिनमा अनियन्त्रित डढेलो लगाउन सुरु भएकाले यसलाई रोक्न नेपाली सेना र निकुञ्ज कर्मचारीसहित २० जनाको संयुक्त ‘रेस्पोन्स’ समूह बनाएर काम भइरहेको उनले बताए। निकुञ्ज क्षेत्रमा भन्दा अहिले मध्यवर्ती क्षेत्रमा अनियन्त्रित डढेलो बढी लगाइएको पाइएपछि टिमले ती डढेलो नियन्त्रण गर्दै आइरहेको निकुञ्जका सूचना अधिकारी मगरले बताए।

Laxmi sunrise bank
kumari

उनका अनुसार निकुञ्जमा १० हजार हेक्टर क्षेत्रफल घाँसेमैदान रहेकामा अहिले तीन सय हेक्टर क्षेत्रफलको घाँसेमैदान व्यवस्थापन गरिएको छ। “नियन्त्रित डढेलोबाट वन्यजन्तुले नखाने ढड्डी, फोहर, पातलगायत घाँस डढ्ने गर्दछ। घाँसेमैदानमा नियन्त्रित डढेलो लगाउँदा नयाँ र कलिलो घाँस पलाउने भएकाले जनावरलाई चरनका लागि सहज हुन्छ”, मगरले भने।

उनका अनुसार नियन्त्रित डढेलोले जनावरमा क्षति गर्दैन। डढेलोपछि उम्रने कलिलो घाँसका कारण वन्यजन्तु बस्ती पस्न पनि कम हुने उहाँले विश्वास व्यक्त गरे। वसन्तयममा घाँस तथा बुट्टयानमा नयाँ पालुवा पलाउने मौसम भएकाले नियन्त्रित डढेलो लगाउने गरिन्छ।

यस निकुञ्जमा गैँडा, बाघ, हात्ती, चित्तललगायत दुलर्भ वन्यजन्तुहरू छन्। यहाँ विश्वभरबाट पर्यटक जङ्गल सफारीका लागि आउने गर्दछन्। नियन्त्रित डढेलो लगाएर निकुञ्ज सफा भएपछि निकुञ्जभित्रको बाटोबाट टाढाटाढासम्म वन्यजन्तु देख्न सकिन्छ। डढेलोपछिको मौसममा पर्यटकहरूले सहजै वन्यजन्तु देख्ने भएकाले सफारीका लागि रुचाउने निकुञ्ज कार्यालयले जनाएको छ।

प्रकाशित: Apr 02, 2025| 18:01 बुधबार, चैत २०, २०८१
प्रतिक्रिया दिनुहोस्