बुधबार, पुस ९, २०८२

म्यान्मार भूकम्पका मृतकको संख्या दुई हजार नाघ्यो

 |  सोमबार, चैत १८, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, चैत १८, २०८१

म्यान्मार सरकारले विनाशकारी भूकम्पका कारण एक हप्तासम्म राष्ट्रिय शोक घोषणा गरेको छ। 

National life

शुक्रबार आएको ७.७ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या दुई हजार ५६ पुगेको छ भने तीन हजार ९०० भन्दा बढी घाइते भएका छन्। अझै २७० जना हराइरहेका छन्, जसका कारण मृतक सङ्ख्या अझै बढ्ने अनुमान गरिएको छ। सरकारले अप्रिल ६ सम्म राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको छ।

म्यान्माको दोस्रो ठूलो सहर मण्डले भूकम्पबाट सबैभन्दा प्रभावित क्षेत्रमध्ये एक हो। यहाँ तीन दिनदेखि हजारौं मानिसहरू सडकमा रात बिताउन बाध्य छन्। कतिपय आफ्नो घर भत्किएकाले फर्कन सकेका छैनन् भने कतिपय पुनः कम्पनको डरले बाहिरै बसिरहेका छन्। केहि मानिसहरूसँग टेन्ट भए पनि धेरैजना सडकमा मात्र ओछ्यान बिछ्याएर रात काटिरहेका छन्।

मण्डलेको मुख्य अस्पताल क्षतिग्रस्त भएपछि बिरामीहरूलाई बाहिरै उपचार गरिँदै छ। अस्पतालको पार्किङस्थलमा बिरामीहरूलाई टेन्टभित्र राखिएको छ। गर्मीका कारण उपचारमा थप समस्या भएको छ। स्वास्थ्यकर्मीहरूले न्यून स्रोतसाधनमा सक्दो सहयोग गरिरहेको बताएका छन्।

भूकम्पको असर म्यान्मा सीमित नभई छिमेकी देशहरूमा पनि परेको छ। थाइल्यान्डको राजधानी बैङ्ककमा भूकम्पको झट्काले एक ३०–तले भवन भत्किँदा १९ जनाको मृत्यु भएको छ। चीनका तीन नागरिक र दुई जना फ्रान्सेली नागरिक पनि मृतकहरूको सूचीमा परेका छन्।

Laxmi sunrise bank
kumari

चार वर्षदेखिको गृहयुद्धका कारण आर्थिक र स्वास्थ्य प्रणाली नै धरासायी भएको म्यान्माले अन्तर्राष्ट्रिय सहायता मागेको छ। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले आपत्कालीन सहायता घोषणा गर्दै आगामी ३० दिनभित्र आठ लाख अमेरिकी डलर सहयोग आवश्यक पर्ने बताएको छ। रेडक्रसले पनि १०० मिलियन डलरभन्दा बढी सहयोगको अपिल गरेको छ।

चीन, रूस, भारत लगायतका देशहरूले सहायता उपलब्ध गराइरहेका छन्। तर, सङ्कटको बीचमा पनि म्यान्माको सैन्य सरकारले विरोधी समूहहरू विरुद्ध हवाई आक्रमण जारी राखेको छ। एउटा जातीय सशस्त्र समूहका अनुसार भूकम्पपछि भएको हवाई आक्रमणमा सात लडाकु मारिएका छन्।

थाइल्यान्डमा भने उद्दारकर्मीहरू अझै पनि भग्नावशेषमा फसेका मानिसहरूलाई खोजिरहेका छन्। बैङ्ककमा ७५ जना अझै बेपत्ता छन्। उद्दार टोलीहरूले जीवित भेटिने आशा नरहेको बताएका छन्।

प्रकाशित: Mar 31, 2025| 19:33 सोमबार, चैत १८, २०८१
प्रतिक्रिया दिनुहोस्