काठमाडौं- सरकारी लेटरप्याडमै पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘श्री ५ महाराजधिराज’ सम्बोधन गरेका संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयअन्तर्गतको पोर्चुगलका पर्यटन दूत रमेशराज बास्तोलालाई सरकारले हटाएको छ।
उनलाई पर्यटन मन्त्रालयले २४ घण्टे स्पष्टीकरण सोधेको थियो। बास्तोलाले बुझाएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै उनलाई दूतबाट हटाइएको हो। उनलाई मन्त्रालयले २०८० माघ १३ गते दुई वर्षको लागि पोर्चुगलको लिजवन शहरको पर्यटन प्रवर्द्धकमा नियुक्त गरेको थियो।
निजले पेस गरेको स्पष्टीकरण सन्तोषजनक नदेखिएकोले ऐनको कार्यविधिको दफा ५ बमोजिम मन्त्रीस्तरीय निर्णयबाट पर्यटन प्रवर्द्धकको जिम्मेवारीबाट हटाइएको छ,’ मन्त्रालयले निकालेको सूचनामा उल्लेख छ।
पर्यटन दूत बास्तोलाले आफ्नो फेसबुक पेजमा ‘श्री ५ महाराजाधिराज सरकारको शुभकामना सन्देशको स्वागत तथा ऐक्यबद्धता’ विषयक पत्र सार्वजनिक गरेका थिए।