बुधबार, साउन २१, २०८२

'स्नातकोत्तर नेपालीबाट पारिजात र वीपीलाई हटाइएको छैन'

 |  मंगलबार, फागुन २७, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २७, २०८१

vianetvianet

काठमाडौं- त्रिभुवन विश्वविद्यालयअन्तर्गत स्नातकोत्तर तहको नेपाली विषयमा साहित्यकार पारिजात र विश्वेश्वरप्रसाद कोइरालासँग सम्बन्धित पाठ नहटाइएको सम्बद्ध क्षेत्रका विज्ञहरूले स्पष्ट पारेका छन्। केही व्यक्तिले पाठ्यक्रम अध्ययन नै नगरी प्रायोजित प्रकारको विरोध गर्दै पुलमुनि बसेर फोहोरी पानी खेलाइरहेको टिप्पणी उनीहरूको छ।

पहिलोपटक देशभरका प्राध्यापकको रायसल्लाह लिएर पाठ्यक्रम बनाउँदा पनि केही व्यक्तिहरूले उल्टै स्रष्टामाथि अवमूल्यन गरिएको भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्। पाठ्यक्रम समयानुकूल र सबै पक्ष समेटेर बनाइएको दाबी उनीहरूको छ।

त्रिविले यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहमा नेपाली विषयको नयाँ पाठ्यक्रम लागू गरेको छ। स्नातकोत्तर तह पठन अवधि चार सेमेस्टरको हुन्छ। पाठ्यक्रम चारै सेमेस्टरको तयार भई लागू भएको त्रिवि मानविकी तथा सामाजिकशास्त्र संकाय डिनको कार्यालयका अधिकारीहरूले बताएका छन्।

सोही पाठ्यक्रमका केही पक्षलाई लिएर केही व्यक्तिहरूले भ्रामक प्रचारबाजी गरेपछि विज्ञहरूले चासो व्यक्त गरेका हुन्। पाठ्यक्रम निर्माणमा सहभागी विज्ञ प्रा.डा. ध्रुव भट्टराईका अनुसार स्नातकोत्तर तहमा यसअघि पारिजात, विश्वेश्वरप्रसाद, विजय मल्ल, लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, भवानी भिक्षुजस्ता स्रष्टाहरूको व्यक्तिपरक अध्ययन ऐच्छिक रूपमा पठनपाठन हुँदै आएको थियो। यसपटक भने सरोकारवालाहरूकै रायसुझावका आधारमा व्यक्तिपरक विशेष अध्ययन हटाइएको भट्टराईले बताए।

एउटा लेखकलाई फरकफरक विधामा पढ्नुपर्ने र विशेष अध्ययनमा पनि तिनै व्यक्तिका बारेमा अध्ययन गर्नुपर्ने भएकाले व्यक्तिपरक अध्ययन हटाइएको उनले स्पष्ट पारे।

भट्टराईले भने, ‘धारागत रूपमा सबैको प्रतिनिधित्व गराउने, जुन साहित्यिक प्रवृत्ति र धाराको जो छ त्यहीअनुसार पठनपाठन गराउने तर केही विशिष्ट साहित्यकारका बारेमा भिन्नै ऐच्छिक विषयका रूपमा समावेश नगर्ने भन्ने सुझावका आधारमा यस्तो गरिएको हो। ती स्रष्टा पाठ्यक्रमबाट हटाइएको होइन।’

भट्टराईका अनुसार पहिला व्यक्तिपरक अध्ययन हुँदै आएको थियो, अब प्रवृत्तिपरक अध्ययन हुन थालेको छ। उनले भने, ‘मनोवैज्ञानिक यथार्थवादी धाराअन्तर्गत विश्वेश्वरप्रसाद कोइराला र उनको सुम्निामा उपन्यास तथा प्रगतिवादी धाराअन्तर्गत पारिजात र उनको शिरीषको फूल उपन्यास समावेश गरिएको छ। एमए नेपालीको पाठ्यक्रममा न पारिजात हटाइएको छ न त विश्वेश्वरप्रसाद।’

नेपाली विषयमा पारिजात हटाइएको भनेर केही व्यक्तिहरू डिन कार्यालय, विभाग र रेक्टर कार्यालयमा डेलिगेसन गएका थिए। यसैगरी पारिजात अध्ययन केन्द्र र प्रगतिशील लेखक संघले भिन्नाभिन्नै विज्ञप्ति निकालेर चासो व्यक्त गरेका छन्। पाठ्यक्रम निर्माणमा सहभागी एकजना विज्ञ भन्छन्, 'यसरी गलत भ्रम फैलाउनेले पाठ्यक्रम राम्ररी पढेको देखिएन। उनीहरूले पाठ्यक्रमको मर्म पनि बुझेका छैनन्।'

पाठ्यक्रम निर्माण मस्यौदा समितिका सदस्य डा. दुर्गाबहादुर घर्ती मगर पाठ,  नेपाली साहित्यको इतिहास र नेपाली साहित्यको उत्तरवर्ती चरणको अध्ययन भन्ने पत्रमा उनै स्रष्टाहरूको अध्ययन दोहोरिने भएकाले स्रष्टापरक अध्ययन हटाइएको बताउँछन्। उनका अनुसार स्रष्टापरक अध्ययनका ठाउँमा एसियाली साहित्यको अध्ययन, आप्रवासी साहित्यको अध्ययन, लोकवार्ता, नाटक र चलचित्रको अध्ययन, भाषाविज्ञानजस्ता विषय राखिएका छन्। घर्ती मगरले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘स्नातकोत्तर नेपालीको पाठ्यक्रमबाट पारिजात हटाएको भन्ने साँचो होइन, पाठमा उनको उपन्यास राखिएको छ। पाठ्यक्रमको मस्यौदा तयार गर्दा सकेसम्म प्राप्त भएका सुझावलाई आधार बनाइएको छ।’

त्रिभुवन विश्वविद्यालयका सहायक डिन एवम् मस्यौदा समितिका सदस्य डा. गोविन्दप्रसाद शर्माले सरोकारवालाहरूले दिएको सुझावका आधारमा व्यक्तिपरक अध्ययनलाई संशोधन गरेर प्रवृत्तिपरक अध्ययन समावेश गरी पाठ्यक्रम तयार भएको बताए। उनले कतिपय साहित्यकारका बारेमा स्नातकमै पढाइ भइसकेकाले स्नातकोत्तरमा नदोहोर्‍याइएको बताए। शर्माले भने, ‘स्नातकमा भएका कुरा स्नातकोत्तरमा नराखिएको हो। पारिजात कहाँ हटेको छ र? उनका कथा र उपन्यास त पढाइ भइहाल्छ। व्यक्ति अध्ययनलाई भन्दा प्रवृत्तिलाई महत्त्व दिएर पाठ्यक्रम बनाइएको हो।’

मस्यौदा समितिका सदस्य प्रा.डा. लक्ष्मणप्रसाद गौतमले ‘पारिजातको मात्रै होइन पुनरावृत्ति भएका अन्य स्रष्टाको पनि व्यत्तिपरक अध्ययन हटाइएको बताए। उनले भने, 'एउटा लेखकलाई कवितामा पढाइन्छ, निबन्धमा पढाइन्छ, खण्डकाव्य, महाकाव्यमा पढाइन्छ र फेरि विशेष अध्ययनमा पनि तिनकै व्यक्तिपरक विषय पढाइन्छ भने त पुनरावृत्ति भयो नि। पुनरावृत्ति नहोस् भनेर हटाइएको हो।'

लोकसाहित्य र लोकवार्ताको पाठ्यक्रम निर्माणमा सहभागी प्रा.डा. षडानन्द पौडेलले पनि विज्ञ प्राध्यापकहरूको सुझावका आधारमा व्यक्ति प्रतिभाको विशेष अध्ययन नराखी कृतिकार र प्रवृत्तिको अध्ययन समावेश गरिएको बताए। उनले नेपाली साहित्य व्यापक भएकाले केही कुरा छुटेका भए त्यसलाई परिमार्जन गर्न सकिने बताए।

पाठ्यक्रम निर्माणको संयोजन गरेका नेपाली विषय मूल समितिका पूर्वअध्यक्ष एवम् त्रिवि नेपाली केन्द्रीय विभागका पूर्वप्रमुख प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल स्नातकोत्तर नेपालीमा पारिजात र विश्वेश्वरप्रसाद कोइराला हटाइयो भनेर भ्रम फैलाउने काम भइरहेको बताउँछन्। पाठ्यक्रम मस्यौदा समितिका संयोजकसमेत रहेका लुइटेलले भने, ‘केही तत्त्वले पारिजात हटाइयो भनेर वामपन्थीहरूको सहानुभूति लिन खोजेका छन्, विश्वेश्वरप्रसाद कोइराला हटाइयो भनेर प्रजातन्त्रवादीहरूको सहानुभूति लिन खोजेका छन्। गलत बुझाइका कारण यस्तो भएको हो।’

प्रकाशित: Mar 11, 2025| 13:12 मंगलबार, फागुन २७, २०८१
प्रतिक्रिया दिनुहोस्