मंगलबार, पुस ८, २०८२

कहाँ हराए सार्वजनिक धारा ?

 |  सोमबार, फागुन २६, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २६, २०८१

सुनसरी- विगत वर्ष जस्तै यस वर्षमा पनि यो समय तराईमा गर्मी निकै बढेको छ। गर्मीसँगै यस तराईका जिल्लामा काम गर्दै आएका सडक मजदुर, पैदलयात्रु एवं बटुवाहरूलाई प्यास मेटाउन मुस्किल हुने गरेको छ। यस क्षेत्रमा सार्वजनिक धारा एवं कुवा पाउनै मुस्किल छ। 

National life

पछिल्लो समय सहरमा सार्वजनिक धाराको संस्कृति हराउँदै गएको छ। व्यापारिक सहरको छवि बनाएको इटहरीमा प्यास लाग्दा पानी पाउन कठिन छ। दैनिक सयौँ यात्रु यही बाटो हुँदै यात्रा गर्छन्। व्यापारिक ‘ट्रन्जिट प्वाइन्ट’ इटहरीमा रोकिएका यात्रुलाई प्यास लागे सार्वजनिक धारा भेटिँदैन।

प्यास मेटाउन होटलभित्र छिर्नुपर्छ कि त पसलबाट न्यूनतम २० रूपैयाँ खर्च गर्नुपर्छ। क्याफेमा २५ देखि ५० सम्म तिर्नुपर्छ।

इटहरीको मुख्य बजार क्षेत्रमा भेटिएका वडा नं १० का स्थानीय बासिन्दा प्रमोद चौधरी सार्वजनिक धारा नहुँदा पानी किनेर प्यास मेटाउनुपर्ने बाध्यता भएको बताउँछन्। चौधरीले भने, 'प्यास लागे अर्काको घर छिर्नु भएन, पालिकाले कतै सार्वजनिक धारा राखिदिएको छैन, पानी किनेर खानुको विकल्प छैन।'

वडा नं ३ बाट घर बाटोको सिफारिस लिन उपमहानगरपालिकाको कार्यालय, आएकी कमलादेवी तामाङले पनि प्यास लागे पानी किनेर नै खाएको बताइन्।

Laxmi sunrise bank
kumari

दिनानुदिन गर्मी बढ्दै छ। सहरमा सार्वजनिक स्थानमा पिउने पानीको व्यवस्था नगरिँदा रिक्सा चालक, सफारी चालक, यात्रागर्ने बटुवा वा अन्य सर्वसाधरणलाई पानी खान समस्या हुने गरेको छ। विसं २०६६ अघि भने इटहरीका विभिन्न सार्वजनिक स्थानमा ८४ वटा सार्वजनिक धारा थिए। खानेपानीबाट जोडिएका यी सार्वजनिक धाराबाट सिधैँ पानी पिउन सकिन्थ्यो। यसले गर्दा बटुवा वा यात्रीलाई सहज थियो।

तर इटहरी खाने पानी उपभोक्ता संस्थाले सार्वजनिक धारा हटाउने नीति लियो। धारा धेरै बिग्रेको र खर्च धेरै आएका कारण सबै धारा कटौती गरिएको इटहरी खाने पानी उपभोक्ता संस्थाका व्यवस्थापक हरिबहादु कटुवालले बताए।

'संस्थाले सार्वजनिक स्थानमा धारा नराख्ने नीति नै लिएको छ', उनले भने, 'सार्वजनिक स्थानमा धारा हुँदा चरम दुरूपयोग भएका कारण कार्यालयले नराख्ने निर्णय गरेको हो।' इटहरी खाने पानी उपभोक्ता संस्थाअन्तर्गत हाल तीन वटा पानीका ट्यांकी रहेका छन्। दैनिक दुई करोड १६ लाख पानी प्रशोधन गर्ने क्षमता रहेको यस कार्यालयले इटहरी उपमहानगरका-२० वडामध्ये १२ वटा वडालाई मात्र पानीको आपूर्ति गर्दै आएको छ। 

इटहरी उपमहानगरपालिकाले पनि सार्वजनिक स्थानमा पानी पिउने व्यवस्था गरेको छैन। दैनिक हजारौँ व्यक्ति यात्राका दौरान, आर्थिक तथा व्यवसायी कारोबार वा अन्य कामका लागि इटहरी आउँछन्। यस्तो व्यस्त सहरमा सर्वसाधारणलाई पानी पिउन भने समस्या भोग्दै आउनुपरेको छ।   रासस

प्रकाशित: Mar 10, 2025| 18:01 सोमबार, फागुन २६, २०८१
प्रतिक्रिया दिनुहोस्