आइतबार, वैशाख ७, २०८२

शीतोष्ण फलफूल बगैंचामा झपक्कै फूल, पर्यटक मोहित

 |  सोमबार, फागुन २६, २०८१
nespernesper

सुन्दरकुमार थकाली

सुन्दरकुमार थकाली

सोमबार, फागुन २६, २०८१

vianetvianet

मुस्ताङ- मुस्ताङमा शीतोष्ण फलफूल बगैँचाका बोटमा झपक्कै फूल फुलेका छन्। घरपझोङ– २ मार्फामा रहेको शीतोष्ण बागवानी विकास केन्द्रका विभिन्न प्रजातिका फलफूल बोटहरू यतिखेर फूल फुलेर सेताम्मे भएका हुन्। विगतका वर्षहरूमा भन्दा यस वर्ष केही हप्ता ढिलो गरी शीतोष्ण फूलहरू फुल्न थालेका हुन्।

triton college

मुख्य रूपमा मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रले शीतोष्ण हावापानीमा उत्पादन हुने फलफूल तथा तरकारीको उत्पादन, बिउ तथा बिरुवा उत्पादन गर्ने कार्य गर्दै आइरहेको छ। जिल्लामा स्याउखेतीको विकाससमेत यही केन्द्रले सुरु गरेको थियो।

मुस्ताङको त्यही केन्द्र हो, जसले यहाँ विभिन्न जातजातका फलफूलको बिउ तथा बिरुवा उत्पादनका साथै फलफूल उत्पादनमा समेत जोड दिइरहेको छ। मुस्ताङका कृषकहरूको आर्थिक विकासमा टेवा पुर्‍याउन र फलफूल तथा तरकारीखेतीको विकास गरी यहाँका किसानको जीवनस्तर सुधार गर्न केन्द्रले दिँदै आइरहेको योगदान अतुलनीय छ।

वसन्त ऋतुको आगमनको सुरुवातसँगै यहाँका शीतोष्ण फलफूलका बोट झपक्कै फूल फुल्न थालेका हुन्। केन्द्रले उत्पादन गर्ने हाइ चिलिङ जात अर्थात् अत्यधिक चिस्यानको आवश्यकता पर्ने कागजी बदाम, आरु, आरुबखडा र खुर्पानीलगायतका फलफूल बोटमा बिस्तारै फूल फुलेर मुस्कुराउन थालेका छन्।

यसरी बढी मात्रामा अत्यधिक चिस्यान चाहिने फलफूलका बोटमा फूल फुलेर धपक्कै हुँदा केन्द्रमा पुगेर अवलोकन गर्ने पर्यटक मोहित हुने गरेका छन्। तर, यहाँका स्याउ बोटहरूमा चैत महिनाको अन्तिम वा वैशाख महिनामा मात्रै फूल फुल्ने क्रम सुरु हुने केन्द्रले जनाएको छ।

National life insurance

जिल्लाको बागवानी विकास केन्द्र र अन्य किसानले उत्पादन गर्ने यसप्रकारको अधिकांश जातका फूल फुल्ने चरणमा रहेको केन्द्र प्रमुख पद्मनाथ आत्रेयले जानकारी दिए। केन्द्रमा उत्पादन हुने अधिकांश जातहरू हाइचिलिङ अर्थात् अत्यधिक चिस्यानको आवश्यकता पर्ने फलफूलहरू रहेको उनले भनाइ छ। उनले यसप्रकारका हाइचिलिङ जातका फलफूल बोटलाई आठ सयदेखि एक हजार घण्टासम्म चिस्यानको आवश्यक पर्ने बताए।

केन्द्रमा उत्पादन हुने मुख्य फलफूल जातहरूमा कागजी बदाम ने प्लस अल्ट्रा जातको फलफूलअन्तर्गत पर्दछ। यी मुख्य फलफूलअन्तर्गत आरू फलफूलमा एक अर्ली रेड जात र अर्को ओराइन जातअन्तर्गत पर्दछ। आरूबखडा, मिथ्ले र सान्तारोजा जातमा पर्छ। खुर्पानी सक्करपारा जातमा पर्दछ। केन्द्र प्रमुख आत्रेयले केन्द्रमा मुख्य गरी पाइने यसप्रकारको जात महत्त्वपूर्ण जातको रूपमा रहेको जानकारी दिए।

समुद्री सतहदेखि एक हजार आठ सय मिटर उचाइदेखि करिब तीन हजार मिटरसम्मको उच्च भूगोलमा उत्पादन हुने यसप्रकारका फलफूलमा पछिल्लो समय जलवायु परिवर्तनको असरले प्रतिकूल बनाउन थालेको केन्द्र प्रमुख आत्रेयले खुलाए।

‘जलवायु प्रभावले जमिनको तापमान वृद्धि भइरहेकाले फूल फुल्ने क्रम केही छिटो हो की भन्ने अनुभूति गरेका छौँ,’ केन्द्र प्रमुख आत्रेयले थपे, ‘बर्सेनि मुस्ताङको तल्लो क्षेत्रमा उत्पादन हुने यसप्रकारका फूलफूल जातहरू माथि माथि सर्दै जान थालेको छ।’ उनले अनुकूल समयमा एक–दुई फेरि आंशिक हिउँ पर्ने र तुषारोका कारण घरपझोङको मार्फा र जोमसोम क्षेत्रमा यसको असर पर्न थालेको बताए।

केन्द्रले बर्सेनि गुणस्तरीय बिरुवा उत्पादन गर्ने र यसप्रकारका जातलाई प्रशोधित वस्तु तयार गरी बिक्री–वितरण गर्ने काम गर्दै आइरहेको जानकारी दिए।

केन्द्रले खुर्पानीको फलबाट प्रशोधित गरी ब्रान्डी, जाम र सुकुटी तयार गर्ने गरेको छ। यसैगरी आरूबखडाको वाइन बनाउने गरिएको छ। आरूको ताजा फल बिक्री गर्ने र कागजी बदामको बिरुवा उत्पादन गर्ने काम केन्द्रले गर्दै आइरहेको केन्द्र प्रमुख आत्रेयले उल्लेख गरे।    -रासस

प्रकाशित: Mar 10, 2025| 14:00 सोमबार, फागुन २६, २०८१
प्रतिक्रिया दिनुहोस्