मंगलबार, पुस ८, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • पोल्ट्रीजन्य पदार्थको अवैध आयात रोक्न मुख्यमन्त्री सिंहको निर्देशन

पोल्ट्रीजन्य पदार्थको अवैध आयात रोक्न मुख्यमन्त्री सिंहको निर्देशन

 |  बुधबार, फागुन २१, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २१, २०८१

धनुषा- मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले खुला सीमानाकाहरूबाट अवैध रूपमा भित्रिने पोल्ट्रीजन्य पदार्थहरूमा रोक लगाउन प्रदेशका उच्चपदस्थ सुरक्षा अधिकारीहरूलाई निर्देशन दिएका छन्। विभिन्न नाकाबाट अवैध ढंगले भित्रिने अण्डा, चल्ला, तयारी कुखुरा, कुखुराको मासु, क्रेट, कार्टुन र भ्याक्सिनको ओसारपसार नियन्त्रण गर्न  सुरक्षा निकायलाई  निर्देशन दिएका हुन्।

National life

मधेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक लालमणि आचार्य र सशस्त्र प्रहरी बल मधेश प्रदेश छिन्नमस्ता बाहिनी नम्बर २ मुख्यालयका प्रमुख एवं सशस्त्र प्रहरी नायब महानिरीक्षक कालीदास धौवजीसँगको भेटमा बुधबार मुख्यमन्त्री सिंहले त्यस्तो निर्देशन दिएका हुन्।

सस्तो मूल्यमा गुणस्तरीय र पोषणयुक्त कुखुराको अण्डा तथा मासु उपलब्ध गराइरहेको नेपालको पोल्ट्री व्यवसाय भारतबाट अवैध रूपमा भित्रिने पोल्ट्रीजन्य पदार्थका कारण संकटग्रस्त हुन थालेको र भारतका विभिन्न प्रान्तमा देखापरेका बर्ड फ्लु भित्रिने जोखिम पनि उच्च रहेकाले पोल्ट्रीजन्य पदार्थको अवैध आयात नियन्त्रण गर्नुपर्ने भन्दै नेपाल लेयर्स कुखुरापालक संघले बुधबार मुख्यमन्त्री सिंहको ध्यानाकर्षण गराएको थियो।

जनकपुरधामको मधेश भवनस्थित मुख्यमन्त्री निवासमा भएको भेटघाटमा कुखुरापालक व्यवसायीहरूले देशको कुल ग्राहर्स्थ्य उत्पादनमा ३ प्रतिशत हिस्सा ओगटेको र प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा ५ लाख व्यक्तिलाई रोजगारी दिएको पोल्ट्री क्षेत्रको संरक्षण तथा प्रवर्द्धनका लागि पोल्ट्रीजन्य पदार्थको अवैध आयात रोकिनुपर्ने माग मुख्यमन्त्री सिंहसँग गरेका थिए।

मुख्यमन्त्री सिंहले पोल्ट्रीजन्य पदार्थको खुला बिक्रीवितरणमा साना पुँजी भएका व्यक्तिहरूको संलग्नता रहेकाले चेतनामूलक कार्यक्रमका साथ नियन्त्रण प्रयास हुनुपर्ने बताए। उनले भने, 'अवैध आयात नियन्त्रण गर्न त्यसरी आयातीत वस्तुको बिक्रीवितरण निषेधमा जोड दिनुपर्छ। यसका लागि साना व्यापारीमा अवैध तरिकाले भित्रिएका पोल्ट्रीजन्य पदार्थबाट जनस्वास्थ्यमा पर्न सक्ने नकारात्मक असरका बारेमा चेतना जागृत गर्नुपर्छ।'

Laxmi sunrise bank
kumari

उनले योजनाबद्ध तरिकाले पोल्ट्रीजन्य पदार्थको अवैध आयात रोक्न सुरक्षा अधिकारीहरूलाई निर्देशन दिँदै त्यस्ता पदार्थको अवैध आयात हुने नाका र क्षेत्र पहिचान गरी प्रहरी परिचालन गर्नुपर्ने बताए। उनले पोल्ट्रीजन्य पदार्थको अवैध आयातलाई रोक्न अभियान नै थाल्नुपर्ने र त्यसमा नेपालका पोल्ट्री व्यवसायीसँगै सरोकारवालाहरूले अग्रसरता लिनुपर्ने औँल्याए।

मधेश प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक आचार्यले पोल्ट्रीजन्य पदार्थको अवैध आयात रोक्न पहिलो चरणमा चेतनामूलक प्रचारप्रसार गरिने र दोस्रो चरणमा कानुनअनुसार त्यस्ता वस्तु नियन्त्रणमा लिएर नष्ट गरिने जानकारी दिए।

सशस्त्र प्रहरी बल मधेश प्रदेश छिन्नमस्ता बाहिनी नम्बर २ मुख्यालयका प्रमुख एवं सशस्त्र प्रहरी नायब महानिरीक्षक धौवजीले विभिन्न नाकाबाट अवैध ढंगले भित्रिने पोल्ट्रीजन्य पदार्थको नियन्त्रणमा सीमाक्षेत्रमा खटिएका सशस्त्र प्रहरीलगायत सुरक्षा निकायले निरन्तर काम गरिरहेको भन्दै अब उपरान्त त्यस काममा थप तीव्रता ल्याइने बताए।

प्रकाशित: Mar 05, 2025| 18:30 बुधबार, फागुन २१, २०८१
प्रतिक्रिया दिनुहोस्