काठमाडौं- कुमारी क्यापिटलले ‘कुमारी क्यापिटल’ मोबाइल एप सार्वजनिक गरेको छ। एपले व्यवस्थित लगानी योजना (एसआइपी)सहित अन्य लगानीका सेवा सहज र पहुँचयोग्य बनाउने क्यापिटलको भनाइ छ।
एप सार्वजनिक भएसँगै लगानीकर्ताले मोबाइलबाटै सरल, छिटो र सुरक्षित तरिकाले लगानी गर्न सक्ने बताइएको छ।
क्यापिटलका अनुसार एपमार्फत एसआइपी व्यवस्थापन, लगानी योजना निर्माण र अनुगमन अब केही क्लिकमै सम्भव हुनेछ। यो एपले नयाँ र अनुभवी दुवै प्रकारका लगानीकर्तालाई सहयोग पुर्याउने छ।
एसआइपी व्यवस्थापनअन्तर्गत कुनै पनि समय, कहीँबाट पनि यो सेवा सुरु, ट्र्याक र व्यवस्थापन गर्न सकिनेछ भने डिम्याट खाता हेर्न र व्यवस्थापन गर्न पनि सहज बनाउने क्यापिटलले जानकारी दिएको छ। त्यसैगरी, प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ), थप सार्वजनिक निष्कासन (एफपिओ), हकप्रद सेयरको आवेदन पनि विनाझन्झन्ट एपबाटै हुनेछ। यो सेवा छरितो, सुरक्षित र प्रयोगकर्तामैत्री रहेको दाबी गरिएको छ।