सोमबार, पुस ७, २०८२

जिडिपी अनुपातमा सार्वजनिक ऋण ४५ प्रतिशत नाघ्यो

 |  शुक्रबार, फागुन ९, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ९, २०८१

काठमाडौं- मुलुकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को तुलनामा सार्वजनिक ऋणको दायित्व ४५ प्रतिशत नाघेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रकाशित गरेको प्रतिवेदनअनुसार चालू आर्थिक वर्ष ०८१/८२ को माघसम्ममा सरकारी ऋण रु. २६ खर्ब ११ अर्ब ६ करोड पुगेको छ।

National life

‘चालू आर्थिक वर्षको सुरुमा सार्वजनिक ऋण रु. २४ खर्ब ३४ अर्ब नौ करोड रहेकामा माघ मसान्तसम्ममा रु. एक खर्ब ७६ अर्ब ९६ करोड थपिएको छ। हालसम्मको कुल सार्वजनिक ऋण जिडिपी अनुपातमा ४५.७७ प्रतिशत हुन आउँछ,’ कार्यालयको प्रतिवेदनमा भनिएको छ।

कुल सार्वजनिक ऋणमा वैदेशिक ऋणको हिस्सा ५०.८७ र आन्तरिक ऋणको हिस्सा ४९.१३ प्रतिशत छ। माघ मसान्तसम्ममा आन्तरिक ऋण रु. १२ खर्ब ८२ अर्ब ८१ करोड र बाह्य ऋण दायित्व रु. १३ खर्ब २८ अर्ब २५ करोड छ। विनिमय दरमा भएको परिवर्तनका कारण मात्रै यो अवधिमा रु. ३६ अर्ब ५९ करोड ऋण दायित्व थपिएको कार्यालयले जनाएको छ।

सरकारले चालू आवका लागि रु. पाँच खर्ब ४७ अर्ब सार्वजनिक ऋण उठाउने लक्ष्य राखेको थियो। हालसम्म रु. दुई खर्ब ९० अर्ब ५७ करोड ऋण उठिसकेको कार्यालयले जनाएको छ। वार्षिक लक्ष्यको तुलनामा हालसम्मको कुल सार्वजनिक ऋण प्राप्ति ५३.१२ प्रतिशत हो।

चालू आवमा रु. तीन खर्ब ३० अर्ब आन्तरिक र रु. दुई खर्ब १७ अर्ब बाह्य ऋण उठाउने सरकारी लक्ष्य छ। माघ मसान्तसम्ममा आन्तरिकतर्फ रु. दुई खर्ब २९ अर्ब १५ करोड र बाह्यतर्फ रु. ६१ अर्ब ४२ करोठ ऋण उठिसकेको छ। वार्षिक लक्ष्यका आधारमा हालसम्मको प्राप्ति आन्तरिकतर्फ ६९ प्रतिशत र बाह्यतर्फ २८.३१ प्रतिशत बराबर हो।

Laxmi sunrise bank
kumari

त्यस्तै, ऋणको साँवा–ब्याज तिर्नका लागि सरकारले चालू आर्थिक वर्षमा रु. चार खर्ब दुई अर्ब ८५ करोड बजेट विनियोजन गरेको छ। पछिल्लो सात महिनामा रु. एक खर्ब ७८ अर्ब ७५ करोड साँवा–ब्याज भुक्तानी भइसकेको कार्यालयले जनाएको छ। कुल गार्हस्थ्य उत्पादनका आधारमा माघ मसान्तसम्मको ऋण सेवा खर्च ३.३१ प्रतिशत हो।

प्रकाशित: Feb 21, 2025| 14:26 शुक्रबार, फागुन ९, २०८१
प्रतिक्रिया दिनुहोस्