काठमाडौंको दक्षिणकाली नगरपालिका-४ मा विद्यार्थी बोकेको बस दुर्घटना भएको छ। दुर्घटनामा परी २ जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा स्कुल बसका चालक दक्षिणकाली नगरपालिका-४ घर भएका ३५ वर्षीय रामकृष्ण थापा मगर र सोही ठाउँका ८ वर्षीय बालक विपिन श्रेष्ठ रहेका छन्।
थापामगरको नगर अस्पताल दक्षिणकालीमा र श्रेष्ठको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ।
बा१क ५६६४ नम्बरको जुनकिरी स्कुलको बस आज दिउँसो साढे ३ बजे सडकबाट १०० मिटर तल खस्दा ४१ जना घाइते भएका छन्।
घाइतेहरूको काठमाडौं उपत्यकाका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ।