आइतबार, पुस ६, २०८२

अझै भएन खरखरेभिरको ८ महिनादेखि जारी पहिरो रोकथामको काम

 |  आइतबार, माघ २७, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, माघ २७, २०८१

लमजुङ- बेँसीसहर–चामे सडकअन्तर्गत बेँसीसहर नगरपालिका–६ स्थित खरखरेभिर पहिरो रोकथाममा ढिलाइ भएको छ। करिब आठ महिनादेखि जारी पहिरो रोकथामको काम अझै सम्पन्न हुन सकेको छैन। यहाँ गत असारयता निर्माण कार्य ठप्प छ।

National life

सङ्घीय सरकारको रु १६ करोड ४८ लाखमा खरखरेभिरमा पहिरो रोकथामका लागि निर्माण कार्य हुँदै आएको थियो। निर्माणमा संलग्न निर्माण व्यवसायीले बीचमे काम छाडेका छन्। यसबाट स्थानीय तथा पर्यटकलाई समस्या  भएको छ। डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयका सूचना अधिकारी नवीन विष्टले भने, “पहिरो रोकथामको काम जटिल रहेको कारण देखाउँदै काम बन्द गरिएको छ।”

भौगोलिक बनावट कठिन हुँदा काम गर्दा माथिको डाँडा नै खस्न सक्ने अवस्था छ। यसअघि निर्माण गरिएको सडकमाथिको संरचना पनि भत्किएको छ। सडकको हालसम्म जम्मा ३२ प्रतिशतमात्र प्रगति भएको सुचना अधिकारी विष्टले बताए। उक्त खण्डमा तीन सय मिटर पर्खाल सडक ढलान गर्नुपर्ने देखिन्छ। अझै ८० मिटर सडक ढलान गर्न बाँकी रहेको छ। सो काम सम्पन्न भएपछि पहिरो रोकथाम हुने सूचना अधिकारी विष्टको भनाइ छ।

पहिरो रोकथाम नहुँदा सो सडक भएर यात्रा गर्न जोखिम भएको बेँसीसहर नगरपालिका–६ का कृष्णबहादुर आलेले बताए। “यात्रा गर्दा कतिबेला माथिबाट ढुङ्गामाटो तथा पहिरो खस्ने हो भन्ने डर रहन्छ। सडकबाट चिप्लए सिधैँ मर्स्याङ्दी नदीमा पुग्ने खतरा छ”, उनले भने।

विश्व चर्चित चक्रीय अन्नपूर्ण पदमार्गमा पर्ने उक्त ठाउँको पहिरो हुँदै पर्यटक आवतजावत गर्छन्। बेँसीसहर–६ वडाध्यक्ष प्रकाश थापाले भने, “यहाँ हिँड्दाहिँड्दै पहिरो खस्छ, जोखिम छ, धेरै गाह्रो छ। अझ बर्खायाममा बढी समस्या तथा जोखिम हुने गरेको छ।”

Laxmi sunrise bank
kumari

पहिरोभन्दा माथि २४–२५ परिवार रहेको फाँटगाउँ छ। पहिरोले बस्ती भेट्न करिब पाँच सय मिटर मात्र बाँकी छ।

कार्यालयका अनुसार खरखरेभिरका लागि बोलपत्र आह्वान गरेर रु २० करोड लागत अनुमान गरिएकामा रु १६ करोड ४८ लाखमा निर्माण सम्पन्न गर्नेगरी खरीढुङ्गा गोल्मेस्वर जेभीले कामको जिम्मा लिएको थियो। सम्झौताअनुसार २०८० मङ्सिरभित्र काम सम्पन्न हुनुपर्ने हो। तर काम सम्पन्न हुन नसक्दा २०८२ मङ्सिरसम्मका लागि  म्याद थप गरिएको कार्यालयले जनाएको छ।

मनाङ जिल्लालाई सडक सञ्जालसँग जोड्ने सरकारको योजनाअनुसार २०५१ सालदेखि सडक डिभिजन कार्यालय दमौली, तनहुँले निर्माण सुरु गरेको थियो।

विसं २०५७ देखि नेपाली सेनाले सो सडक बनाउने जिम्मा पाएको थियो। सेनाले २०६९ सालमा सडक निर्माण पूरा गरी डिभिजन सडक कार्यालय दमौलीलाई हस्तान्तरण गरेको थियो।

पैसठ्ठी किलोमिटर रहेको उक्त सडक लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किलोमिटर पर्छ। यो सडक खरखरे भिरको पहिरोको कारण अवरुद्ध हुँदैआएको छ। सो स्थानमा करिब सात वर्षदेखि पहिरो जान थालेको हो।

प्रकाशित: Feb 09, 2025| 09:01 आइतबार, माघ २७, २०८१
प्रतिक्रिया दिनुहोस्