कञ्चनपुर- महाकालीमा पक्की पुल बनेपछि यस नाकाबाट तेस्रो मुलुकका पर्यटक सहज रूपमा आवतजावत गर्न सकिने पर्यटन व्यवसायी जगदीशचन्द्र भट्ट आशावादी छन्। तेस्रो मुलुकबाट पश्चिम नाका हुँदै आउने पर्यटकका लागि सहज वातावरण नहुँदा पर्यटकको ठूलो सम्भावना गुमेको अवस्थामा अब यहाँको पर्यटन क्षेत्र फस्टाउनेमा उनी विश्वस्त देखिन्छन्।
सुदूरपश्चिममा थुप्रै पर्यटकीय गन्तव्य भए पनि नाकाको असहजताकै कारणले यहाँको पर्यटन व्यवसाय फस्टाउन नसकेको हो भन्ने उनको बुझाइ छ। उनी भन्छन्, 'महाकाली नदी आफैमा पर्यटकीय गन्तव्य बन्छ अब, यहाँ होटलहरू खुल्छन् र आर्थिक गतिविधिहरू बढ्ने अपेक्षा गरेका छौँ।' उनले भारतसँग व्यापारिक मात्रै नभइ धार्मिक सम्बन्धसमेत रहेकाले धार्मिक पर्यटनका हिसाबले यो नाकाले ठूलो टेवा पुग्ने बताए।
पर्यटनको ठूलो सम्भावना बोकेको सुदूरपश्चिमलाई शारदा ब्यारेजमा सहज आवागमन नहुनुले पनि प्रभाव पारेको यहाँका व्यवसायीहरू बताउँछन्। भारतको राजधानी नयाँँदिल्लीमा रहेको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल यहाँबाट तीनसय ५० किमीको दुरीमा छ।
तेस्रो मुलुकबाट आउने पर्यटकका लागि भारतको राजधानी दिल्लीस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट यो नाका छोटो दुरीमा रहेकाले यहाँबाट पर्यटक आउने ठूलो सम्भावना देखेर यहाँका पर्यटन व्यवसायीहरुले होटललगायत विभिन्न पूर्वाधारहरु निर्माणमा जोड दिएका छन्।
कञ्चनपुरमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बाह्रसिङ्गेका लागि प्रख्यात छ। त्यसभन्दा दुई सय किमी पूर्व आउँदा बाघ र हात्तीका लागि प्रख्यात बर्दिया राष्ट्रिय निकुञ्ज छ। भारतका सबैभन्दा ठूला औद्योगिक सहरहरु र महत्वपूर्ण आर्थिक गतिविधि र औद्योगिक करिडोर भएका सहरसँग सुदूरपश्चिमको कञ्चनपुर नजिकबाट जोडिएको जिल्ला हो। त्यतिमात्र नभइ उत्तरतर्फ चीनको सीमासम्म सरल र प्राकृतिक सौन्दर्यको दृश्यावलोकन गर्दै जान सकिने ठाउँ छ। त्यसैले अहिले कञ्चनपुरलाई त्रिदेशीय नाकाका रुपमा विकास गर्ने पहल भइरहेको छ। सुदूरपश्चिमको कञ्चनपुरमा पश्चिमी नाका खोलेर नेपाललाई भारत र चीनसँग जोड्ने र दुवै छिमेकी मुलुकबाट लाभ लिन सकिने सम्भावनालाई सरकारले अवसरमा परिणत गर्नका लागि पूर्वाधार विकासमा जोड दिएको छ।
यो नाका भएर सरल र सहज रुपमा भारतका औद्योगिक क्षेत्रसम्म पुग्न सकिने धार्मिक पर्यटनका हिसाबले पनि कैलाश मानसरोवरसम्म पुग्न सकिन्छ। त्यसका लागि कञ्चनपुरको ब्रह्मदेवदेवी दार्चुलाको चीनसँगको सीमाना तिंकरसम्म महाकाली करिडोर निर्माणाधीन अवस्थामा छ। सुदूरपश्चिमको आर्थिक, औद्योगिक र व्यापारका गतिविधिहरु बढाउनका लागि सरकारले भौतिक पूर्वाधारका ठूल्ठूला परियोजना प्रारम्भ गरेको छ।
व्यापारिक नाकाका रुपमा विकास गर्न कञ्चनपुरस्थित महाकाली नदीमा चार लेनको पक्की पुल निर्माण सम्पन्न भइसकेको छ। पुलको पारिपट्टि दोधारा-चाँदनीमा सुक्खा बन्दरगाह निर्माणको प्रक्रिया अघि बढाइएको छ। भारत सरकारको दुई अर्ब ५४ करोड रूपैयाँ लगानी र प्राविधिक सहयोगमा बन्ने बन्दरगाह निर्माणको बोलपत्र आह्वान गरिसकेको छ। डेढ दशक लामो प्रतीक्षापछि दोधारा-चाँदनीमा सुक्खा बन्दरगाह निर्माण हुन लागेको हो। यसले पश्चिम नेपालमा समृद्धिको आशा पलाएको छ।
दोधारा-चाँदनीमा बन्दरगाह र महाकाली नदीको किनारैकिनार निर्माणाधीन रहेको दार्चुलाको तिंकर भञ्ज्याङसम्मको महाकाली करिडोरको निर्माण सम्पन्न भएपछि पश्चिम नेपाल मात्रै नभई मुलुकको विकासमा कोशेढुङ्गा सावित हुनेमा धेरैले आशा गरेका छन्।
यो नाका सञ्चालनमा आएपछि पश्चिम नेपालको भारतका औद्योगिक सहरहरूसँग सहज पहुँच हुने नेपाल-भारत मैत्रीसंघका महासचिव माधव जोशी बताउँछन्। उनले शारदा ब्यारेज दैनिक सात घण्टा मात्रै खुल्ने र त्यसमा पनि ठूला मालवाहक सवारीलाई आवागमनमा रोक लगाएका कारण अहिलको पुलबाट आयातनिर्यातमा असर परिरहेको बताए। 'महाकालीमा बनेको पुल र सुक्खा बन्दरगाह सञ्चालनमा आए हाम्रो उत्पादनले विश्व बजारसँग प्रतिस्पर्धा गर्न सहज हुन्छ', जोशीले भने, 'यो सँगै तेस्रो मुलुकसँगको व्यापारको ढोकासमेत खुल्छ।'
महाकाली पारिका गाउँ भनेर चिनिने दोधारा-चाँदनीका बासिन्दालाई यस पुलले भारतीय बाटो प्रयोग गरेर महेन्द्रनगर आवतजावत गर्नुपर्ने बाध्यताबाट मुक्त गरेको छ। विसं २०७४ मा नेपाल सरकारले महाकालीमा चार लेनको पुल निर्माणको काम सुरुवात गरेकामा हालै सम्पन्न भएर सञ्चालनमा आइसकेको छ। करिब तीन अर्ब रूपैयाँको लगानीमा बनेको यो पुलसँगैको पहुँचमार्ग र पर्यटकका लागि चार वटा मानव निर्मित ताल निर्माणाधीन छन्।
भारतका नोयडा, गुडगाउँ, रुद्रपुरलगायत व्यापारिक तथा औद्योगिक क्षेत्र यहाँबाट छोटो दुरीमा पर्छ। भारतको राजधानी नयाँदिल्ली यो पुलबाट साढे तीन सय किलोमिटरको मात्रै दुरीमा छ। सीमित समयका लागि खुल्ने शारदा ब्यारेजमा ठूला सवारीसाधनस आवतजावतमा रोक लगाएका कारण यहाँको व्यवसायमा ठूलो प्रभाव परेको व्यवसायीहरू बताउँछन्।
मैत्रीसंघका महासचिव जोशी कञ्चनपुरकै दैजीमा प्रस्तावित औद्योगिक क्षेत्र पनि सञ्चालन भए यहाँ बाह्य लगानीसमेत भित्रिने सम्भावना रहेको बताउँछन्। 'पश्चिमी नाका सञ्चालन भएमात्रै यहाँको विकासको ढोका खुल्छ, यहाँबाट भारतका औद्योगिक क्षेत्रहरूसँग छोटो दुरी छ, हामीले उत्पादन गरेको वस्तुको निर्यात सहजै गर्न सक्छौँ', उनले भने, 'आयात-निर्यात सहज हुने र तेस्रो मुलुकसँगको व्यापारिक ढोका खुल्ने भएकाले यो नाका व्यापारिक केन्द्र बन्नसक्छ।'
शारदा ब्यारेज (वनबसा पुल) पुल बिहान ६ बजेदेखि ८ बजेसम्म, दिउँसो १२ बजेदेखि ३ बजेसम्म र साँझ ६ देखि ८ बजेसम्म मात्रै खुल्ने गरेको छ। सो समयमा सात टनभन्दा बढी भार भएका सवारीसाधन आवतजावतमा रोक लगाइएको छ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य जंगबहादुर मल्लले आफूहरूले तीन दशकदेखि उठाउँदै आएको विषय बल्ल पूरा हुन थालेको बताए। 'महाकाली नदीमा पक्की पुल बनिसकेको छ, सुक्खा बन्दरगाह र एकीकृत जाँचचौकी निर्माणपछि पश्चिमी नाका सञ्चालनमा आए यस क्षेत्रको व्यापार विस्तारको ढोका खुल्छ', मल्लले भने, 'भारतका ठूला औद्योगिक सहरहरु यो नाकाबाट सय किलोमिटरको दुरीमा मात्रै पर्ने हुँदा आयातनिर्यातमा सहज हुन्छ।'
सन् १९९८ मा शारदा ब्यारेजसँगै निर्माण भएको टनकपुरको पुल निर्माणपछि सञ्चालनमै आएन। भारतीय पक्षले सुरक्षाका कारण देखाउँदै उक्त पुलमा नेपाली पक्षलाई आवतजावतमा रोक लगाएको छ।
सरकारले पश्चिममी नाका सञ्चालनमा ल्याउन लागेकाले त्यसको पूर्वतयारीमा बस्नुपर्ने महासंघका महानिर्देशक गोकर्ण अवस्थी बताउँछन्। 'यो नाका सञ्चालन भए नेपाल-भारतको सहज आवागमन हुन्छ, लामो दुरीबाट आवतजावत गर्नुपर्ने बाध्यता हट्छ', अवस्थीले भने, 'यहाँ औद्योगिक र कृषिको विकास गर्नसके यसले भारतको उत्तर प्रदेश र उत्तराखण्डमा बजार पाउँछ।'
दोधारा-चाँदनीमा सुक्खा बन्दरगाहको स्थापनापछि भारतमा रहेका उद्योगका शाखाहरू नेपालमा खुल्नसक्ने र यहाँबाटै उत्पादन गर्नसक्ने सम्भावना रहेको उनको भनाइ छ। उनले भने, 'यहाँका उत्पादनहरू निर्यात गर्नेगरी सुदूरपश्चिम प्रदेश सरकारले योजना बनाउन जरुरी छ।'
सुदूरपश्चिममा अहिलेसम्म भारतसँगको ‘कनेक्टिभिटी’ सहज ढंगले हुन सकेको छैन। सुदूरपश्चिममा भारतसँग कहीँ पनि व्यापारिक ढोका खुलेका छैनन्। कैलालीको धनगढीको त्रिनगर नाकामा भारतसँग आवतजावत बाहेर व्यापारिक लाभ हुन सकेको छैन। त्यसैगरी पहाडी जिल्लामा बैतडीमा भारतसँगका नाकामा मानिस मात्रै हिँड्न मिल्ने पुल छ। दार्चुलामा भारतसँगको नाकामा झोलुंगे पुल रहेकामा अहिले सरकारले पक्की पुल निर्माण कार्य थालनी गरेको छ। कञ्चनपुरमा पनि भारतसँगको सडक सम्बन्ध व्यापारिक र आर्थिक होइन। अहिले सञ्चालनमा आएको वनबासाको ब्यारेज हो, पुल होइन। यहाँ पनि सीमित समयका लागि आवतजावत गर्नमात्रै ढोका खुल्ने गरेको छ। ब्रह्मदेवमा पुल बने पनि त्यो व्यापारिक प्रयोजनका लागि खुल्न सकेको छैन।
सुदूरपश्चिमलाई त्रिदेशीय नाकाका रूपमा विकासगरी भारत र चीनसँग जोड्ने र चीनबाट लाभ लिन सकिने प्रशस्त सम्भावना छ। महाकालीको किनारामा निर्माण भइरहेको महाकाली करिडोर सडक निर्माण सम्पन्न गर्नसके कैलाश मानसरोवर जान सुदूरपश्चिमको योे बाटो सहज बन्नुका साथै यस क्षेत्रको पर्यटन विकासमा ठूलो टेवा पुग्ने अपेक्षा गरिएको छ। कञ्चनपुरमा सिद्धनाथ, डडेल्धुरामा पर्शुरामधाम, बैतडीमा त्रिपुरासुन्दरी र निङ्गलासैनीका यस क्षेत्रका प्रख्यात धार्मिकस्थलहरु हुन्। -रासस