डोटी- बजेट अभावमा जिल्ला अस्पताल डोटीको भवन निर्माण कार्यमा विलम्ब भएको छ। पच्चिस शय्यामा सञ्चालित उक्त अस्पतालको स्तर वृद्धि गरी ५० शय्याको बनाउने उद्देश्यले २०७७ सालदेखि भवन निर्माण गर्न थालिएको हो। हालसम्म पनि सो भवन निर्माण सम्पन्न हुन सकेको छैन।
सङ्घीय विशेष अनुदानतर्फको आव २०७७/७८ मा बजेट विनियोजन भएपछि २०७७ फागुन ७ गते अस्पतालले १० करोड २७ लाखमा भवन निर्माण गर्न ‘केयस कन्स्ट्रक्सन धनगढी कैलाली’सँग सम्झौता गरेको थियो।
उक्त सम्झौताअनुसार २०७९ फागुनसम्म सो भवन निर्माण गरिसक्नुपर्ने थियो। कोभिड–१९ र मूल्य वृद्धिको कारण देखाउँदै निर्माण व्यवस समयमै काम सम्पन्न गर्न नसकेपछि २०७९ फागुनमा २०८० माघसम्मका लागि म्याद थप गरिएको थियो। सो अवधिमा पनि काम सम्पन्न भने हुन सकेन। अहिलेसम्म भवनको भौतिक प्रगति ९२।७५ प्रतिशत रहेको छ।
निर्माणमा संलग्न व्यवसायीलाई आठ करोड ६५ लाख भुक्तानी गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा सुजितकुमार मण्डलले बताए। चालू आर्थिक वर्षमा उक्त भवन निर्माणका लागि बजेट विनियोजन गरिएको छैन।
भवन निर्माण सम्पन्न गर्न आवश्यक रकम व्यवस्थापनका लागि सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयदेखि सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसम्म धाएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर नेपालीले बताए। तर अहिलेसम्म बजेट सुनिश्चित हुन नसकेको उनको भनाइ छ।
“भवन अभावले अस्पतालका सेवा प्रभावित भइरहेका छन्”, डा मण्डलले भने। भवन अभावका कारण अस्पतालले बाल पोषण गृह, स्तनपान कक्ष, शल्यक्रिया कक्षलगायतको व्यवस्था गर्न नसकेको उनले बताए। रासस