बुधबार, साउन २७, २०८३

धरौटी बुझाएर छुटे रवि, तीन जिल्ला अदालतमा गयो सवा दुई करोड

 |  आइतबार, माघ १३, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, माघ १३, २०८१

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा निलम्बित सांसद रवि लामिछाने सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा रूपन्देही जिल्ला अदालतमा एक करोड रुपैयाँ धरौटी बुझाएर छुटेका छन्। 

आज राति लामिछानेले एक करोड रुपैयाँ बैंक धरौटी बुझाएका हुन्। आज जिल्ला अदालत रूपन्देहीका न्यायाधीश प्रल्हादकुमार योगीले एक करोड रुपैयाँ धरौटी माग गर्ने आदेश गरेका थिए ।

बुटवलस्थित सुप्रिम सहकारी ठगी तथा संगठित अपराध कसुरमा प्रतिवादी बनाएर माघ ६ मा रूपन्देही जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो। 

यसअघि काठमाडौंको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा लामिछाने काठमाडौं जिल्ला अदालतमा ६० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए।

यसैगरी उनी कास्की जिल्ला अदालतमा ६५ लाख धरौटी बुझाएर छुटेका थिए। तीन अदालतमा गरी उनले दुई करोड २५ लाख रुपैयाँ धरौटी बुझाएका छन्।

रविविरुद्ध अझै दुई जिल्लामा अनुसन्धान हुन बाँकी छ। चितवन र पर्सामा पनि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। उनले अब दुई जिल्लामा गएर अदालतमा बयान दिनु पर्नेछ। यसैगरी दुवै जिल्लामा थुनछेक बहस हुनेछ र उनलाई साधारण तारेख, धरौटी वा पुर्पक्ष के हुने भन्ने आदेश हुनेछ।

काठमाडौं जिल्ला अदालतले कास्कीको नजिर पछ्याउँदै धरौटीमा छाड्ने आदेश दिएको थियो भने रुपन्देहीमा पनि उनीसँग धरौटी नै मागिएको छ।

रुपन्देहीको धरौटी रकम काठमाडौंको भन्दा ४० लाख र कास्कीको भन्दा ३५ लाख बढी छ।

प्रकाशित: Jan 26, 2025| 20:20 आइतबार, माघ १३, २०८१
प्रतिक्रिया दिनुहोस्