बुधबार, साउन २७, २०८३

व्यापारीले बढी मूल्य दिएपछि किसानले खाद्यलाई बेचेनन् धान

 |  आइतबार, माघ १३, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, माघ १३, २०८१

झापा- यस वर्ष झापाका धान उत्पादक किसानले सरकारले तोकेको न्यूनतम समर्थन मूल्यभन्दा बढी मूल्यमा धान बिक्री गरेका छन्। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय विर्तामोडले किसानको धान खरिद गर्न गत मङ्सिरमा न्यूनतम समर्थन मूल्य तोकेको थियो।

'यस वर्ष ५० हजार क्विन्टल धान किसानबाट खरिद गर्ने तयारी थियो, किसानले धान बिक्री नै गरेनन्', कार्यालय प्रमुख चुलमाया लोवाले भनिन्, 'किसानले सरकारले तोकेकोभन्दा बढी मूल्य बजारमै पाएपछि उतै बिक्री गरे, किसानलाई फाइदा नै भयो।'

कम्पनीले गत मङ्सिरमा धानको समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार ५ सय ८० दशमलव ६२ रूपैयाँ तोकेको थियो, जुन तत्कालीन बजार मूल्यभन्दा बढी रहेको प्रमुख लोवाले बताइन्।

सरकारले धानको न्यूनतम समर्थन मूल्य तोक्दा यसवर्ष रञ्जित मन्सुली धान प्रतिक्विन्टल चार हजार रूपैयाँसम्ममा बिक्री गरेको अर्जुनधारा नगरपालिका-४ का किसान पहलमान खड्काले बताए। गत वर्ष तीन हजारदेखि तीन हजार २ सय रूपैयाँसम्म बिक्री गरेका खड्काले आर्थिकरुपमा राहत पाएकामा खुसी व्यक्त गरे।

बाह्रदशी गाउँपालिकाका स्थानीय कृषक एवं व्यापारी मानप्रकाश सङ्ग्रौलाका अनुसार किसानको खेतबाटै धान खरिद बिक्री भइरहेको जानकारी दिए। चार हजारदेखि चार हजार २ सय रूपैयाँ प्रतिक्विन्टलसम्म रञ्जित मन्सुली धान खरिद बिक्री भइरहेको उनले बताए।

खेतबाटै धान बिक्री भएपछि धान उत्पादक किसानलाई निकै फाइदा पुगेको कृषक सङ्ग्रौलाको दाबी छ। कृषि ज्ञान केन्द्र झापाका अनुसार जिल्लामा यसवर्ष तीन लाख ८५ हजार १९६ दशमलव पाँच मेट्रिक टन धान उत्पादन भएको छ। रासस

प्रकाशित: Jan 26, 2025| 18:31 आइतबार, माघ १३, २०८१
प्रतिक्रिया दिनुहोस्