शुक्रबार, पुस ४, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • गेट पोलिटेक्निकले दियो ३१ बहिरा युवालाई निःशुल्क होटल व्यवस्थापन तालिम 

गेट पोलिटेक्निकले दियो ३१ बहिरा युवालाई निःशुल्क होटल व्यवस्थापन तालिम 

 |  आइतबार, पुस ७, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, पुस ७, २०८१

काठमाडौं- विगत १८ वर्षदेखि नेपालमा अन्तर्राष्ट्रिय स्तरको होटल व्यवस्थापन शिक्षा प्रदान गर्दै आएको काठमाडौंको ग्लोबल एकेडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेशन (गेट)को भगिनी संस्था गेट पोलिटेक्निक इन्स्टिच्युटले बहिरा युवाका लागि निःशुल्क होटल व्यवस्थापन तालिम कार्यक्रम सम्पन्न गरेको छ। 

National life

देशका विभिन्न भागबाट आएका ३१ जना सहभागीले बारिस्ता तालिम, हाउस किपिङ, र बेकरी सञ्चालनलगायत होटल व्यवस्थापनका विभिन्न विधामा आवश्यक सीप हासिल गरेका छन्। सन् २०२४ को आरम्भबाट विभिन्न चरणमा आयोजना गरिएको ४५ दिने प्रशिक्षण प्राप्त बहिरा युवाहरूलाई आइतबार काठमाडौंमा दीक्षान्त प्रमाणपत्र प्रदान गरियो।

नेपालमा अपाङ्गता भएका व्यक्तिहरू शिक्षा, रोजगारी, र सीप विकासका क्षेत्रमा प्रणालीगत अवरोधहरूको सामना गरिरहेका समस्यालाई सम्बोधन गर्न गेट पोलिटेक्निक इन्स्टिच्युटले होटल व्यवस्थापन उद्योगमा आवश्यक सीप प्रदान गर्दै सहभागीहरूलाई सशक्त बनाउन यो तालिम कार्यक्रम सुरु गरेको हो।

“यो हाम्रो लागि पहिलो र चुनौतीपूर्ण अनुभव थियो,” गेट पोलिटेक्निक इन्स्टिच्युटका महाप्रबन्धक विवेक पौडेलले भने, “सुरुमा हामीसँग दोभाषे थिएनन्, न हामी सांकेतिक भाषाबारे जानकार थियौं। तर, हाम्रो टोलीले विस्तारै सांकेतिक भाषालाई सिक्यो, जसले तालिमलाई प्रभावकारी मात्र होइन, भावनात्मक रूपमा पनि सुदृढ बनायो।” उनका अनुसार तालिम कार्यक्रम २०२४ को सुरुवातमा युनिसेफको सहकार्यमा ६ जना बहिरा युवालाई प्रशिक्षण दिन सुरु गरिएको थियो।  यसले पाएको सफलतासँगै कार्यक्रम विस्तार गरी वर्षको अन्त्यसम्म ३१ जनालाई निःशुल्क तालिम प्रदान गरिएको पौडेलले बताए।

यस प्रयासमा विभिन्न संघ–संस्था र व्यक्तिहरूले हातेमालो गरेका थिए। मास्टरशेफ सन्तोष शाहले स्विजरल्याण्डमा च्यारिटी डिनर आयोजना गरेर आर्थिक सहयोग जुटाएका थिए। “यो केवल सीप प्रदान गर्ने कुरा होइन, यो समावेशितालाई प्रवद्र्धन गर्ने सवाल पनि हो,” मास्टरशेफ शाहले भने “सही मागदर्शन र अवसर पाएमा अपाङ्गता भएका व्यक्तिहरूले समाजलाई उल्लेखनीय योगदान दिन सक्छन्। यो केवल सुरुवात हो; हाम्रो प्रयासलाई अझ सशक्त बनाउनुपर्ने आवश्यकता छ।”

Laxmi sunrise bank
kumari

सहभागी गंगा थापाका लागि यो तालिम जीवन बदल्ने अनुभव भएको छ। उनले गेट पोलिटेक्निक इन्स्टिच्युटमा बारिस्ता र हाउस किपिङ तालिम पूरा गरेपछि काठमाडौंको हिल्टन होटलमा रोजगारी पाएकी छन्। यसैगरी, अर्का सहभागी अनिल कुमार हमालले तालिमपछि सोही होटलमा रोजगारी पाए। उनले भने, “भाषाका कारण सञ्चार आदानप्रदानमा अझै केही कठिनाइ छ, तर मैले पाएको सीपले नयाँ ढोका खोलिदिएको छ।”

गेट कलेज समूहका संस्थापक तथा प्रमुख कार्यकारी खेम लकाईले यस कार्यक्रमको पछाडिको फराकिलो उद्देश्यलाई जोड दिए। “हामीले १८ वर्षअघि नेपालमा आतिथ्य शिक्षामा अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको शैक्षिक प्रतिष्ठान स्थापना गर्ने लक्ष्य राखेका थियौं। आज, हाम्रो दृष्टिकोणलाई समावेशी बनाउँदै, यस्तो सीप विकास अभियानलाई अगाडि बढाउँदैछौं,  यो दीर्घकालीन प्रतिबद्धताको सुरुवात हो।”

गेट कलेज समूहका संस्थापक लकाईले अपाङ्गता भएका व्यक्तिहरू लगायत सीमान्तकृत समूहहरूको सशक्तिकरणप्रति संस्थाको लामो समयदेखिको प्रतिबद्धता दोहोर्‍याए। यो अभियानमा राष्ट्रिय बहिरा महासंघ, गण्डकी बहिरा संघ लगायत विभिन्न सरोकारवाला निकायको प्रत्यक्ष सहभागिता थियो।

महासंघका अध्यक्षले भने, “अपाङ्गता भएका व्यक्तिहरू केही गर्न सक्दैनन् भन्ने सोचाइलाई यस प्रकारका कार्यक्रमहरूले चुनौती दिएको छ। यसले समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्छ।” कार्यक्रममा, काठमाडौं विश्वविद्यालयका प्राध्यापक डा. काशीराज पाण्डे “नेपालले समावेशिता र सशक्तीकरणलाई प्राथमिकतामा राख्दा के सम्भव छ भन्ने उदाहरण प्रस्तुत गरेको छ ” डा. पाण्डेले समापन समारोहमा भने।

अपाङ्गता अधिकारकर्मी गजेन्द्र बुढाथोकीले नेपालमा अपाङ्गता भएका व्यक्तिको शिक्षा, स्वास्थ्य र रोजगारीमा पहुँचको अभाव औंल्याउँदै गेट कलेजले समावेशी रोजगारी प्रवद्र्धनमा चालेको योगदानको सह्राहना गरे। 

प्रकाशित: Dec 22, 2024| 19:18 आइतबार, पुस ७, २०८१
प्रतिक्रिया दिनुहोस्