शुक्रबार, साउन २९, २०८३

महिला यु-१९ एसिया कपको सुपर फोरमा पुग्यो नेपाल

 |  मंगलबार, पुस २, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २, २०८१

काठमाडौं- मलेसियामा जारी महिला यु–१९ एसिया कपमा नेपाल र भारतबीचको आजको खेल वर्षाका कारण रद्द भएको छ। खेल रद्द भएसँगै दुवै देशले एक एक अङ्क बाँडेका छन्। 

दुवैको तीन तीन अङ्क भए पनि रनरेटका आधारमा भारत समूह ‘ए’ को विजेता तथा नेपाल उपविजेता बनेको छ। दुवै देश ‘सुपर फोर’मा प्रवेश गरेका छन्। यही समूहमा रहेको पाकिस्तान दुवै खेलमा पराजित हुँदै पहिलो चरणबाटै बाहिरिएको छ। ‘सुपर फोर’मा नेपालले अब बिहीबार श्रीलङ्कासँग तथा शुक्रबार बङ्गलादेशसित खेल्ने छ। 

मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ९४ रन बनायो। जितका लागि ९५ रनको लक्ष्य पछ्याउने क्रममा भारतले तीन दशमलव एक ओभरमा बिनाकुनै विकेट २८ रन बनाउँदा वर्षाका कारण खेल रद्द भएको थियो। 

यसअघि नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक २५ रन बनाइन्। उनले ४० बल खेल्ने क्रममा तीन चौका प्रहार गरिन्। यस्तै, एलिशाकुमारी यादवले अविजित २० रन बनाइन्। साना प्रवीनले नौ, सोनी पाख्रिनले आठ, ज्योत्स्निका मरासिनीले ६, सावित्री धामी र रचनाकुमारी चौधरीले तीन-तीन तथा अनु कडायत र कुसुम गोदारले एक÷एक रनको योगदान दिए। 

बलिङतर्फ भारतकी पारुनिका सिसोदियाले सर्वाधिक ४ विकेट लिइन्। यस्तै, आनन्दिता किशोर र मिथिला विनोदले समान एक-एक विकेट लिए। यसअघि नेपालले पहिलो खेलमा सोमबार पाकिस्तानलाई ६ विकेटले पराजित गरेको थियो। 

प्रकाशित: Dec 17, 2024| 17:56 मंगलबार, पुस २, २०८१
प्रतिक्रिया दिनुहोस्