मंगलबार, मंसिर २, २०८२

सन्दर्भ: अपांगता भएका व्यक्तिहरूको ३३औं अन्तर्राष्ट्रिय दिवस

अपांगता अब सामाजिक मुद्दा

कुनै दिवस मनाउने कुरा दिवसमा मात्र सीमित हुनुहुन्न। यसभन्दा अगाडि उठान गरिएका अपांगताका सवालको व्यवस्थापन सम्बोधनको अवस्था कस्तो छ, त्यसमा समीक्षा हुनु जरुरी छ।
 |  मंगलबार, मंसिर १८, २०८१

कविता शर्मा

कविता शर्मा

मंगलबार, मंसिर १८, २०८१

सन्तानको सुख हरेक बाआमाको सपना हो। आफ्ना सन्तानको प्रगति हरेक बाआमाको चाहाना हो। सन्तान सर्वश्रेष्ठ होस् र समाजले उसैको नाम लिएर चर्चा गरुन् जो कोही बाआमाको चाहना हुन्छ। सायद यो मानवीय स्वाभाव हो र सायद असमान्य पनि होइन। यस्तै इच्छा, चाहाना र अपेक्षाबिना को सन्तुष्ट रहन सक्ला र ?

National life

चाहना, अपेक्षा स्वाभाविक होलान् तर अवस्था आफू अनुकूलताका हुन्नन्। यिनै प्रतिकूलताका बीच आफ्ना सन्तानको सुखद् भविष्य खोज्ने अभिभावक हुन् अपांगता भएका सन्तानका अभिभावक।

अपांगता भएका सन्तानका अभिभावकले सन्तानप्रतिको दायित्व त निभाउनु छ नै, सन्तानको अपांगताप्रतिको समाजको गलत दृष्टिकोणको भारी पनि बोक्नुपर्छ। साँच्चै समाजले अपांगतालाई कसरी हेर्छ होला? के अपांगता भएका व्यक्ति बिचरा र उनीहरूका अभिभावक निरिह नै हुन् ? अथवा समाजले बिचरा र निरिहको दृष्टिकोण किन बोकेको हो ? अपांगताको अवस्थाअनुसार अग्राधिकार त कता हो कता अन्य नागरिकले पाउने सरह सेवासुविधा पाउनका लागि सधैं हारगुहार गर्नुपर्ने बाध्यता समाजमा कायमै छ।

अपांगता हुनु कुनै पूर्वजन्मको पाप होइन नत कुनै रोग हो, यो त केवल अवस्था हो। तर यही कुरा समाजले किन बुझ्न नसकेको होला कि बुझ्न नचाहेको या बुझ पचाएको होला? यति सामान्य विवेक लगाउन हिच्किचाउने समाजको विकासको गति कति कमजोर होला? कुनै व्यक्ति अपांगता हुनुमा त्यो व्यक्ति बालबालिकाको दोष होइन। कुनै पनि साङ्‍ग व्यक्ति जुनसुकै बेला जुनसुकै कारणले अपांगता हुन सक्छ। तपाईं हामी जोसुकै जति बेला पनि अपा‌गता हुन सक्छौं।

हो यही सामान्य सत्यलाई बुझ्न सके, समाजको मानसिकता बदलिन सक्छ तर गतल प्रवृत्ति सहितको दृष्टिदोष भएको समाजले मानसिकता परिवर्तन गर्न सकेको छैन।

Laxmi sunrise bank
kumari

केही समय अगाडि म कुनै व्यक्तिसँग गफिँदै थिएँ, बाबुले स्कुलबाट आएर मम्मी जुत्ता किन्न जाउँ भन्यो। मैले ‘पख ल एकछिन’ मात्रै भनेको थिएँ, मसँगै रहेका ती व्यक्तिले थपे, ‘जुत्ता किन्न किन बाहिर जानुपर्‍यो, यतै पाइन्छ नि।’ मैले उसले लगाउने जुत्ताको ब्राण्ड बताएँ तर उनको अनपेक्षित जवाफ आयो, ‘हिँड्नै नसक्नेलाई किन ब्राण्डेड जुत्ता चाहियो ?’ बाबु नजिकै थियो, मलाई थोरै नरमाइलो र रिस पनि उठ्यो। ‘मैले किन्ने हो तपाईंले लगानी गर्ने होइन डन्ट वरी,’ मैले जवाफ फर्काएँ, उनीअनुत्तरित भएर बाहिरिए।

यो त केवल एक उदाहरणमात्र हो। यी र यस्ता शब्द हामीले दैनिक सुन्दै आएका छौं। बेलाबेला कपडा होस् या अध्ययन गराउने विद्यालय सबैको बारेमा किन यस्तो राम्रोमा राखेको ? किन यस्तो किनेको ? किन यो आवश्यक ? यस्ता नमागिएका सल्लाह दिनेको कमी छैन यहाँ। आफूलाई पढेलेखेका र बौद्धिक वर्ग भन्न रुचाउनेले अपांगता भएका व्यक्तिलाई गर्ने व्यवहार यति तुच्छ, अव्यवहारिक र हिन छ कि त्यसको व्याख्या शब्दमा गरिसक्नु छैन।

यो समाजमा बच्चा अपांगता भएका कारणले आमाले मानसिक तनाव पाउनेको संख्या पनि धेरै छ। बच्चा अपांगता भएका कारण कतिपय अवस्थामा बच्चाको पिताले पनि समस्या नभोगेका होइनन्। यो समाजमा अहिले पनि बच्चा अपांगता भएको कारणले सन्तानको जिम्मेवारीबाट भाग्न सम्पर्कमा नआउने र सम्बन्ध विच्छेद गरेर बस्ने बाबु पनि समाजमै छन्।

बच्चामा कुनै समस्या भयो भने त पारिवारिक सल्लाहमा बच्चाको बारेमा चिन्ता गर्ने,चासो लिने र भविश्यको बारेमा सोच्ने हो। सबै मिलेर बच्चालाई राम्रो वातावरण दिने हो तर समाज त के परिवारले समेत पनि अपांगताको अवस्थालाई स्वीकार्न सकेको छैन। अपांगता भएका व्यक्ति तथा बालबालिकालाई समाज परिवारले अपांगतामैत्री वातावरण बनाउन सकिरहेको छैन। हामी हरेक व्यक्तिको स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकार त छ तर अपांगता भएका व्यक्तिले सहजताका साथ म अपांगता भएको व्यक्ति हुँ भनेर गर्व गर्ने वातावरण छैन।

अहिले धेरै परिवारमा अपांगता भएका व्यक्ति तथा बालबालिका हुनुहुन्छ तर त्यो परिवारले खुलेर बाहिर ल्याउन सकेको अवस्था देखिँदैन। म पनि अपांगता भएको बच्चाकी आमा हुँ, मेरो बच्चाको लागि गरेको प्रयास न म कसैलाई देखाउन सक्छु नत कसैसँग व्यक्त गर्न नै सक्छु । म एउटा आमाको हिसाबले हेर्दा मैलेजति उसको लागि अपांगतामैत्री वातावरण दिनुपर्ने हो दिन सकें या सकिन भन्ने कुराले घोत्ल्याउँछ।

पछिल्लो अपांगताको आँकडा हेर्दा राष्ट्रिय जनगणना २०७८ अनुसार कुल जनसंख्या २,९१,६४,५७८ मा अपांगता भएकाको संख्या ६,४७,७४४ रहेको छ, जुन कुल जनसंख्याको २ दशमलव २ प्रतिशत हो। यसमा विभिन्न खाले अपांगता रहेको छ। यो जनगणनामा सही सूचना आयो, आएन गणकले अपांगता पहिचान गरे, गरेनन्, त्यो पनि खोजीको विषय होला। तर अपांगताप्रतिको सामाजिक दृष्टिकोण, अपांगतामैत्री संरचना, विद्यालय लगायतका सार्वजनिक क्षेत्रमा गरिने व्यवहार, अपांगता भएका व्यक्तिको सम्वोधनमा गरिने शब्द चयन, भएका कानुनको व्यवहारिक प्रयोग र कानुनका जटिलता चिर्दै आवश्यक कानुनको निर्माणमा कुनै न कुनै रूपमा सम्बन्धित पक्ष अझै पनि गुमराहमा छ।

भएका कानुन र सुविधामा पनि अपांगता भएका व्यक्तिको सहज पहुँच छ कि छैन भन्ने कुरामा ध्यान गएको पाइन्न। अपांगता भएका व्यक्ति जोकोही आफ्नो अधिकार मागेर वा खोसेर ल्याउन सक्दैनन्। त्यसमा पनि धेरै अपांगता भएका व्यक्ति आफैंलाई आधिकारप्रति सचेतना छैन, मैले पाउनुपर्छ र माग्नुपर्छ भन्ने अवस्था छैन। यसको लागि उनीहरूका अभिभावक र अधिकारकर्मीले गर्ने सहजीकरण नै उपयुक्त माध्यम हो।

त्यसमाथि पनि हरेक समस्यालाई जसले भोग्यो त्यसले मात्रै चेत्ने अवस्था आउनु दुःखद् हो। परिस्थिति जोकोहीको वशमा हुँदैन आजको साङ्‍ग भोलि कुनै परिस्थितिले अपांगता हुन सक्छ, यसैले पनि यसलाई अवस्था मानिएको हो।

आज डिसेम्बर ३ । अपांगता भएका व्यक्तिहरूको ३३औं अन्तराष्ट्रिय दिवस। ‘अपांगता भएका व्यक्तिहरूको नेतृत्वलाई समावेशी र दिगो भविष्यको लागि प्रवर्द्धन’ अन्तर्राष्ट्रिय नारा रहेको यस दिवसमा नेपालले ‘समावेशिता तथा दिगो भविष्यको पूर्वाधार, अपांगता भएका व्यक्तिहरूको प्रवल नेतृत्वको यसको आधार’ नारा तय भएको छ।

कुनै दिवस मनाउने कुरा दिवसमा मात्र सीमित हुनुहुन्न। यसभन्दा अगाडि उठान गरिएका अपांगताका सवालको व्यवस्थापन सम्बोधनको अवस्था कस्तो छ, त्यसमा समीक्षा हुनु जरुरी छ। त्यसभन्दा बढी यसलाई सामाजिक मुद्दा बनाएर सामूहिक जिम्मेवारी ग्रहणमा अग्रसर हुन आवश्यक छ।

(पत्रकारिता र प्राध्यापनमा सक्रिय शर्माले अपांगता अधिकारमा कलम चलाउँदै आएकी छिन्।)

प्रकाशित: Dec 03, 2024| 12:54 मंगलबार, मंसिर १८, २०८१
प्रतिक्रिया दिनुहोस्

थप समाचार

बिरानो बन्यो मेची पारिको नेपाल

बिरामी पर्दा उपचारका लागि मात्र होइन, कक्षा तीनदेखि माथिल्लो तहको शिक्षाका लागि बालबालिका समेत भारत नै धाउनुपर्ने यहाँको बाध्यता छ।

बालबालिकालाई नेपालको महिमा पढाउनुपर्छ

आधुनिक प्रविधिको प्रभाव, प्रवासी जीवनशैलीको आकर्षण र सामाजिक सञ्जालको प्रभावले आजका बालबालिकाको ध्यान आफ्नो देश र संस्कृतिप्रति कमजोर बनाउँदैछ। यस्तो परिस्थितिमा नेपालको गौरव, मौलिकता र...

सडकको चर्को आवाज, संवादको मौनता

शिक्षकदेखि राजनीतिक दलसम्मको आन्दोलन यात्रा-आर्थिक क्षति, सामाजिक तनाव र शैक्षिक अवरोधको आत्मस्वीकृति, अब विश्वका सफल उदाहरणबाट सिक्दै संवादलाई संस्थागत गर्ने समय आएको छ।

अटिजम रोग होइन, लुकाउनु हुँदैन

यसलाई 'न्यूरो डेभलपमेन्ट डिसअर्डर' पनि भनिन्छ। अटिजम भएका बालबालिकाको शारीरिक अवस्था सामान्य देखिए पनि सामाजिक तथा सञ्चारसम्बन्धी सीप सिकाइको क्षमता कम हुन्छ। जसले गर्दा उनीहरु...