पोखरेल थरका एक स्वास्थ्यकर्मीले भने, 'तोरीको तेलले मालिस गरे एलर्जी हुन्छ रे।' केही बालबालिकालाई तेल लगाउँदा डाबर आएर तोरीको तेलको सट्टा नरिवलको तेलको प्रयोग गरेको थाहा छ तर तोरीको तेलले सबैलाई एलर्जी गर्दैन है। हरेक महिना म शरीरभरि तोरीको तेलले मालिस गर्छु। जाडोको बेलामा सुत्नुभन्दा अघि खुट्टाको पैंतालामा तेल लगाउँछु, जाडोको बेलामा सुतीको मोजा लगाएर सुत्छु।
कपाल नुहाउनु भन्दा दुई घण्टाअघि तेल, दही, कागती मिसाएर कपालमा लगाएर दुई घण्टापछि नुहाउँछु। यो सबै गर्दा मलाई धेरै पैसा लाग्दैन, अनेकन थरीका बाहिरबाट ल्याएका महँगा क्रिमले जीउ र खुट्टा मल्नु पर्दैन। कपालमा चाया पर्यो भनेर अनेक थरीका महँगा स्याम्पो पनि प्रयोग गर्नु पर्दैन।
हो, मेरो कपाल टिभीमा देखाए जस्तो सलल परेको छैन तर स्वस्थ छ। म त्यसैमा सन्तुष्ट छु। सबैभन्दा महत्वपूर्ण कुरा तोरीको तेल लगाउँदा मेरो शरीर स्वस्थ छ, त्यसले गर्दा मनमा पनि फुर्ती छ। यसको अर्थ मेरो खर्च पनि केही बचेको छ। मसाजले गर्दा शरीरमा आनन्द भएपछि निद्रा पनि राम्रो लाग्छ। यसले गर्दा रोगसँग लड्ने शक्ति पनि बढाउँछ।
निद्रा लागेपछि जीउको आलश्य पनि कम हुन्छ, मज्जासँग भोक लाग्छ। अर्थात् रोगसँग लड्ने शक्ति मिल्छ। केहीअघि मैले बालबालिकालाई ‘पाउडर होइन, तेलले मालिस गर्नुपर्छ’ भन्ने एक लेख लेखेपछि धेरै जनाको धेरै विचार आयो। ‘तोरीको तेलले बच्चालाई एलर्जी गर्छ’ भनेर स्वास्थ्यकर्मीले तोरीको तेल नलगाउनु भनेको’ एक व्यक्तिले मलाई सुनाए।
मैले भनें ‘हो , शायद कसै कसैलाई एलर्जी गर्न सक्छ। त्यो बेलामा प्रयोग नगर्ने। नत्र तोरी, नरिवल, तिलको तेलले मसाज गरे हुन्छ। तर तेलमात्र लगाएर मालिसचाहिँ नगर्ने। अनि सफा नगरेर गुम्स्याएर राख्ने, चिसो लाग्छ भनेर तेलको लेप मात्र थपिदिने, तालु पुर्नलाई भनेर तालुमा तेल लगाएर टोपीले गुम्स्याउने, चिसो लाग्छ भनेर कोठाभित्र कोइलामा तेल तताएर बच्चा तताउने जस्ता चलनले चाहिँ बेफाइदा गर्छन्।’
तेल लगाउँदैमा तेलको गन्ध आउँदैन तर सफा नगरे चाहिँ गन्हाउँछ। गाउँघरमा सुत्केरी र नवजात शिशुले तेल लगाएर सफा नभएकोले कोठा नै गन्हाउँछ। किनभने सुत्केरीलाई चिसो लाग्छ भनेर झ्यालढोका थुनेर राखिन्छ। यसले गर्दा सास सम्बन्धी र छालाको संक्रमणको खतरा बढ्ने भएकोले शायद केही स्वास्थ्यकर्मीले तेल लगाउन प्रोत्साहन नगरेको हुन सक्छ।
त्यसैगरी तालुमा तेल पटकपटक लगाउने, गुम्स्याउने गर्दा बच्चाको टाउकोमा ढुसी पर्छ। त्यो ढुसी भएपछि संक्रमण हुन्छ। गाउँघरमा सबैजनालाई बुझाउनुपर्छ कि ‘तेलको लेपले तालु पुरिने नि हैन तालु केही समयपछि आफैं पुरिन्छ।’
टाउकोमा विस्तारै तेलको लेप गर्ने मालिस गर्ने हो, तेलको लेप लगाएर छोड्ने हैन। त्यसमाथि पनि बन्द कोठामा कोइला, आगो बालेर तेल थोपर्दा त संक्रमण र निमोनिया हुने जोखिम झन् बढ्न सक्छ। खुला हावामा, घाम लागेको बेलामा शिशुलाई तेल मालिस सकिएपछि बच्चालाई नुहाउने वा मनतातो पानीमा लुगा हल्का भिजाएर पुछिदिनुपर्छ। नत्र तेल गन्हाउँछ अनि लुगामा पनि लाग्छ र त्यो लुगा धुँदा पनि तेलको गन्ध रहिरहन्छ।
टाउकोमा तेलको लेप लगाएर टोपीले छोप्ने गर्नुहुन्न। विदेशमा चाहिँ अनेक थरीका क्रिमले बच्चालाई मसाज गर्न प्रेरित हुने हामी नेपाली आफ्नो हजारौं वर्षको परम्परागत ज्ञान ‘तोरी, तिल, बदाम आदिको तेलले मसाज गर्नुपर्छ’ भन्दा ‘तोरीको तेल ठीक हुन्न’ किन भनेको बुझिनसक्नु छ।
म त हजुरआमाले लगाएको तोरीको तेलमै हुर्कें, अहिलेसम्म म तेल लगाउँछु। मेरी छोरीहरूलाई पनि लगाएँ। तर यसो गर्दा आमाबच्चा दुवैलाई नियमित सफा गर्नु भने जरूरी छ। तेल मालिस गरेपछि यदि नुहाउन सकिएन भने सफा बाक्लो कपडा भिजाएर त्यसले पुछे पनि हुन्छ। पछि सुत्केरी तंग्रिएपछि तातोपानीले नुहाए हुन्छ। यसले मन र शरीरमा ताजापन ल्याउँछ।
सयौं वर्षौंदेखि चलेको हाम्रा राम्रा चलन छन् तर तिनका फाइदा, वैज्ञानिक कारण बुझेर सही तरिकाले प्रयोग गर्दै अघि बढ्दा हुन्छ। तोरीको तेल लगाएपछि अलि सफाइ गर्नुपर्छ। तोरी, निम, तितेपाती तेल आदिको प्रयोग हाम्रो समाजमा हजारौं वर्षदेखि हुँदै आए पनि अहिले त्यो चलन हराउँदै गएकोले फेरि पुनर्जागरण गरी बहस चलाउने कि?
यस्ता वनस्पतिहरूलाई स्याहार गरेर प्रयोग गर्नुको अर्थ स्वास्थ्य राम्रो पार्नु हो। पैसा बचाउनु हो र वातावरण पनि स्वस्थ पार्नु हो। त्यस्तो ज्ञान किन अंगीकार नगर्ने त ?