काठमाडौं- राजधानीबाट प्रकाशित बुधबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयलार्य प्राथमिकतमामा पारेका छन् ।
आजको नयाँ पत्रिकाले वाइडबडी जहाजमा भएको घोटला प्रकरणमा संलग्न बहालबाला मन्त्रीदेखि पूर्वमन्त्रीसम्मलाई कारबाहीका सिफारिस गरेको विषयलाई मुख्य समाचार बनाएको छ । वाइडबडी खरिदमा भएको अनियमितताको मुख्य दोषी भने नेपाल वायुसेवा निगमका महाप्रवन्धक सुगतरत्न कंसाकार भएको छानविन उपसमितिको ठहर छ ।
उपसमितिले बहालबाला मन्त्री रवीन्द्र अधिकारीलाई संसदीय समितिमा गलत जानकारी दिएको भन्दै कारबाहीका लागि सिफारिस गरेको छ । कानुनविपरीत बैना भुक्तानी गर्न दिएकोमा तत्कालीन मन्त्री जितेन्द्रनारायण देवलाई कारबाही गर्न छानविन समितिले निर्देशन दिएको छ ।
यस्तै अर्का पूर्व पर्यटनमन्त्री जीवनबहादुर शाहीलाई पनि कारबाहीका लागि सिफारिस गरिएको छ। सार्वजनिक खरिद ऐन विपरीत अनियमित तरिकाले विमान खरिद प्रक्रिया अघि बढ्दा पनि मन्त्रीका हैसियतले सर्तकता नअपनाएको भन्दै कारबाहीको सिफारिस गरिएको नयाँ पत्रिकाले लेखेको छ ।
यो विषय बाहेक नयाँ पत्रिकाले प्रधानन्यायाधीशमा चोलेन्द्रशम्शेर राणा सर्वसम्मत रुपमा संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको विषयलाई पनि प्राथमिकतामा पारेको छ। आजको नागरिक दैनिकले पनि यसै विषयलाई मुख्य समाचार बनाएको छ । उसले प्रधानन्यायाधीशमा जबरा स्वीकृतः तलमाथि गरे महाभियोग शीर्षकमा खबर छापेको छ ।
यस्तै नागरिकले शिक्षामन्त्री गिरिराजमणी पोखरेलले आर्थिक चलखेलका आधारमा पाँच सय निजी कलेजलाई सम्बन्धन दिएको खुलासा गरेको छ। शिक्षामन्त्री पोखरेलकै दबाबमा झन्डै पाँच सय कलेजलाई सम्बन्धन दिइसकिएको छ । उनकै दबाबमा सिटिइभिटीबाट एक हजार निजी कलेजलाई सम्बन्धन दिने तयारी छ । सम्बन्ध लेनदेनमा ठूलो आर्थिक चलखेल हुने गरेको समाचारमा उल्लेख छ ।
आजको कान्तिपुर दैनिकले भने विभिन्न समितिका सभापति, सांसदहरुले स्वकीय सचिवै नराखी तलव बुझ्ने गरेको खुलासा गरेको छ । सांसद÷पदाधिकारीका निजी सचिवालका जनशक्तिको तलबमा राज्यको मासिक १ करोड १७ लाख खर्च हुने गरेको छ । ताकी अधिकांश सांसद र पदाधिकारीले स्वकीय सचिव नै राखेका छैनन् ।
यस्तै कान्तिपुरले प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले बिदाइको दिन पनिचलखेल गर्न खोजेको विषयलाई प्राथमिकताका साथ छापेको छ । प्रधानन्यायाधीश मिश्रले रुचीका मुद्दालाई इजलास तोक्न थालेपछि सरकारी वकिलले स्थगनको निवेदन हालेका थिए ।
आजको अन्नपूर्ण पोस्ट्ले भने नेपालीले घुमेरै सके ३५ अर्ब शीर्षकमा मुख्य समाचार छापेको छ । वितेको चार महिनामा विदेश घुमेर मात्रै नेपालीले ३४ अर्ब ९१ करोड खर्च गरेको समाचारमा उल्लेख छ । यस्तै अन्नपूर्णले एपीजीमा थप छलफल खोज्दै भारत शीर्षकको खबरलाई पनि प्राथमिकताका साथ छापेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४