मंगलबार, जेठ १९, २०८३

खेर जाने छाला पनि पाइँदैन मादल बनाउन

 |  शुक्रबार, कात्तिक ३०, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक ३०, २०८१

तनहुँ- तनहुँको शुक्लागण्डकी नगरपालिका-४ दुलेगौडा बजारमा माइला मादल पसलका सञ्चालक दिलबहादुर सार्की मादलमा खरी हाल्दै थिए। मादल बनाउने उनको दैनिकी नै हो। ६१ वर्षीय सार्कीले बाबुबाट सीप सिकेर यो पेसा सुरु गरेका हुन्। बच्चादेखि नै बुबालाई सघाउँदै जाँदा उनले मादल बनाउन सिकेका हुन्। 

National life

पुर्ख्यौली पेसालाई निरन्तरता दिन आफूले यो पेसालाई अवलम्बन गरेको सार्कीले बताए। तर केही समययता मादल बनाउन छाला नपाउँदा उनलाई समस्या हुन थालेको छ।

'बाबुकै कारणले म यो पेसामा पनि छु, मसँगै सीप सिकेर छोराले खैरेनीटारमा मादल पसल खोलेको छ', उनले भने, 'अहिले छाला नपाउँदा मादल बनाउन समस्या हुन थालेको छ।'

नारायणगढ, कावासोती, पुट्टारलगायत ठाउँमा पुगेर छाला खोजेर ल्याउनुपर्ने बाध्यता रहेको उनले बताए। शुक्लागण्डकी नगरपालिका-९ मा गौ संरक्षण केन्द्रमा मरेका गाइका छाला त्यत्तिकै फालिएका अवस्थामा रहेको र पैसा तिरेर छाला खरिद गर्न पाए सहज हुने उनले बताए। 

उनले भने, 'स्थानीयस्तरमा छाला फालिएको छ। नगरपालिकासँग आग्रह गरेको छु। निश्चित शुल्क तिरेर यही छाला किन्न पाए सजिलो हुन्थ्यो।' उनले मादलसँगै सारङ्गी, खैजडी, झ्याली, दमाहा, ढोलकी, टेम्पोलगायत बाद्यवादनका सामग्री बनाउँदै आएका छन्। त्यसका अलवा आरन पेसालाई पनि सँगसँगै अगाडि बढाएको उनको भनाइ छ। 

Shivam cement

उनले भने, 'म यो पेसाबाट सन्तुष्ट नै छु। तर विगतका वर्षजस्तो व्यापार छैन, निर्वाह भने चलेकै छ।' पछिल्लो समय आधुनिक वाद्यवादनका सामग्री प्रयोग बढी हुँदा मादल बिक्री कम हुन थालेको उनको भनाइ छ। यही पेसाबाटै घरखर्च चलिरहेको बताउँदै सार्कीले भने, 'अहिलेसम्म चलेको यही पेसाबाटै हो। यसमा सन्तुष्ट नहुनुपर्ने कारण छैन।' रासस

प्रकाशित: Nov 15, 2024| 20:01 शुक्रबार, कात्तिक ३०, २०८१
प्रतिक्रिया दिनुहोस्