काठमाडौं - राष्ट्रियसभा सदस्य एवम् गायिका कोमल वलीले आफ्नो स्वयम्बर २०१९ भित्रै हुने बताएकी छन्। मंगलबार रिपोर्टर्स क्लब नेपालमा गुरु मञ्जरी गु्रपद्वारा सञ्चालित ‘माइस्वयम्बर डटकम’ उद्घाट्न गर्दै वलीले उक्त कुरा बताएकी हुन्।
‘स्वयम्बरको खोजीमा रहेकी मान्छेले नै माइस्वयम्बर डटकमको उद्घाटन गर्न पाएँ’, उनले भनिन्, ‘यही वर्षभित्र मेरो स्वयम्बर भेटिन्छ कि क्या हो?’ वलीले यस्तो भनिरहँदा कार्यक्रममा सहभागीले ताली बजाएका थिए।
वलीले हिन्दू धर्म वैज्ञानिक रहेको बताइन्। ‘हाम्रो हिन्दू धर्म विज्ञानभन्दा पनि अगाडि छ। हाम्रो संस्कृति, हिन्दूधर्म विज्ञानमा आधारित छ, हामी नेपाली हिन्दू महिला मंगलबार व्रत बस्छौं। हिन्दू परम्पराले शरीर स्वस्थ र मजबुत बनाउँछ भन्ने छ’, उनले भनिन्, ‘हालै नोबेल पुरस्कार विजेताहरुले गरेको व्यापक अनुसन्धानले १५/१५ दिनमा एकचोटि भोको बस्दा शरीरलाई फाइदा हुने विश्वलाई जानकारी दिए। तर, हाम्रो देशमा त यो प्रक्रिया धेरै लामो समयदेखि चल्दै आएको छ।’
उनले आफ्नो संस्कार बचाइराख्न सबैले प्रयास थाल्नुपर्ने बताइन्। ‘हिन्दू धर्मको मान्यताअनुसार जोडिएका सम्बन्धहरु सहजै टुट्न गाह्रो हुन्छ, यज्ञ र मण्डपमा अग्निसामु हिन्दू कर्मकाण्डबाट विवाह गरिन्छ’, उनले भनिन्।
वलीले नेपाली हिन्दूहरु उदार भएकाले विश्वका संस्कृतिलाई सहजै स्वीकार गर्न सकेको बताइन्। ‘हामी नेपाली उदार छौं, हाम्रो मन विशाल छ, त्यसैले क्रिसमसमा रमाउँछौं, दसैं मनाउँछौं, आज अंग्रेजी नयाँ वर्ष हो, विश्वसँग नेपाली जोडिएका छन् भन्ने सन्देश त हो’, उनले भनिन्, ‘तर, हाम्रो नयाँ वर्षलाई कसले मान्छ र? अरु कसैले त मान्दैन । अर्जेन्टिनाका खेलाडी लियोनल मेस्सीले दसैंको शुभकामना दिनु सकारात्मक छ।’
माइस्वयम्बर डटकमका नेपाल संयोजक मुकुन्द शर्माले नेपाली संस्कृति र पहिचान विश्वकै उत्कृष्ट तथा वैज्ञानिक भएको बताएका थिए।
उनले वैदिक परम्परा जगेर्ना गर्नुका साथै जीवनयापनका क्रममा आइपर्ने धार्मिक अनुष्ठान सहज र सरल बनाउने, सुखमय दाम्पत्य जीवनलाई सहज बनाउने, ज्योतिषी परामर्श दिने, वास्तु परामर्श तथा विभिन्न धार्मिक कर्मकाण्ड गर्न सहयोग पुर्याउने उद्देश्यका साथ अनलाइनको थालनी गरिएको बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४