डडेल्धुरा- डडेल्धुराको भित्री मधेसमा पर्ने परशुराम नगरपालिका-५ मा पुस ३० देखि माघ ८ सम्म ‘परशुराम धार्मिक, पर्यटन महामहोत्सव २०७५’ आयोजना हुने भएको छ। चार धाममध्येको एक मानिने परशुराम धामलाई देश तथा विदेशमा प्रचारप्रसार गर्ने उदेश्यले महामहोत्सव गर्न लागिएको हो।
पुस ३० गते कलश यात्रासहित उद्घाटन हुने महामहोत्सवमा महास्नान, गंगा आरती, मकर महास्नान, योग विज्ञान शिविर, नित्यपूजा, संगीतमय श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ, देउरा दर्शन, दिवा कार्यक्रम, रात्री कार्यक्रमहरु प्रस्तुत हुने आयोजनक परशुराम नगरपालिकाका नगरप्रमुख एवं परशुराम धार्मिक, पर्यटन महामहोत्सव २०७५ का संयोजक भीमबहादुर साउँदले जानकारी दिएका छन।
महामहोत्वसको तयारीको काम ८० प्रतिशत सकिएको उनको भनाइ छ। ‘परशुराम भगवान विष्णुको छैठौं अवतारका रुपमा लिइन्छ। यो विश्वकै चार धाममध्यको एक धाम हो। भगवान परशुरामले यही क्षेत्रमा तपस्या गरेको र यसै क्षेत्रमा उहाँहरु पनि जन्म भएको स्कन्द पुराणमा उल्लेख छ’ नगरप्रमुख साउँद भन्छन्, ‘यो क्षेत्र ओझेलमा परेको छ यसको महत्वलाई देश विदेशमा चिनाउन महामहोत्वसको आयोजना गर्न लागिएका हो ।’
के छ परशुरामधामको महत्व?
परशुराम धाममा पुस महिनाको मसान्त तथा माघे संक्रान्तिको अवसरमा मेला लाग्ने गर्छ। परशुराम धाममा रहेका चुनढुंगा भगवान परशुरामले तपस्या गरेपश्चात होम गरेपछि बनेको भन्ने जनविश्वास रहँदै आएको छ।
पुस मसान्तको साँझ यहाँ आएर रातभर आगो तापेर भक्तजनहरू जाग्राम बस्ने गर्दछन्। माघ १ गते बिहान ४ बजेदेखि महाकाली किनारमा नुहाउने भक्तजनहरूको पनि भीड लाग्छ।
माघे संक्रान्तिको दिन गंगा स्नान गरेमा सम्पूर्ण पाप कट्टी हुने तथा पुण्य कमाइने विश्वास गरिन्छ। मेला भर्न सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्ला तथा छिमेकी राष्ट्र भारतबाट समेत तीर्थालु तथा दर्शनार्थीहरू आउने गरेको परशुराम क्षेत्र विकास समितिका अध्यक्ष प्रेम चन्द ठकुरीले जानकारी दिएका छन्।
सबै तीर्थ पटक–पटक परशुराम एक पटक’ स्कन्द पुराणको मानसखण्डमा उल्लेखित उक्त वचनले नै परशुराम तीर्थको धार्मिक महत्व दर्शाउँछ। भगवानका दश अवतारमध्ये परशुराम अवतार भएको उक्त धाम डडेल्धुराको परशुराम नगरपालिका-५ महाकाली किनारमा पर्छ। हिन्दू देवीदेवताका तेत्तिसकोटी मठ मन्दिरमध्ये परशुराम तिर्थ मात्र एउटा यस्तो पवित्र धाम हो जस्को संसारमा अन्यत्र कहीं पनि मन्दिर पाइँदैन।
स्कन्द पुराणमा उल्लेख भएअनुसार नजिकै रहेको पूर्णागिरि मन्दिरमा सतीदेवीको पूर्ण अंग पतनपछि भगवान शिवले यही धाममा लामो कालखण्ड तपस्या गरेका थिए। पछि ईश्वरीय अवतारका लागि यही भूमिमा परशुरामले तपस्या सफल पारे । परशुराम भगवान् विष्णुका दश अवतारमध्ये एक मानिन्छन् ।
महाकाली पारी परशुराम धामदेखि सात किलोमिटरको दुरीमा रहेको पूर्णागिरी मन्दिरमा बर्षेनी आउने लाखौं धार्मिक यात्रुहरु मध्ये एक चौथाइ पनि परशुराम धाममा आउने वातावरण सिर्जना गर्ने हो भने डडेल्धुराको आर्थिक विकासमा मात्र नभएर सुदूरपश्चिमा धार्मिक पर्यटनको ठूलो विकास हुन सक्ने सम्भावना रहेको छ ।
कसरी पुग्ने परशुरामधाम ?
परशुरामधाम डडेल्धुराको सदरमुकामदेखि १०० किलोमिटर र कञ्चनपुरबाट ३९ किलोमिटरको दूरीमा सडक मार्गबाट पुग्न सकिन्छ । भीमदत्त सडकखण्डमा पर्ने डोटीको बुडरबाट छुट्टिने कच्ची सडकबाटो भएर ४ घण्टामा परशुरामधाम पुग्न सकिन्छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४