मंगलबार, साउन १२, २०८३

कर्णालीको मुहार फेर्दै किसान

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
सुर्खेत- कृषि पेसाप्रतिको मोह घट्दै गएका बेला कर्णालीका केही कर्मशील किसानले भने नमूना योग्य काम गरेका छन् । आधुनिक कृषि प्रणाली अभावमा यो पेसाप्रति नागरिकको सहभागिता घटिरहँदा उनीहरूको कृषिकर्म भने साँच्चिकै प्रेरणादायी छ ।

एकातिर समाजले कृषि पेसालाई सम्मान पेसा नठान्नु र अर्काेतिर कर्णालीजस्तो भौगेलिक विकटताले उत्पादित वस्तुले बजार नपाउनु जस्ता कारणले कृषिमा नागरिकको रुचि घट्दै गएको छ । तर सिँचाइयोग्य जमिन अभावमा पनि केही किसानको लगाव भने प्रेरणादायी छ । कृषिबाटै उनीहरुले राम्रो आम्दानी मात्रै गरेका छैनन् समाजमा उदाहरणीय पात्रसमेत बनेका छन् । तिनै कर्मशील किसानका सफलताका कथा यस्ता छन् :

'पहिले किन्थें, अहिले बेच्छु'

खाँडचक्र नगरपालिका-५ कालिकोटका धनबहादुर कार्कीले टमाटर टिपिरहेका भेटिए । 'टमाटरका प्रत्येक दाना अरबका डलर हुन्', मुस्कुराउँदै कार्कीले भने, 'अहिले गाउँभरि टमाटरकै खेती छ ।' टमाटरलाई अरबका डलरको मान्ने कार्की भनाइको भित्री रहस्य भने फरक रहेछ । आठ वर्षपहिले पैसा कमाउन मेलेसिया गएका उनले टमाटरलाई नै अरबका डलर मानेका रहेछन् । 'मलेसियामा हुँदा भतभती पोल्ने ठाउँमा काम गर्नुपथ्र्यो', उनले विगतका दुःख सुनाए, 'न रात न दिन, डिउटी पर्‍यो भने जाने पथ्र्याे ।' त्यही दुःखबाट पाठ सिकेका कार्की अहिले गाउँमा तरकारी दाइका नामले चिनिन्छन् । उनले भने, 'गोजीमा दुई चार पैसा हुँदा पहिले तरकारी किनेर खान्थें, अहिले बेच्ने भएको छु ।'

२०७२ सालबाट बेमौसमी तरकारी खेती सुरु गरेर उनले तरकारी खेतीलाई जीविकोपार्जन मात्र नभई मनग्य आम्दानीको स्रोतसमेत बनाएका छन् । बाह्रै महिना तरकारी खेती गर्ने कार्कीबाट समाजका अन्य व्यक्तिले पनि सिको गर्न थालेका छन् । कार्कीसँगै फूलबारी कृषि समूह तेस्रो बजारका २५ जना किसानले तरकारी खेतीलाई मुख्य पेसा बनाएका छन् ।



एक लाख लगानीमा आठ लाख आम्दानी


चन्दनाथ नगरपालिका–९ जुम्लाका रतनबहादुर रावल पहिले रोजगारीको सिलसिलामा भारत जान्थे । रोजीरोटी र घरखर्च चलाउन भारत जानैपर्ने रावलको बाध्यता थियो । घरबाट टाढा जाँदा दुःख र पीडा भोग्नुपथ्र्याे । रातदिन काम गर्दा पनि सोचेअनुसारको कमाइ सम्भव थिएन । भारतको स्याउ उत्पादन क्षेत्र सिम्ला तथा हिमाली क्षेत्रमा काम गर्ने रावलले स्याउ उत्पादनबारे राम्रोसँग ज्ञान हाँसिल गरे । त्यही ज्ञानलाई आफ्नै ठाउँमा लगान सकिन्छ भन्ने सोचेर घर फर्किए । त्यसपछि विदेशको सीपलाई गाउँमै प्रयोग गर्न थाले ।

'सुरुमा त सकिन्न कि भन्ने डर थियो, डराइडराई एक लाखको लगानीमा बिरुवा उत्पान सुरु गरेँ',  रावलले सुनाए, 'त्यही एक लाख लगानीले अहिले वार्षिक आठ लाखसम्म आम्दानी गर्न सफल भएको छु ।'  उनले तीनवटा बगैँचामा स्याउका बिरुवा उत्पादन गरेका छन् । रावल भन्छन्, 'त्यही आम्दानीले सुर्खेतमा दुईवटा घडेरी किनेको छु ।' छोरालाई पनि यही पेसा गर्न चितवनमा आइएस्सीएजी पढाइरहेको उनी बताउँछन् । उत्पादन गरेका बिरुवा मनाङ, मुस्ताङ, हुम्ला, मुगु, कालिकोटलगायतका क्षेत्रमा पुग्ने गरेको उनले बताए । सिजनको समयमा उनले १५/१६ जनालाई रोजगारीसमेत दिँदै आएका छन् ।

परिवारै रोगजारीमा

पातारासी–६ उर्थी जुम्लाका माघी विष्टका ६ जनाको परिवार छ । परिवारका सबै सदस्य रोजारीमा छन् । उनीहरु कुनै सरकारी निकाय र संघसंस्थामा नभई आफ्नै बारीको रोजगारीमा छन् । पाँच सयभन्दा बढी बिरुवा रहेका ११ वटा बगैंचाले परिवारलाई नै रोजगारी दिएको छ । 'पैसा कमाउन पति कहिले भारत त कहिले मलेसिया जान्थे', उनी भन्छिन्, 'तर अहिले बगंैचामै भ्याइनभ्याई छ ।' परम्परागत खेतीले तीन महिनासमेत खान नपुग्ने विष्टका परिवारले आजभोलि ७÷१८ लाख आम्दानी गर्दै आएका छन् । परम्परागत धान, मकै  खेती लगाउने जग्गामा विष्टका परिवारले हाल स्याउखेती गर्दै आएका छन् ।



वार्षिक २२ लाख आम्दानी

त्यस्तै पातारासी ६ कै अर्का किसान सपना विष्टले स्याउबाटै वार्षिक २२ लाखसम्मको आम्दानी गर्न सफल भएकी छन् । तीनवटा बगंैचामा १२ सय बढी स्याउ रहेको सपनाले आफ्ना सबै आवश्यकता त्यही स्याउबाटै पूरा गर्दै आएकी छिन् । स्याउबाट राम्रो आम्दानी हुन थालेपछि सपनाले विदेशमा रहेको आफ्ना देवरलाई समेत घर फर्काइन् । पहिले चामलका लागि घटांैसम्म लाइनमा बस्ने उर्थुका किसानहरु अचेल गुणस्तरीय र आफ्नो इच्छाअनुसारको चामल खान पाएका छन् । राम्रो आम्दानी हुन थालेपछि किसानहरुले छोराछोरीलाई निजी स्कुलमा पढाउँदै आएका छन् । 'पहिले वर्ष दिन खान पुग्थेन तर घन्टौंसम्म लाइन बसेर खाद्यान्नको चामल किन्नुपर्ने बाध्यता थियो', सपनाले भनिन्, 'तर अहिले हाम्रो दैनिकी बदलिएको छ । स्याउबाटै राम्रो आम्दानी भएपछि हामीले परम्परागत जहु, मकै हुने बारीमा समेत स्याउ लगाउने गरेका छौं ।'

ग्राबिटीले किसानलाई राहत

तीलागुफा–११ की कमला शाहीले करिब ६ सय बढी स्याउका रुख रोपेकी छिन् । ६ सय बिरुवाबाट वार्षिक १० टनभन्दा बढी स्याउ उत्पादन हुन्छ । तर केही वर्ष पहिलेसम्म स्याउ फले पनि बजारसम्म लैजान शाहीलाई निकै समस्या थियो । करिब चार घन्टाको दुरीमा रहेको उकालो भीरबाट सडकसम्म स्याउ पुर्‍याउन नसक्दा अघिकांश दाना बोटमै कुहिन्थे । बाँकी दाना इष्टमित्र र आफन्तीलाई कोसेलीका रुपमा दिन्थिन् । 'तर आजभोलि स्याउ बिक्री गर्न कुनै समस्या छैन', उनी भन्छिन्, 'ग्राबिटी बनेपछि सकेजति आफैं बजारसम्म पुर्‍याउँछु नसके ठेकेदारलाई दिन्छु ।' 

शाहीलाई मात्रै होइन, आजभोलि तिलागुफा नगरपालिका ९, १० र ११ का किसानलाई ग्राबिटी रोपवेले राहत भएको छ । स्याउ उत्पादनको पकेट क्षेत्रमा रूपमा परिचित रुम, तल्लोरुम, कामखेत र रोकायावडाका किसानका लागि बिना इनर्जी ग्राबिटी (रोपवे) बनेपछि त्यहाँका किसानलाई राहत मिलेको छ । उत्पादित स्याउ र तरकारी बजारसम्म लैजान दैनिक चार घन्टासम्म लाग्ने किसानले अहिले दुई मिनेटमै तरकारी सम्बन्धित स्थलमा पुर्‍याउन सक्ने भएका छन् ।

गाल्जे कामखेत ग्राबिटी रोपवे बनेपछि त्यस क्षेत्रमा २५ घरधुरी प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् । स्याउ, सिमी, आलुलगायतका अन्य सामान घन्टौंसम्म बोकेर बजार लैजानुपर्ने बाध्यता मात्रै हेटेको छैन उत्पादित वस्तुले राम्रो मूल्य समेत पाउने गरेको छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।