मुम्बई – बलिउडका अग्रज कलाकार कादर खानको ८१ वर्षको उमेरमा निधन भएको छ। कादरका छोरा सरफराज खानले बुवाको निधन भएको बताएका छन्। कनाडाको एक अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो।
नयाँ वर्षको पहिलो दिन बलिउड कादरको मृत्युले खल्लो बन्न पुगेको छ। एउटा भारतीय टिभी च्यानलमा बोल्दै हास्यकलाकार शक्ति कपुरले कादरखान जस्तो कलाकार बलिउडले अब नपाउने बताए। कादरको कनाडाको एउटा अस्पतालमा उपचार भइरहेको थियो।
कादरको स्वास्थ्य लाभको कामना गर्दै अमिताभ बच्चनले पनि ट्विट गरेका थिए। अमिताभले कादरसँग दो और दो पाँच, मुकद्दर का सिकन्दर, मी नटवरलाल, सुहाग, कुली और शहंशाहलगायतका फिल्ममा अभिनय गरेका थिए। कादर सधैं प्रफुल्लित मुद्रामा रहन सक्ने कलाकार थिए। उनी र गोविन्दाको जोडीलाई बलिउडमा अत्यधिक रुचाइएको थियो। दरिया दिल, राजा बाबु, कुली नम्बर वान, छोटे सरकार, आँखे, तेरी पायल मेरे गीत, आन्टी नम्बर वान, हिरो नम्बर वान, राजाजी, नसिब, दिवाना मै दिवाना, दुल्हे राजा, आखियो से गोली मारे लगायतका फिल्ममा यो जोडीको अभियन निकै जमेको थियो ।
कादरले थुप्रै फिल्म निर्देशन पनि गरेका छन्। कादर संवाद लेखनमा पनि अब्बल थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४