शनिबार, मंसिर ८, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

सबैको मन जोड्ने सेतु छठ पर्व

 |  मंगलबार, कात्तिक २०, २०८१
nespernesper

अजयकुमार साह

अजयकुमार साह

मंगलबार, कात्तिक २०, २०८१

केरवा ज फरल घउरस वोपर सुगा मडराय।
मारबौ रे सुगवा धनुषस सुगा गिरे मुरझाय।।

triton college

उल्लेखित भनाइको तात्पर्य हो– छठ मातालाई चढाउने फलफूल जुठो हुनुहुँदैन। छठ मातालाई चढाउने केरा सुगाले नखाउन् भनेर यसरी गीतबाटै सचेत गराउन खोजिएको हो।

अहिले जनकपुरधामसहित सम्पूर्ण तराई–मधेसका शहरबजारदेखि गाउँसम्म यस्ता लोकगीतको सुमधुर स्वर गुन्जिएको सुनिन्छ। चार दिवसीय छठ पर्वको कार्तिक २० गते विधिवत् शुभारम्भ हुनेछ।

सत्य र अहिंसाको चाड
तिहारको रौनक नसकिँदै यहाँ छठ पर्वको तयारीको चटारोले छुने गरेको हो। समाजशास्त्री नागेन्द्र दुबेका अनुसार सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराईबासीको महान् चाड हो छठ। तराईका सबै जातजातिले साझा रुपमा मनाउने यस पर्वको विशेषता हो। दुबे भन्छन्, ‘संसारमा यही एक यस्तो पर्व हो जसमा अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा गरिन्छ। यस पर्वमा चाहिने भाँडाकुँडा आदि बन्दोबस्त तराईमा एक महिना अगाडिदेखि नै गर्न थालिन्छ।’

छठ पूजाका लागि अहिले जनकपुरसहित सारा मिथिलाञ्चल बेहुली झैँ श्रृंगारिने कार्य साेमबार जारी छ। यतिबेला घरघरबाट गुञ्जिएको छठ गीतको धुनले पूरै शहरमा रौनक थपेको छ। श्रद्धालुहरूले जनकपुरको इतिहासमा वर्णित सरोवर गङ्गासागर, धनुषसागर, रामसागर, रत्नसागर, विहारकुण्ड, रूकमिणी सरोवर, अरगजा, महाराजसागर र अग्नि कुण्डलगायतका कुण्ड, पोखरी, तलाउमा छठ पर्व मनाउने गर्छन्।

Metro Mart
vianet

विशेषगरी आराध्यदेव सूर्यको उपासना गरिने छठ पर्व निक्कै उत्साह र भक्तिभावका साथ मनाइन्छ। रोजगारी वा उच्च शिक्षा अध्ययनका लागि विदेशिनेहरूसमेत छठको रौनक सम्झिएर घर फर्किने गर्छन्। छठ प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने माध्यमको पर्वसमेत हो।

पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा मनोकामना पूरा गर्न सूर्यको उपासना गरी यो पर्व मनाउने गरिन्छ। सूर्यलाई साक्षी राखेर खुला आकाशमुनि किसानले वर्षभरि मिहिनेत गरेर उब्जाएको अन्नबाली सूर्यदेवलाई नै अर्पण गर्ने गरिन्छ। सूर्यदेवप्रति अन्नबाली अर्पण गर्दै भक्तजनले उनीप्रतिको अगाध आस्था प्रकट गर्छन्। अहिले तराई-मधेसमा हाट, बजार, सडक र गल्लीहरू छठ पूजाका लागि आवश्यक पर्ने पूजा सामग्रीले भरिएका छन्। जहाँ माटोबाट बनाइएको कलश, दियो, हात्ती तथा बाँसको चोयाबाट बुनिएका नाङ्गलो, दाउरा, सुपली, छैँटी, ढकनीजस्ता परम्परागत भाँडाकुँडा सजिएका छन्।

‘उखु, केराउ, अदुवा, केरा, मुला लगायतका कृषि उपज, सख्खर मिसाएर बनाइएको गुलियो खिर, गहुँको पीठोबाट बनाइएको परम्परागत बुट्टे ठेकुवा र चिनीको चास्नीबाट बनाइएको बतासाको भान्छाले भूमिसँग जोडिएको जनजीविका र जनस्वास्थ्यको त्रिकोणात्मक सम्बन्धलाई झल्काइरहेको छ,’ समाजशास्त्री दुबे भन्छन्।

सडक छेउमा लगाइएका बजारले तराईको संस्कृति, कृषि र विविधताले भरिपूर्ण समाजबारे अध्ययन गर्ने खुला संग्राहालयकै काम गरिरहेको उनको तर्क छ।

छठ पर्वका लागि माटाको भाँडाकुँडा कुमाल जातिले बनाउँछन् भने बाँसको चोयाका भाँडाकुँडा दलित समुदायको डोम जातीले बुन्छन्। डोम समुदायले बुनेको बाँसको नाङ्लो, डगरा, सुपली, छैटी, बेना (हाते पङ्खा) छठ पर्वका लागि नभई नहुने हस्तकला सामग्री हुन्।

पहाडी समुदायको पनि आकर्षण 
छठ पर्वमा जात, धर्म र क्षेत्रीयताजस्ता विविधलाई ओझेलमा पार्ने गरी फरक–फरक अनुहार जलाशयमा डुबुल्की लगाउँदै सूर्यदेवको उपासना गरिरहेका हुन्छन्। मूलतः मधेशी समुदायको मुख्य पर्वका रुपमा मानिँदै आएको यो पर्व मनाउनेको भीडमा आजकल पहाडी समुदायमा महिलाहरू पनि उत्तिकै सहभागी हुँदै आएका छन्।

उनीहरू मधेसी महिला जसरी नै सिउँदोदेखि नाकसम्म सिन्दुर लगाएर साडीको आँचलले शिर छोपेर आराधनामा व्यस्त देखिन्छन्।

मधेसका लागि रोजगारीको ठूलो बजार मानिएको संघीय राजधानी काठमाडौंबाट दशैँ मान्न मोफसल फर्किनेको लर्को लाग्दा छठलाई नै मुख्य पर्व मान्ने तराईबासीले राजधानीको जनजीवन सहज बनाइ दिइरहेको समाजिक अभियन्ता बैजनाथ चौधरीको तर्क छ।

‘जब मानिसहरू दशैँ मानेर काठमाडौं फर्किन्छन्, तब तराई मूलका व्यापारी, कर्मचारी र मजदुर कामको जिम्मेवारी हस्तान्तरण गरेर छठ पर्वका लागि घरको यात्रामा निस्कन्छन्। दशैँताका काठमाडौंका अफिस तराईबासीले धानिरहेको पाइन्छ,’ उनी भन्छन्, ‘सामाजिक विविधताले भरिएको समाजको चक्रलाई एउटा समुदायले अर्को समुदायलाई जिम्मेवारी हस्तान्तरण गर्दै रिले दौडमा झैँ यसरी नै यात्रालाई निरन्तरता दिइरहेका हुन्छन्।’

तराई–मधेसका हिन्दू समुदायको मुख्य पर्वको रुपमा रहेको छठलाई मुस्लिम धर्माबलम्बीले समेत आस्था र भक्तिपूर्वक मनाउने गरेको देखिन्छ। यस पर्वको अर्को विशेषता सबै जातजाति, ठूला–साना, धनी–गरिब सबै एकै ठाउँमा जम्मा भएर पूजा अर्चना गर्नु पनि रहेको चौधरी बताउँछन्। ‘छठ वर्षौंसम्म भेटघाट र बोलचाल नभएकासँग भेटघाट तथा वार्तालाप गर्ने एउटा अवसर पनि हो,’ उनी भन्छन्, ‘यसर्थ यसलाई सबैको मन जोड्ने सेतुको रुपमा मान्न सकिन्छ।’

यसरी बित्छन् चार दिनः

पहिलो दिन– ‘अरबा–अरबाइन’
चार दिवसीय छठ पर्वको पहिलो दिन अर्थात् चतुर्थीका दिनलाई ‘अरबा–अरबाइन’ वा नहाए खाय भनिन्छ। यो दिन व्रतालुहरू खोला, नाला, नदी, पोखरी वा तलाउलगायतका जलाशयमा गई नुहाइधुवाई गरेर शुद्ध हुने गर्छन्। यसपछि चोखो खाना खाने गर्छन्। व्रतालुले माछामासु, लसुन, प्याज र कोदोजस्ता वस्तु परित्याग गर्छन्। यसै दिनदेखि व्रत पनि बस्न थाल्छन्। यो दिनलाई व्रतालुहरूले ‘आँखा’ पनि भन्ने गरेका छन्।

दोस्रो दिन – ‘खरना’
छठको दोस्रो दिन पञ्चमी तिथि पर्छ। यो दिनलाई खरना (संरक्षण अर्थात् पापको क्षय) भनिन्छ। खरना छठ पर्वको अघिल्लो दिन भएकाले यो दिन व्रतालुहरू दिनभरि निर्जला व्रत बस्छन्। साँझपख नुहाएर चोखो हुन्छन्। आफ्ना कुल देवता स्थापना गरेको पूजा कोठामा नयाँ चुलो स्थापना गरी प्रसाद बनाउने गरिन्छ। प्रसादका रुपमा विशेषगरी पाकेको केरा र खीरलाई लिने गरिन्छ। त्यसपछि गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरिन्छ। व्रतालुले राति चन्द्रोदयपछि चन्द्रमालाई पायस (खीर) चढाई सोही प्रसाद ग्रहण गर्छन्। यस दिनपछि व्रतालुले पूर्णव्रत लिनु पर्दछ।

तेस्रो दिन ‘सझिया घाट’
छठको तेस्रो दिन षष्ठी तिथि पर्छ। गहुँ र चामल ओखल, जातो वा ढिकीमा कुटान–पिसान गरी त्यसबाट निस्केको पिठोबाट विभिन्न गुलियो खाद्य सामग्री बनाइन्छ। छठ पूजाका सामग्री तयार पार्दा विशेष चनाखो हुनुपर्छ। पूजाका सामग्री चोखो र शुद्ध हुनुपर्दछ, जुठो हुन गएमा अनिष्ट हुने जनविश्वास छ।

अन्तिम दिन ‘पार्वण’
पर्वको चौथो तथा अन्तिम दिनलाई पारन (पार्वण) भनिन्छ। यस दिन बिहान उषाकालमा व्रत लिनेहरू पुनः जलाशयमा पुगी अघिल्लो दिन गरेको क्रम दोहोर्याने गर्छन्। प्रातःकालीन सूर्यलाई अर्घ दिई पर्वको समापन गरिन्छ।

अर्घ सम्पन्न भएपछि सूर्य पुराण श्रवण गर्ने चलन छ। व्रतालुले छठ व्रतको कथा सुन्छन् अनि सुनाउँछन्। यस पर्वमा यथासम्भव टुप्पोमा पात भएको चारवटा उखुलाई गाडेर त्यसभित्र पूजा गर्ने चलन पनि छ। प्रातःकालीन अर्घमा दीपमालाले सजिएका जलाशयमा अपूर्वको अनुभूति पनि प्राप्त हुन्छ।   -रासस

प्रकाशित: Nov 05, 2024| 16:44 मंगलबार, कात्तिक २०, २०८१
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कानुन बने चल्छ मोटरबोट व्यवसाय

कानुन बने चल्छ मोटरबोट व्यवसाय

पर्यटन क्षेत्रलाई चलायमान बनाउन र आर्थिक गतिविधि बढाउनका लागि महत्वपूर्ण भूमिका खेलेको मोटरबोट व्यवसाय भने आफैँ कानुनको पर्खाइमा छ। स्पष्ट कानुन नहुँदा यसको दर्तादेखि सञ्चालन...
भूगर्भमै सीमित बागलुङका तामाखानी

भूगर्भमै सीमित बागलुङका तामाखानी

दशकौं अगाडि त्यस क्षेत्रका स्थानीय तामाखानीबाटै आत्मनिर्भर भए पनि अहिले पूर्णरुपमा खानी बन्द छन्।