आइतबार, कात्तिक ३०, २०८२

फेरिँदै देउसीभैलोको स्वरूप

 |  आइतबार, कात्तिक १८, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १८, २०८१

“आहै चिप्लोमा बाटो,  देउसी रे। 
आहै अँध्यारो रातमा, देउसी रे।
आहै लड्दै र पड्दै,देउसी रे। 
आहै केराको थम्बा, देउसी रे। 
आहै १० भाइ जम्मा, देउसी रे।”

National life

हिन्दू धर्मावलम्बीको दसैँपछिको दोस्रो ठूलो पर्व तिहारमा खेलिने देउसीभैलोमा भट्याइने यस्ता शब्दहरु हिजोआज सुनिन छोडेका छन्। सारङ्गी, मादल, डम्फू र बाँसुरीका साथै हार्माेनियमका धुनमा ताल र सुर मिलाएर इतिहास, पुराणका कथा सुनाउँदै देउसी खेल्ने पुरानो चलन अहिले हराउँदै गएको छ। देउसीभैलोमा भट्याउने भाकाहरू पनि बदलिँदै गएका छन्।

तिहारको आकर्षणमध्येको एक मानिएको देउसभैलो हिजोआज आर्शीवाद दिने, मनोरञ्जन लिने र साथीभाइहरुसँग रमाउने माध्यमभन्दा पनि पैसा सङ्कलन गर्ने माध्यम बन्दै गएको बेनी नगरपालिका–२ का ९० वर्षीय बेदप्रसाद उपाध्यायले बताउनुभयो। केही सङ्घसंस्था, विद्यालय तथा समूहले अन्यका गीतको सहयोग लिइ नृत्य देखाउँदै देउसीभैलोलाई पैसा सङ्कलनको माध्यम बनाइरहेका भन्दै उहाँले सरम्परा हराउनेमा चिन्ता व्यक्त गर्नुभयो।

हिजोआज गाइने देउसीभैलो र नृत्यमा मौलिकता देखिन छोडेको स्थानीय बताउँछन्। अधिकांश भैली समूहले हिन्दी र नेपाली चलचित्रका गीतमा देउसीभैलो खेल्ने र नाच्ने गरेका मङ्गला गाउँपालिका–२ का पण्डित हरिकृष्ण पौडेलले बताउनुभयो। यसरी ठूलोठूलो स्वरमा गीत बजाउँदा ध्वनि प्रदूषण बढ्नुका साथै बिरामी, वृद्धवृद्धालाई असहज हुने उहाँले उल्लेख गर्नुभयो।

बेनीका नैनकुमार श्रेष्ठले भन्नुभयो, “पहिलेका भैलीहरु आउँदा स्थानीय लोकबाजा र गीतहरु देख्न, सुन्न पाइन्थ्यो। आजभोलि आयातित गीतहरु सुनिन्छन्। आजभोलिका भैली खेल्नेहरु उफ्रिने र कराउने मात्र गर्छन्। यसरी हाम्रो लोकसंस्कृति लोप हुँदै जानेछ।” केही वर्षपछि लोकबाजा र भैलीको मौलिकता हराउनसक्नेमा उहाँले चिन्ता व्यक्त गर्नुभयो।

Laxmi sunrise bank
kumari

बेनीका जेष्ठ नागरिक डम्मरबहादुर कार्कीले पहिला देउसीभैलो खेल्दा सबैले लोकगीत आफैँले गाउने, मुरली, मादल, खैजडी, झ्याली, ट्याम्कोलगायत मौलिक बाजाहरु बजाउने परम्परा रहेकामा अहिले उक्त परम्परा हराउँदै गएको बताउनुभयो। बेनीका लोकसंस्कृतिका जानकार प्रकाश श्रेष्ठले युवा पलायनको असर देउसीभैलोमा पनि परेको उल्लेख गर्नुभयो। 

कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म पाँच दिनसम्म खेलिने देउसीभैलोको आफ्नै महत्व छ। मृत्युका देवता यमराज आफ्ना दैनिक काम स्थगित गरेर बहिनी यमुना कहाँ यी पाँच दिन अतिथिका रुपमा बसेर भाइटीका ग्रहण गर्ने भएकाले यस पर्वलाई ‘यमपञ्चक’ भन्ने गरिएको लोकसंस्कृतिका जानकार श्रेष्ठले बताउनुभयो।

भाइटीकाको दिन यमराज र यमुनाको नाममा समर्पित भएर पूजा गर्ने परम्परा रहेको उहाँले उल्लेख गर्नुभयो। उहाँका अनुसार यस दिन दिदीबहिनीले दाजुभाइलाई टीका लगाउँदा यमराजले आफ्ना दाजुभाइलाई समयअगावै नडाकून् भनी कामना गर्ने गर्दछन्।  रासस
 

प्रकाशित: Nov 03, 2024| 06:31 आइतबार, कात्तिक १८, २०८१
प्रतिक्रिया दिनुहोस्