सिरहा- नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले कांग्रेससँग मेलमिलाप र एकता गर्न मधेसी जनतालाई आग्रह गरेका छन्। मुलुकको हरेक आन्दोलनमा मधेसका जनताले नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै निधिले मेलमिलाप र एकता गरेर अगाडि बढ्न आग्रह गरेका छन्।
४३ औं एकता र मेलमिलाप दिवसको अवसरमा सिरहा कांग्रेसले आयोजना गरेको कार्यक्रममा उपसभापति निधिले मधेस र मधेसी जनताको विकास तथा अधिकारका लागि मधेसी र कांग्रेसबीच एकता जरुरी रहेको उल्लेख गरेका छन्। दुबैबाट गल्ती भएको हुन सक्छ, निधिले भने- पछिल्ला कुरा बिर्सौं। गल्ती भएको छ भने सुधार गरौं। तर एक भएर अघि बढौं।
मधेसी जनताको अधिकार र मधेसको विकासका लागि कांग्रेससँग एकता आवश्यक रहेको उनको भनाइ थियो । एमालेलाई विरोध गर्ने राजपा र फोरम उसकै पछि लागेर संविधान संशोधनको कुरा बिर्सेको निधिले आरोप लगाएका छन् । चर्का नारा दिएर प्रदेस र संघीय सरकारमा पुगेकाहरु अहिले मधेस मुद्दा भुलेको उनले आरोप लगाएका छन्।
उपसभापति निधिले अहिलेको सरकार संघीयता, कर्मचारी र विकास विरोधी रहेको भन्दै जनता विरोधीलाई परास्त गर्न सबै आन्दोलनकारी शक्तिबीच एकता हुनुपर्नेमा उनको जोड थियो। प्रधानमन्त्री केपी ओलीमाथि व्यंग गर्दै पूर्व उपप्रधान्त्रीसमेत रहेका निधिले पोलपोलमा आफ्नो तस्बिर झुन्ड्याउनेले निर्मला हत्यारालाई सजाय दिन नसक्नु लज्जास्पद रहेको बताए।
निर्मला हत्याको प्रमाण सरकारी निर्देशनमै नष्ट गरिएको कुरासमेत सार्वजनिक भइसकेको उनले बताए। सिरहा सभापति रामचन्द्र यादवको सभापतित्वमा सम्पन्न कार्यक्रममा संघीय समाजवादी फोरम अर्नेमा गाउँपालिकाका अध्यक्ष जागेश्वर यादवको नेतृत्वमा फोरम र नेकपा परित्याग गरि करिब एक हजार नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन्। नव प्रवेशीहरुलाई उपसभापति निधि र केन्द्रीय सदस्य प्रदीप गिरीले अबिर माला लगाएर स्वागत गरेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४