सुर्खेत- सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले मेला आयोजकमाथि सिन्डिकेट लगाएको छ। एउटै आयोजकले वर्षेनी मेला-महोत्सव गर्दा चौतर्फी विरोध हुन थालेपछि नगरपालिकाले आयोजकमाथि सिन्डिकेट लगाएको हो।
मेलालाई व्यवस्थित बनाउन नगरपालिकाले कार्यविधि नै बनाएर आयोजकमाथि सिन्डिकेको थालनी गरेको छ। ‘मेला–महोत्सव व्यवस्थापन कार्यविधि–२०७५’ अनुसार अबदेखि एउटा आयोजकले तीन वर्षमा एक पटक मात्रै मेला–महोत्सव आयोजना गर्न पाउने छ।
महोत्सवलाई व्यवस्थित र आयोजकको कमाउन धन्दालाई अन्त्य गर्न यस्तो कार्यविधि तयार पारिएको नगरप्रमुख देवकुमार सुवेदी बताउँछन्। नगरपालिकाको कार्यविधि अनुसार आयोजकले शर्तहरु समेत पुरा गर्नुपर्ने छ। तोकेका शर्तहरु पुरा नगरेको अण्डमा भने जरिवानादेखि ५ वर्षसम्म मेला आयोजना गर्न नपाउने गरी रोक समेत लगाइने छ।
कार्यविधि अनुसार वीरेन्द्रनगरमा आयोजना हुने महोत्सवमा समयावधि, स्टल बुकिङ र टिकटदेखि ध्वनी प्रदुशनसमेतमा सिन्डिकेट लगाएको छ। अबदेखि आयोजकले महोत्सव स्थलभन्दा बाहिर ध्वनी जाने गरी माइक लगाउन पाउने छैन।
त्यस्तै पाँच मिनेटभन्दा कम समय मनोरञ्जन हुनेमा २०, १५ मिनेटसम्म ३०, ३० मिनेटसम्म ५० र त्यो भन्दामाथि १०० रुपियाँ टिकटको व्यवस्था गर्नुपर्ने उल्लेख छ। यस्तै जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति र विद्यार्थीका लागि पनि टिकटमा सहुलियत दिनुपर्ने छ।
त्यसै गरी स्टल बुकिङमा समेत आयोजकले मनपरी गर्न नपाउने व्यवस्था गरिएको छ। स्टल बुकिङ गर्दा वीरेन्द्रनगरभित्रका व्यवसायीका लागि स्टलमा ३० प्रतिशत, नयाँ प्रविधि प्रदर्शन एवम् बिक्रीका लागि २० प्रतिशत, सूचना एवम् सन्देशमूलक प्रर्दशनीका लागि १० प्रतिशत, कर्णाली प्रदेशभित्र उत्पादन हुने वस्तुको लागि २० प्रतिशत र सबै व्यवसायीका लागि खुल्लामा न्यूनतम २० प्रतिशत छुट दिनुपर्ने व्यवस्था गरेको छ।

त्यस्तै समयावधिमा समेत सिन्डिकेट लगाएको छ। धार्मिक र खेलकुद मेला महोत्सवमा अधिकतम सात दिन निर्धारण गरिएको छ। तर, मेलामा दर्शकको चाप तथा आयोजकले मेला अवधि थप गर्नुपर्ने उपयुक्त कारणसहित सुरक्षा निकायको सहमतिसहित निवेदन दिएमा तीन दिनसम्म म्याद थपको अनुमति नगरपालिकाले दिनसक्ने उल्लेख छ। धार्मिक मेला महोत्सवका हकमा बिहान पाँच बजेदेखि साँझ साढे नौ बजेसम्म र अन्य व्यवसायिक स्टल तथा मनोरञ्जनात्मक एवम् सांगीतिक कार्यक्रम हुने मेलाको हकमा विहान १२ बजेदेखि साँझ ६ बजेसम्म निर्धारण गरिएको छ। हिउँदमा र अन्य समयमा साँझ साढे ७ बजेभन्दा मेला–महोत्सव सञ्चालन गर्न नपाइने उल्लेख छ।
मेला–महोत्सव आयोजना गर्न चाहने निकायले ३५ दिन अगाडि नगरपालिकामा प्रस्ताव पेश गर्नुपर्ने छ। महोत्सव हुनु अघिनै अपेक्षित रकमको पाँच प्रतिशत रकम अग्रिम नगरपालिकामा धरौटी राख्नुपर्ने छ। धरौटी रकम मेला महोत्सवको समाप्तीसँगै उद्देश्य अनुसारको कार्य गर्न थालनी भएपछि फिर्ता दिइने छ। तर तोकेको शर्तहरु पालना नगरेमा धरौटी रकम जफत हुनेछ।
आयोजकले कानुनविपरितका कार्य गरेमा वा गराएमा पहिलो पटकका लागि दश हजार रुपैयाँ जरिवाना, गल्ति दोहोर्याएमा प्रत्येक पटक दोब्बर जरिवाना, ध्वनी प्रदूषण वा वातावरण प्रदूषण गरेमा पाँच हजार जरिवाना, अनुगमन टोलीको सुझाव पालना नगरेमा पाँच हजार जरिवाना र तीन पटकभन्दा बढी गल्ती दोहोर्याएमा मेला सञ्चालनमा समेत रोक लगाउने उल्लेख गरिएको छ।
आयोजकले महोत्सव सम्पन्न भएको एक महिनाभित्र भएको आम्दानी खर्चको विवरणसहितको प्रतिवेदन नगरपालिकामा बुझाउने तथा पत्रकार सम्मेलन गरी आम्दानी खर्च सार्वजनिक गर्नुपर्ने कार्यविधिमा उल्लेख छ। यसअघि नगरपालिकाले कार्यविधि नबनाउँदा पटक–पटक मेला आयोजक र स्थानीय व्यापारीबिच विवाद हुँदै आएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४