मंगलबार, भदौ २, २०८३

खाँदबारी-किमाथांका सडक खण्ड निर्माण तीव्र

 |  शुक्रबार, कात्तिक ९, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक ९, २०८१

सङ्खुवासभा- सङ्खुवासभाको उत्तरी क्षेत्रको जोड्ने राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको खाँदबारी-किमाथांका खण्डमा निर्माणले तीव्रता पाएको छ।

भौगोलिक रुपमा विकट मानिएको खाँदबारी-किमाथांका सडकको आठ किलोमिटर ट्र्याक नेपाली सेनाले खोलिसकेको छ। उत्तरी क्षेत्रमा पर्ने किमाथांका नाका भौगोलिक हिसाबले दुर्गम क्षेत्र मानिन्छ।

उक्त खण्डको १० किमीमध्ये आठ किमी ट्र्याक खोल्ने काम सम्पन्न भएको नेपाली सेनाले जनाएको छ। किमाथांका-जोगवनी खण्ड छिमेकी देश चीन-भारत जोड्ने सबैभन्दा छोटो सडकका रुपमा मानिन्छ।

ट्र्याक खोल्न बाँकी दुई दशमलव शून्य एक किमी पनि यही वर्ष जोडिने तयारी भइरहेको आयोजना कार्यालयले जनाएको छ। यो ट्र्याक खुल्लेसँगै यो वर्ष जोगवनी-विराटनगर-किमाथांका जोडिने आयोजना प्रमुख शम्सेर सिंहले जानकारी दिए। 

उनका अनुसार भोटखोला गाउँपालिकाको च्याम्ताङ-घोङगोप्पाको करिब १० दशमलव पाँच किमी खण्डमा नेपाली सेनाले ट्र्याक खोल्ने काम गरिरहेको छ। कडा चट्टान फोर्न विस्फोटक पदार्थ आवश्यक पर्ने भन्दै विसं २०७६ भदौ २२ गतेको मन्त्रिपरिषद् बैठकले सेनालाई सडक निर्माणको जिम्मेवारी दिएको थियो।

हालसम्म नेपाली सेनाले आठ किमी सडकको ट्रयाक खोलिसकेको प्रमुख सिंहले बताउँदै छ दशमलव किमी खण्ड स्तरोन्नतिसमेत गरिसकेको जानकारी दिए। सडक निर्माणका लागि दैनिक एक सय ४० जनशक्ति परिचालन गरिएको छ।  

सो सडकबाट कोसी प्रदेशसहित धनकुटा, तेह्रथुम, सङ्खुवासभा र भोजपुरवासी प्रत्यक्ष लाभान्वित हुनेछन्। च्याम्ताङसम्म ट्र्याक खुले पनि खाँदबारीबाट वरुण दोभानसम्मको खण्डमा हिउँदको समयमा मात्रै गाडी सञ्चालन हुने गरेको छ। 

सडक विस्तारसँगै यस क्षेत्रमा व्यापार, व्यवसाय पनि विस्तार हुने स्थानीयको अपेक्षा छ। सडकसँगै सीमामा भन्सार कार्यालय स्थापना हुनुपर्ने स्थानीयको माग छ। 

राष्ट्रिय गौरवको आयोजना खाँदबारी-किमाथांका सडक निर्माणमा हालसम्म ५३ करोड रुपैयाँ खर्च भइसकेको अयोजना कार्यालयले जनाएको छ। नेपाली सेनाले हेलिकप्टरमार्फत निर्माण साम्रगी ढुवानी गरेर ट्र्याक खोल्ने काम गरिरहेको हो। रासस

प्रकाशित: Oct 25, 2024| 17:01 शुक्रबार, कात्तिक ९, २०८१
प्रतिक्रिया दिनुहोस्