काठमाडौंः सिन्धुपाल्चोकको गुफाडाँडामा राष्ट्रिय जलवायु सम्मेलन उद्घाटन भएको छ । तीन दिनसम्म चल्ने सम्मेलनको सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी हुन् ।
दुई हजार ५ सय २० मिटरको उचाइमा रहेको मेलम्ची नगरपालिकाको गुफाडाँडामा आयोजित सम्मेलनमा ७७ जिल्ला समन्वय समितिका प्रमुख र उप्रमुख सहभागी छन् । सम्मेलनमा प्रदेश नं. ३ का मुख्यमन्त्री, मन्त्री, जिल्लाबाट संघीय संसद् र प्रदेश संस्दमा प्रतिनिधित्व गर्ने सांसद, सिन्धुपाल्चोकका १२ वटै स्थानीय तहका प्रमुख तथा अध्यक्ष सहभागी छन् ।
गुफाडाँडाबाट तीन सय ६० डिग्रीको कोणबाट जुगल हिमशृंखला, छिमेकी जिल्लाका हिमालका साथै पर्यटकीय क्षेत्र नगरकोटसम्मका दृश्य र वातावरण नियाल्न सकिन्छ । सम्मेलन स्थलमा जलवायु परिवर्तनको असर देखिने स्ट्याचु निर्माण गरिएको छ । राष्ट्रपति भण्डारीले उक्त स्ट्याचुको पनि अनावरण गरिन् ।
सम्मेलनमा विषय विज्ञ र सम्बद्ध मन्त्रालयका अधिकारीले जलवायु परिवर्तनसम्बन्धी विभिन्न कार्यपत्र प्रस्तुत गर्नेछन्। कार्यपत्रमाथि छलफल गरी सिन्धुपाल्चोक घोषणापत्र जारी गर्ने आयोजकको तयारी छ। ‘सम्मेलनले जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास लिएका छौं’, संयोजक कृष्णगोपाल तामाङले भने, ‘जिल्लाको पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने ठानेका छौं।’
सम्मेलनका सहभागीलाई मेलम्ची आयोजनाको १० किमि दुरीको सुन्दरीजल–सिन्धु सुरुङबाट मेलम्ची उतारिएको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४