मुम्बई – सामाजिक सञ्जालमा भारतीय अग्रज अभिनेता कादर खानको निधन भएको भ्रामक खबर फैलिएको छ। खानका छोरा सफराजले बाबुको मृत्युको खबर भ्रामक र झूटो रहेको भन्दै आफ्ना पिता हस्पिटलमा रहेको जानकारी दिएका छन्।
सर्वप्रथम अलइन्डिया रेडियोले आफ्नो ट्विटर पेजमा ट्विट गर्दै कादर खानको निधन भएको लेखेको थियो। उक्त ट्विटपश्चात थुप्रै प्रशंसकले कादरप्रति श्रद्धाञ्जलि दिएका थिए ।
भारतीय सञ्चारमाध्यमका अनुसार कादर यति बेला हस्पिटलमा छन्। उनको अवस्था भने चिन्ताजनक छ। कादरको अक्सिजनको सहायताले उपचार भइरहेको छ। उनी ‘प्रोगेसिव सुप्रान्युक्लियर पाल्सी डिसओर्डर’ बाट ग्रसित छन्। उक्त रोगका कारण उनको मस्तिष्कले काम गर्न छाडेको छ।
कादर पछिल्लोपटक २०१५ मा रिलिज भएको फिल्म ‘दिमाग का दही’ मा देखिएका थिए। ४३ वर्षको फिल्मी करियरमा कादरले तीन सय फिल्ममा अभिनय गरेका छन्। उनले २५० फिल्ममा संवाद लेखेका छन्। अस्पतालमा उनका साथ पत्नी साइस्ता र छोरा सरफराज छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४