सोमबार, मंसिर १०, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

मुक्त कमैयाले बल्ल पाए पक्की घर

 |  बुधबार, कात्तिक ७, २०८१
nespernesper

गोकुल जोशी

गोकुल जोशी

बुधबार, कात्तिक ७, २०८१

कञ्चनपुर- वेदकोट नगरपालिका-३ का ४५ वर्षीय मानबहादुर डगौरालाई दुई दशकअघिको आशापुरको दृश्य अझै सम्झनामै छ। त्यतिबेला उनलाई टिनका टहरामा कोचाकोच गरेर बस्नुपर्ने बाध्यता थियो। नदीको छेउमै रहेको त्यो बस्तीमा बाढी पस्थ्यो। होचो भूभाग हुनाले डुबानका कारण जमिनमा उब्जाउ पनि हुँदैनथ्यो।

triton college

आशापुरमा मुक्तकमैया बस्ती हो। विसं. २०५७ सालमा कमैया मुक्त भएपछि सरकारले १६ परिवारलाई त्यहाँ जग्गा उपलब्ध गराएको थियो। 

हाल मुक्तकमैया बस्ती आशापुरको मुहार फेरिएको छ। 'वर्षा याममा बाढी पसेर कटान र डुबान हुन्थ्यो। जमिनमा उब्जाउ नै नभएर दैनिक हातमुख जोर्न समस्या थियो,' डगौँराले भने, 'पछि नदी किनारमा तटबन्ध निर्माण भयो। जमिनमा माटो भरेपछि उब्जाउ पनि हुन थालेको हो।'

हाल मुक्त कमैया शिविरका टिनका टहरा पक्की घरमा परिणत भएका छन् यहाँ मुक्तकमैयाको परिवार पनि बढेर २२ परिवार पुगेको छ। आशापुरको मुहार मात्रै होइन् मुक्तकमैयाको जीवनस्तरमा पनि सुधार भएको छ। यहाँका अधिकांश स्थानीय डकर्मी छन्। कोही वैदेशिक रोजगारीमा छन् भने केही सागसब्जी फलाएर मनग्गे आर्जन गर्न सफल भएका छन्।

'कमैया बस्दा दुःख थियो। दिन र रातमा काम गरेपछि दुईछाक खान पाइन्थ्यो, छोराछोरीलाई विद्यालय पढाउने कुरा कल्पना मात्र थियो,' स्थानीय जानकी चौधरीले भनिन्, 'कमैया मुक्त भएपछि सुरुमा केहीवर्ष अफ्ट्यारो भयो। हाल क्षमताअनुसारको काम आफैँ गरेर जीवन चलाइरहेका छौँ।'

Metro Mart
vianet

उनका अनुसार कमैया बसेका घरमा महिलाले खेतीपाती, गाईबस्तु चराउनेलगायत घरका सबै काम गर्नुपर्थ्यो। पुरुषहरुलाई खनजोत गर्ने, दाउरा चिर्नेलगायत कामबाट फुर्सद हुँदैनथ्यो। 

कमैया मुक्तपछि सागसब्जी खेती गर्न थालेकी जानकीको परिवारका लागि तरकारी खेती आम्दानीको गतिलो स्रोत बनेको छ। 

'कमैया मुक्तिपछि सागसब्जी खेतीको तालिम लियौँ। खेती छोडेका छैनौँ। यसबाट हुने आम्दानीले घरखर्च चलिरहेको छ,' उनी भन्छिन्, 'डेढदेखि दुई लाखसम्म आम्दानी हुने गरेको छ।'

कमैया मुक्तिपछि सरकारले एक परिवारलाई पाँच कठ्ठा जमिन उपलब्ध गराएको थियो। जानकीले आधा बिगाह जमिन अधियाँमा लिएर धान, गहुँ खेती गर्छिन्। आफ्नै नौ कठ्ठा जमिनमा काक्रा, फर्सी, लौका, घिरौला, बोडीलगायत सागसब्जी खेती गरेकी छिन्। च्याउखेती पनि गर्ने गरेको जानकीको भनाइ छ।

मानबहादुर डगौराले पनि दश कठ्ठा जमिन भाडामा लिएर तरकारी खेती गरेका छन्। बारीमा उत्पादित तरकारी महेन्द्रनगरस्थित सब्जीमण्डीमा बिक्री गरेर उनले घरखर्च चलाउँदै आएका छन्।

'अटो रिक्सामा तरकारी सब्जीमण्डीमा बेच्न लैजान्छौँ। सिँचाइ हुँदा राम्रो उब्जाउ हुन्छ,' मानबहादुर भन्छन्, 'थोरै सिँचाइको असहजता छ। नहर लाग्दैन। बोरिङको पानीले सिँचाइ गर्नुपर्छ।'

सागसब्जीबाट आर्जन भएको रकमले आशापुरमा मानबहादुर पक्की घर निर्माण गरेका छन्। आशापुरकै विक्रम डगौरा कमैया मुक्त भएपछि तीन पटक विदेश पनि गए। श्रीमती र छोरा बिरामी भएपछि स्वदेश फर्किएका बिक्रम हाल गाउँमै सागसब्जी खेती गरिरहेका छन्।

'९ वर्ष विदेशमा मजदुरी काम गरियो। त्यहाँबाट फर्किएपछि गाउँमै तरकारी खेती गरे। अहिले राम्रो आम्दानी भइरहेको छ,' उनले भने, 'स्वदेशमै मिहेनत गरेर विदेशको जस्तै कमाइ भइरहेको छ।'

स्थानीय बलबहादुर डगौरा मिस्त्री काम गर्छन्। अब्बल मिस्त्री गनिने उनलाई काम गर्न भ्याईनभ्याई छ। कमैया मुक्ति घोषणापछि विभिन्न संघसंस्थाले सीपमूलक तालिम दिएका थिए। 

त्यहीँ क्रममा मिस्त्रीको तालिम लिएको बलबहादुर बताउँछन्। 'सुरुमा घर बनाउने ठाउँमा मजदुरी गरे। काम गर्दै जाँदा मिस्त्री भइयो,' उनले भने, 'मिस्त्री भएपछि परिवार पाल्न सहज भएको छ।'     -रासस

प्रकाशित: Oct 23, 2024| 06:01 बुधबार, कात्तिक ७, २०८१
प्रतिक्रिया दिनुहोस्