काठमाडौं – नेपाली साहित्यका छन्दोबद्ध एवम् परिष्कारवादी धाराको थालनीकर्ता कवि शिरोमणि लेखनाथ पौड्यालको १३५ औं जयन्ती विभिन्न कार्यक्रम गरी मनाइएको छ।
१९४१ पुस १५ गते कास्कीको अर्घौअर्चलेमा जन्मिएका कवि पौड्यालको जन्मजयन्तीका अवसरमा देशैभरि विभिन्न कार्यक्रम गरिएको छ।
पौड्याल जयन्तीका अवसरमा त्रिमूर्ति निकेतनले सञ्चारग्रामस्थित लेखनाथ पौड्यालको सालिकमा माल्यार्पण गर्नुका साथै कवितावाचन कार्यक्रमको आयोजना गरेको छ। त्रिमूर्ति निकेतनकी अध्यक्ष इन्दिरा प्रसाईले पौड्यालको पूर्णकदको सालिकमा माल्यार्पण गर्दै उनको योगदानको स्मरण गरिन्।
२००८ साल असार २९ गते पौड्याललाई राजा त्रिभुवनले कविशिरोमणि पदवी र मासिक दुई सय भत्ता प्रदान गरेको स्मरण गर्दै प्रसाईले पौडेललाई मरणोपरान्त २०२६ सालमा त्रिभुवन प्रज्ञा पुरस्कार प्रदान गरिएको बताइन्। ‘दुई दर्जन बढी कृति प्रकाशन भएका पौड्यालको नेपाली साहित्यको विकासमा ठूलो योगदान छ’, उनले भनिन्।
कार्यक्रममा लेखनाथ पौड्याल काव्यसभाका संयोजक प्रा. राजेन्द्र सुवेदी, बालकृष्ण सम फाउन्डेसनका संयोजक मदनदास श्रेष्ठ, लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठानका संयोजक प्रा. ठाकुर पराजुली, त्रिमूर्ति निकेतनका सदस्यसचिव नरेन्द्रराज प्रसाई र कार्यक्रम संयोजक भगवती बस्नेतलगायतले पौडेलले देखाएको बाटामा हिँड्दा मात्रै उनिप्रतिको सच्चा सम्मान हुने बताएका थिए।
कार्यक्रममा कवि भरतराज पीडित, ललिता दोषी र भगवती बस्नेतले कविता बाचन गरेका थिए। लेखनाथ, बालकृष्ण सम र लक्ष्मीप्रसाद देवकोटा २००९ सालमा दार्जीलिङ जाँदा त्यहाँ उनीहरूलाई त्रिरत्न सूधपा अर्थात् सूर्यविक्रम ज्ञावाली, धरणीधर शर्मा र पारसमणि प्रधानद्वारा त्रिमूर्तिको पदवीले सम्मान गरिएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४