काठमाडौं- मेलमिलापको नीति लिएर वीपी कोइराला स्वदेश फर्किएको सम्झनामा आज नेपाली कांग्रेसले देशभर राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदै छ ।
४३ औं एकता दिवस मनाउन काँग्रेसले केन्द्रबाट ७७ जिल्लामा प्रतिनिधि समेत पठाइसकेको छ । विक्रम संवत २०३३ मा राष्ट्रियता जोगाउन मेलमिलापको नीति लिएर वीपी भारत प्रवासबाट स्वदेश फर्किएको सम्झनामा पुस १६ गते कांग्रेसले राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदै आएको छ ।
आठ वर्ष लामो प्रवासपछि तत्कालिन समयमा भारतबाट वीपीसँगै गणेशमान सिंह, रामबाबु प्रसाई, शैलजा आचार्य, निलाम्बर पन्थी, खुमबहादुर खड्कालगायतका नेताहरु स्वदेश फर्किएका थिए । मुलुकको सार्वभौमसत्ता रक्षा गर्न र नेपाली जनताको स्वाभिमान स्थापना गर्न जनताकै बीचमा रहनुपर्दछ भन्ने सोचका साथ वीपीसहितको समुह स्वदेश आएको थियो ।
प्रजातन्त्र र समृद्धि मेलमिलापबाट मात्रै सुनिश्चित गर्न सम्भव हुने भन्दै नेपाली कांग्रेसले अवलम्बन गरेको मेलमिलापको नीतिको अपरिहार्यता अहिले पनि उत्तिकै सान्दर्भिक रहेको कांग्रेस नेताहरुको भनाइ छ ।
राजा महेन्द्रले विक्रम संवत २०१७ मा नेपाल तरुण दलको कार्यक्रममा सम्बोधन गर्ने क्रममा तत्कालीन प्रधानमन्त्री बिपी कोइरालालगायत कांग्रेसका नेताहरुलाई पक्राउ गरी जेल चलान गर्नुका साथै प्रजातन्त्र अपहरण गरी एकदलीय पञ्चायती व्यवस्थाको सूत्रपात गरेका थिए ।
नेपालमा केही समय जेल जीवन बिताइ सकेपछि विक्रम संवत २०२५ मा भारत प्रवासमा गएका नेताहरू राष्ट्रियतामाथि खतरा आएको भन्दै आठवर्षे प्रवास जीवन त्यागेर राष्ट्रिय एकता तथा मेलमिलाप नीति लिएर स्वदेश फर्किएका थिए ।
भारतको तत्कालीन विस्तारवादी नीतिबाट नेपालको सार्वभौमसत्ता नै गुम्ने खतरा देखेपछि स्वदेश फर्किएका वीपीलगायत नेताहरुलाई राजा महेन्द्रले भने विमानस्थलबाटै पक्राउ गरी तत्कालीन सुन्दरीजल बन्दीगृहमा ल्याई बन्दी बनाएका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४