काठमाडौं- राजधानीबाट प्रकाशित सोमबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयका खबरलाई पहिलो प्राथमिकतामा पारेका छन् ।
कसैले प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइलाई मुख्य समाचार बनाएका छन् भने कसैले सभामूख र अध्यक्षलगायतका पदाधिकारीले गाडीको लस्कर लगाएको विषयलाई प्राथमिकतामा पारेका छन् । केहिले भने संसदीय उपसमितिले वाइडबडी खरिदमा भ्रष्टाचार भएको ठहर गरेको विषयलाई मुख्य समाचार बनाएका छन् ।
न्यायालयमा बिचौलिया राज शीर्षकमा नागरिक दैनिकले मुख्य समाचार छापेको छ । त्यस्तै प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले संसदीय सुनुवाइको क्रममा बिचौलिया र भ्रष्टाचार रोक्ने प्रतिवद्धता जनाएको विषयलाई पनि नागरिकले महत्वका साथ छापेको छ ।
यस्तै नागरिकले नेकपामा केपीशर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालको गुट सक्रिय बनेको खबर लेखेको छ ।
आजको अन्नपूर्ण पोस्ट्ले भने संसदीय उपसमितिले वाइडबडी खरिदमा भ्रष्टाचार भएको भनि ठहर गरेको विषयलाई मुख्य समाचार बनाएको छ ।
सार्वजनिक लेखासमिति अन्तर्गतको उपसमितिले बाइडबडी खरिदमा गम्भीर त्रुटि औल्याउँदै यसमा संलग्न पदाधिकारीहरुलाई निलम्बन गर्न सिफारिस गरेको छ । यस्तै छुट नलिँदा नेपाल वायूसेवा निगमलाई २ अर्ब ३८ करोड घाटा भएको उपसमितिको ठहर छ । भारबहन क्षमता कम हुँदा १ अर्ब ३ करोड क्षति पुगेको समाचारमा उल्लेख छ ।
यस्तै अन्नपूर्णले कर्मचारीहरुले आफ्नो स्थायी ठेगाना सुगममा परिवर्तन गराएर सुगममा सरुवा हुने चलखेलमा लागेको विषयलाई पनि महत्वका साथ छापेको छ।
यस्तै आजको कान्तिपुर दैनिकले सभामुख र अध्यक्षलाई गाडीको लस्कर शीर्षकमा मुख्य समाचार छापेको छ ।
प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले ४/४ वटा गाडी प्रयोग गर्ने गरेको समाचारमा जनाइएको छ । यस्तै उपसभामुख र महासचिवले २/२ वटा गाडी प्रयोग गर्ने गरेको समाचारमा उल्लेख छ। त्यस्तै कान्तिपुरले जेल भित्रै अपराध सेटिङ शीर्षकमा अर्को विशेष खबर छापेको छ ।
आजको नयाँ पत्रिकाले भने हाइड्रोका पप्पु, २४ ठेक्का अपुरै शीर्षकमा खबर छापेको छ । इन्भाइरोमेन्ट एन्ड रिसर्च म्यानेजमेन्ट कन्सल्ट्यान्टले अहिले सम्म पप्पुले पुल र सडक अलपत्र पारे जस्तो २४ वटा जलविद्युत आयोजनालाई अलपत्र पारेको नयाँ पत्रिकाले खुलासा गरेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४