काठमाडौं : सर्वोच्च अदालतमा नयाँ प्रधानन्यायाधीशको टुंगो आगामी मंगलबार लाग्ने भएको छ।प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाविरुद्ध परेका उजुरीउपरको छलफल आइतबार नसकिएपछि संसदीय सुनुवाइ विशेष समितिले उनलाई मंगलबार पुन: बोलाएको छ।
राणाविरुद्ध परेका नौ उजुरीबारे सोध्न आइतबार राणालाई समितिले बोलाएको थियो। तर आइतबार सोध्ने क्रम जारी रहेकोले मंगलबार पनि उनलाई डाकिएको हो। मंगलबार छलफल सकिएपछि संभवत: त्यसैदिन नाम अनुमोदन गरेर संवैधानिक परिषदमा पठाउने र राष्ट्रपतिबाट नियुक्ति हुनेछ। हालका प्रधानन्यायाधीश ओम प्रकाश मिश्रले पनि मंगलबार नै स्वभाविक अवकाश पाउँदैछन्।
सुनुवाइ विशेष समितिका सदस्यले राणालाई प्रश्न सोधेपनि कर्मचारीको आन्दोलनका कारण राणाले जवाफ दिन नपाएको र सुनुवाइ स्थगित गरिएको हो । सुनुवाइ विशेष समितिको बैठक मंगलबारका लागि बोलाइएको छ । अब मंगलबार बस्ने बैठकले प्रधानन्यायाधीशको टुंगो लाग्ने छ ।
आइतबारको बैठकमा समितिका सदस्यहरु योगेश भट्टराई, पुष्पा भुसाल, पुर्णकुमारी सुवेदीले राणालाई प्रश्न सोधेका थिए । भट्टराईले अदालतबाट सार्वजनिक सम्पत्तिको संरक्षण हुन नसकेको, सनुवाइबाट कति नम्बरको आशा राखेको, संसदबाट अस्वीकृत व्यक्ति पनि सर्वोच्च अदालतमा न्यायाधीश भएर बसेकोलगायतका विषयलाई समेटेर प्रश्न सोधेका छन्।
अर्का सदस्य पुष्पा भुसालले न्यायिक भ्रष्टाचार रोक्ने चाल्ने कदम, गरिब र तल्लो तहका जनताका लागि न्यायमा विश्वास नहुनुको कारण सुधारमा चाल्ने योजनाका विषयलाई समेटेर प्रशन् सोधेकी थिइन् ।
संसदीय सुनुवाइ विशेष समितले राणा विरुद्ध उजुरी दिने नौ जनासँग शुक्रबार सामान्य छलफल गरेपछि राणालाई नै छलफलका लागि बोलाएको हो। समितिले उजुरीकर्तालाई आफ्नो उजुरीको पुष्टि गर्न छलफलका लागि नौजनालाई बोलाएको थियो ।
राणाले न्यायाधीश रहँदा गरेका केही फैसलाका विषयलाई लिएर उजुरी परेका थिए । कांग्रेसका तत्कालीन नेता जयप्रकाश प्रसाद गुप्तालाई भ्रष्टाचार मुद्दामा राणाले सफाइ दिएका सम्बन्धनमा,पर्साको छपकैया पोखरीको सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गर्ने फैसला गरी आर्थिक लाभ लिएको, तत्कालीन अधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी शाह (राणा) को दाइजोलाई सही ठहर गरेको, विभिन्न व्यक्ति र समूहबाट आर्थिक लाभ लिएर हैसियतभन्दा बढी सम्पत्ति आर्जन गरेको, पशुपतिनाथ भण्डारी तहकित कार्यालयसमेत मुद्दामा राणाले मोटो रकम असुल गरी फैसला गरेको, रोयल्टी नतिरेपछि बन्द भएका क्यासिनो सञ्चालनको फैसला गरेको, गुठीको जग्गा व्यक्तिको नाममा नामसारी गर्ने विभिन्न फैसला गरेकोलगायतका उजुरी राणा विरुद्ध परेका थिए ।
राणाले मंगलबार नै आफूमाथिका प्रश्नको जवाफ दिने छन् ।
यो पनि पढ्नुहोस्
नौ उजुरीबारे सोध्न प्रस्तावित प्रधान्यायाधीश चोलेन्द्रलाई बोलाइयो