सोमबार, साउन ११, २०८३

प्रदेशबाटै श्रम स्वीकृति : वैदेशिक कामदार खुसी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम- धनुषाको हंसपुर नगरपालिका बस्ने जलिम नदाफ आइतबार कार्यालय सुरु हुनासाथ जनकपुरस्थित श्रम तथा रोजगार कार्यालय पुगेका थिए । वैदेशिक रोजगारका क्रममा कतारबाट ३/४ महिनाअघि फर्किएका जलिमलाई फेरे त्यतै जानुपर्नेछ । श्रम स्वीकृतिका लागि काठमाडौ जानुपर्ने उनको बाध्यता आइतबारदेखि सकिएको छ ।

यसैगरी धनुषाकै लक्ष्मिनिया गाउँपालिका सोहनीका सिनुरजोडा पनि वैदेशिक रोजगारीका लागि कतार जाँदै छन् । कतारमै श्रम गरिरहेका विनोद पनि तीन महिनाअघि घर आएका थिए । बिदा सकिएकाले फेरि उनलाई कतार जानुपर्नेछ । वैदेशिक रोजगारमा जानुपूर्व चाहिने श्रम स्वीकृति लिन विनोद श्रम तथा रोजगार कार्यालय पुगेका थिए ।

वैदेशिक रोजगारमा जानुपूर्व यसअघि काठमाडौंबाट मात्र पाइने श्रम स्वीकृति आइतबारदेखि प्रदेशमै सुरु भएपछि जलिम र विनोद दुवै खुसी देखिन्थे । सरकारले आइतबारदेखि पहिलोपटक राजधानी बाहिरबाट श्रम स्वीकृति दिन थालेको छ ।

केही घन्टामै पाउन सकिने श्रम स्वीकृतिका लागि वैदेशिक रोजगारमा जाने कामदारलाई ३/४ दिन पहिल्यै काठमाडौं पुग्नुपर्दथ्यो । प्रदेशबाटै श्रम स्वीकृति पाउन थालेपछि जलिम र विनोदजस्तै हजारौं कामदारलाई सहज भएको छ ।

‘विदेशबाट फर्केर फेरि त्यता जाँदा पुनः श्रम स्वीकृति लिनुपर्ने हुन्छ । पुनः श्रम स्वीकृति लिन हामीलाई काठमाडौं पुग्नुपर्दथ्यो,’ जलिमले भने, ‘यो झन्झट सकिएको छ । अब हामी जनकपुरबाटै श्रम स्वीकृति पाउने भएका छौं ।’

केही घन्टामै पाउन सकिने श्रम स्वीकृति लिन दिन चार दिन पहिल्यै काठमाडौं पुग्नुपर्ने झन्झट पनि अब सकिएको उनले बताए ।

जनकपुरस्थित प्रदेश कार्यालयबाटै श्रम स्वीकृति पाउन थालिएपछि वैदेशिक कामदारहरुको खर्च पनि कम भएको छ । यसअघि काठमाडौं पुगेर श्रम स्वीकृति लिन उनीहरुलाई होटलमा खानाखाजा खाँदा अतिरिक्त पैसा खर्च गर्नुपर्थ्यो । 

‘श्रम स्वीकृति लिन दिन चार दिनअघि हामीलाई काठमाडौं पुग्नुपर्ने बाध्यता थियो,’ सोहनीका विनोदले भने, ‘१०/१५ हजार अतिरिक्त खर्च हुने गरेको थियो । तर अब सजिलो भएको छ ।’ श्रम स्वीकृति लिन काठमाडौंमा ४/५ घन्टा लाममा बस्ने समस्यासमेत टरेको उनले बताए ।

सरकारले आइतबारदेखि प्रदेश २ को जनकपुर र प्रदेश ५ को बुटवलबाट पुनः श्रम स्वीकृति दिने व्यवस्था गरेको छ । तत्काल प्रदेश कार्यालयबाट पुनः श्रम स्वीकृति मात्र दिइने भए पनि आगामी दिनमा यससम्बन्धी सम्पूर्ण काम हुने बताइएको छ ।

प्रदेश श्रम तथा रोजगार कार्यालयका निमित्त प्रमुख मनोज यादवले जनकपुरबाट तत्काल पुनः श्रम स्वीकृतीमात्र पाउन सकिने बताए । उनले पहिलोपटक वैदेशिक रोजगारमा जाने कामदारलाई काठमाडौं पुगेर विभागबाटै श्रम स्वीकृति लिनुपर्ने जानकारी दिए ।

प्रदेश कार्यालयबाटै पुनः श्रम स्वीकृति दिने व्यवस्था भएकोले यस क्षेत्रका वैदेशिक कामदारलाई धेरै सहज भएको उनको भनाइ थियो । प्रदेश कार्यालयबाट दैनिक दुई सयदेखि तीन सयलाई पुनः श्रम स्वीकृति दिने आफूहरुले लक्ष्य राखेको निमित्त कार्यालय प्रमुख यादवले बताए ।

वैदेशिक रोजगारसम्बन्धी काम गर्ने म्यान पावर एजेन्सी, मेडिकल हुने स्थान, वैदेशिक रोजगारलाई तालिम दिइने स्थानलगायतका सबै कामको अनुगमन र निरीक्षण गर्ने यादवले जानकारी दिए ।
एक तथ्यांकअनुसार वैदेशिक रोजगारको सवालमा धनुषा मुलुककै अग्रस्थानमा छ । हाल प्रदेश २ को धनुषाबाट मात्र करिब डेढ लाख युवा वैदेशिक रोजगारका लागि विभिन्न मुलुकमा काम गर्दै आइरहेको बताइएको छ ।

वैदेशिक रोजगारमा जानेमध्ये अधिकांश कामदार विभिन्न कारणले ठगीको सिकार हुँदै आइरहे पनि उजुरी गर्ने स्थानबारे जानकार हुन सकेका छैनन् । एजेन्टमार्फत वैदेशिक रोजगारमा जाने अधिकांश कामदार ठगिँदै आएको सामी परियोजनाअन्तर्गत सञ्चालित जनकपुरस्थित सुरक्षित अप्रवासन कार्यालयले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।