काठमाडौं : पाँच महिनापछि बसेको नेकपा स्थायी समिति बैठकमा पहिलोपल्ट सदस्यहरूलाई बोल्न २० मिनेट समय दिइयो। यसअघिका बैठकमा यति लामो समय दिइएको थिएन। एकीकरणपछि १४ दिनसम्म स्थायी समिति बैठक बसेको पहिलोपल्ट हो।
बैठकमा सदस्यहरूलाई बोल्न लामो समय उपलब्ध गराउन नेकपा अध्यक्ष प्रचण्डले भूमिका निर्वाह गरेको एक नेताले बताए। सदस्यहरूलाई बोल्ने समय नदिएर टालटुल गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको चाहनालाई पूर्वमाओवादी पक्षधर नेताहरूले समेत नरुचाएको स्रोतले बतायो।
माओवादी निकट एक स्थायी समिति सदस्यले भने, ‘पूर्वमाओवादीमा पनि गुट नभएको होइन, तर पूर्वएमाले जतिको होइन ।’ उनका अनुसार बैठकमा संस्थापन पक्षले वरिष्ठ नेता माधव नेपाल पक्षलाई ध्वस्त हुने गरी पेलेको थियो।
प्रधानमन्त्री ओली बैठक चाँडो टुंग्याउन चाहन्थे। तर प्रचण्डले यसपटक सबैको कुरा सुन्न चाहेकाले बैठक धेरै दिनसम्म लम्बिएको हो । बैठकबाट ओली र प्रचण्डको अलगअलग गुटको रेखा कोरिएको छ। यो बिस्तारै सरकार सञ्चालनको शैलीसँग जोडिएर अलग गुटमा विकसित हुन थालेको एक स्थायी समिति सदस्यले बताए। यसपटकको स्थायी समितिको बैठकमा पूर्वमाओवादी निकट सदस्यहरूले पार्टी सञ्चालन शैलीमा खासै अलोचना गरेरन् । तर सरकार सञ्चालन शैलीप्रति भने निकै आक्रामक देखिएका थिए।
तर माधव नेपाल पक्षले भने सरकार पार्टी सञ्चालन शैलीको निकै आलोचना गरेका थिए। स्थायी समिति बैठकमा सदस्यहरूलाई आश्वस्त पार्दै प्रचण्डले पार्टीले सरकार चलाउने उद््घोष गरेका थिए। यसो भन्नुको अर्थ थियो– ओलीको सरकार सञ्चालन शैली ठिक छैन।
बैठकमा राजनीतिक प्रतिवेदनमा ठूलो असन्तुष्टि भए पनि प्रचण्डले नै सबैका सुझाव समेटेर सच्याउने प्रतिबद्धता प्रकट गरे। जुन कुरा प्रधानमन्त्री ओलीलाई मन परेको थिएन। प्रचण्डकै पहलमा प्रदेश जिल्ला र जनवर्गीय संगठन एकताका लागि कार्यदल गठन गरिएको थियो। यसको अर्थ सचिवालयको अधिकार कटौती हो। प्रधानमन्त्री ओली कार्यदल गठन गर्ने पक्षमा थिएनन् । उनी सबै कुरा सचिवालयबाट टुंगो लगाउन चाहन्थे। तर एकतामा समेट्नुपर्छ भन्दै प्रचण्डको पहलमा कार्यदल गठन गरिएको एक नेताले दाबी गरे ।
महासचिव विष्णु पौडेलको नेतृत्वमा गठित कार्यदलमा रामबहादुर थापा, शंकर पोखरेल, वर्षमान पुन, योगेश भट्टराई, सुरेन्द्रप्रसाद पाण्डे, वेदुराम भुसाल र लेखराज भट्ट सदस्य छन् । कार्यदलका सदस्यमध्ये थापा, पुन र भट्ट प्रचण्ड निकट हुन् । त्यसैगरी भट्टराई, पाण्डे र भुसाल नेपाल निकट मानिन्छन् । कार्यदलमा ओली निकट पौडेल र पोखरेलमात्र हुन् । यसरी कार्यदल गठनमै प्रधानमन्त्री ओली अल्पमतमा परेका छन् । संख्याका हिसाबमा वरिष्ठ नेता नेपाल निकट तीन र प्रचण्ड निकट तीन छन् ।
शुक्रबारको बैठकमा उनले घुमाउरो पारामा ओलीको आलोचना गरेका थिए। उनले भनेका थिए, ‘यत्रो भइसकेपछि मचाहिँ आलोचित हुन्थे, आत्मालोचना गर्थें । जड हुनुपर्ने आवश्यकता छैन। साथीहरूले उठाएका कुरामा मचाहिँ लचक हुन्थें । ओलीजी पनि मसँग नआत्तिनुहोस्। म तपाईंलाई सघाउने मान्छे नै हो। मसँग काम लिनुहोस् कति लिन सक्नुहुन्छ ? फकाएर लिनुहोस्।’प्रधानमन्त्री ओली निकट एक नेताका अनुसार दाहालले पार्टीभित्र गुटको रेखा कोर्न सुरु गरेका छन् । प्रचण्डले पार्टीभित्रको असन्तुष्टि टेकेर ओलीविरुद्ध कदम चाल्न सुरु गरेको ती नेताले दाबी गरे।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४