मंगलबार, साउन १२, २०८३

सुदूरपश्चिममा 'पुसे १५' : दन्त्य कथा सुनाएर मनाइँदै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
धनगढी- एक आपसमा कथा, दन्त्य कथा, गाउँखाने कथा सुन्ने सुनाउने पर्वको रुपमा लिइने 'पुसे १५' पर्व आज सुदूरपश्चिम प्रदेशका जिल्लामा हर्षाेउलासपूर्वक मनाइँदै छ । 

पुस १५ गते मनाइने भएकोले यो पर्व डोटेली लोकसंस्कृतिमा 'पुसे १५' को रुपमा चर्चित रहेको छ । डोटेली लोकसंस्कृतिको मौलिक पहिचान बोकेको यो पर्वलाई पुस १५ गतेको रात वर्षभरिकै सबैभन्दा लामो रात भएको विश्वासमा मनाउने गरिन्छ । 

यो पर्वमा दिनमा भन्दा रातिको समयमा एक ठाउँमा भेला भएर गरिने गतिविधिलाई विशेष महत्वका रुपमा हेर्ने गरिन्छ । यो पर्वमा टोल छिमेकको एक घरमा भेला भई आगो तापेर रातभर जाग्राम बस्ने, जाग्राम बसेका बेला बिषेशगरी चामलको पिठोबाट बनेको ढुकढुके रोटी तरुल, पिडालु, सखरखण्डलगायतका कन्दमूलका साथै पाकेको फर्सी उसिनेर खाने प्रचलन छ । 

१५ गतेको बेलुकी प्रत्येकको घरघरमा ढुकढुके रोटी पकाएर खाने तथा टोल टोलमा सामुहिक रुपमा पनि पकाउने रातभर त्यहि रोटी खाएर वृद्धवृद्धाबाट लोक कथा एवम् दन्त्य कथा, गाउखाने कथा सुन्ने सुनाउने प्रचलन रहेको छ । बिषेशगरी केटीहरु मिलेर एउटै ठाउँमा जम्मा भई ढुकढुके रोटी पकाउने र इष्टमित्रको केटाहरुलाई निमन्त्रणा दिएर उनीहरुसँगै रोटी खादै न्याउले खेलेर, गीत कथा सुन्ने सुनाउने गरेर रमाईलो गर्दै रात बिताउने प्रचलन रहिआएको छ । 

पर्वको तयारी स्वरुप हरेक घरका गृहणीहरुले आज आ–आफ्नो घरमा खानाका मीठा परिकार पकाउने तयारीमा लाग्ने गर्छन् । पर्वमा विवाहिता छोरीवेटीलाई घरमा आमन्त्रण गरी भव्यरुपमा स्वागत एवम् सत्कार गर्ने गरिन्छ । विशेष गरी रातमा नसुतेर यो पर्व मनाउने परम्परा रहेको भए पनि बदलिँदो परिवेशमा यसको खास महत्व दर्साउने गरी मनाउने परम्परा भने हराउँदै जान थालेको जानकारको भनाई छ । 

अछाम मंगलसेनका शिवराज ढुंगानाले पहिलेको पुस्ता जस्तोगरी नयाँ पुस्ताले पुसे १५ मनाउने नगरेको बताए । पहिलेका जमानामा साँच्चै रातभर जाग्राम बस्ने प्रचलन रहेपनि अहिले भने बिस्तारै उक्त प्रचलन हराउदै गएको उनले सुनाए । 

आजको रात सबैभन्दा लामो हुने भएकाले आजको रातलाई ठूली रात मानी राति मीठामीठा खानेकुरा खाएर रमाइलो गरी जाग्राम बस्ने, देउडा खेल्ने तथा बिहान उज्यालो नहुँदै नुहाइधुवाई गर्ने चलन रहेको बैतडीका पण्डित दयाकृष्ण पन्तले बताए । 

उनले भने, 'रातभरि कथा, कहानी स्थानीय भाषामा आइना, बातै सुन्ने र सुनाउने तथा तरुल, सखरखण्ड पकाएर खाने गरिन्छ ।' पन्नरी रातका रुपमा समेत मनाइने यो पर्वमा आज १५ किसिमका परिकार खाने प्रचलन रहेको छ । तेल अथवा घिउमा तारेर पकाइएका खानेकुरा अथवा घिउ हालेको भात खाने गरिन्छ । तिहारमा भैली खेलेर जम्मा भएको रकमबाट आजै 'कुन्क्यौलो' 'वनभोज' खाने गरिन्छ । 

पुस १५ को आसपास सबैभन्दा चिसो समय हुने भएकाले चिसोबाट बच्न र शरीरसमेत फूर्तिलो हुने भएकाले चिल्लो पदार्थ हालेका तातो खानेकुरा खाने गरिएको समेत पण्डित पन्तको भनाइ रहेको छ । एक दिन भए पनि आज घर बाहिर पकाएर खानुपर्ने मान्यताका कारण परिवारका सबै सदस्य 'कुन्क्यौलो' 'वनभोज' जाने र मीठामीठा खानेकुरा खाने चलन रहिआएको छ ।

डिसेम्बर २२ तारिखलाई विश्वभरि नै सबैभन्दा छोटो दिन भनिए पनि नेपाली समाजमा भने पुस १५ लाई छोटो दिन मान्ने गरिन्छ । आजदेखि दिन विस्तारै लम्बिँदै जाने र असार १५ मा वर्षकै ठूलो दिन मानिन्छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।