काठमडौं- रौतहटको कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहा जेलबाट रिहा भएको खुसियालीमा सार्वजनिक विदाको घोषणा गरिएको छ। शनिबार उनलाई नगरमा भब्य स्वागत गर्दै आइतबार सार्वजनिक विदा दिने घोषणा गरिएको हो ।
विश्व हिन्दु युवासंघ पर्साका संस्थापक अध्यक्ष काशी तिवारीको हत्या आरोपमा जेल परेका उनलाई शुक्रबार सर्वोच्च अदालतले सफाइ दिएको थियो ।
गत वैशाख २७ गते राजधानीबाट पक्राउ परेका कुशवाहालाई उच्च अदालत जनकपुरको इजलास वीरगन्जल सर्वस्वसहित जन्मकैद सजाय सुनाएका थियो । उक्त फैसलालाई उल्टाउँदै सर्वोच्चका न्यायाधीशद्वय शारदा घिमिरे र डम्बर शाहीको इजलासले शुक्रबार सफाइ दिएको हो ।
अदालतबाट सफाइ पाएपछि झन्डै ९ महिना लामो कारागार बसाइपछि उनी शुक्रबार नै डिल्लिबजार काराबाट रिहा भएका थिए ।
कुशवाहा शनिबार आफ्नो गाउँ कटहरिया हेलिकप्टरमार्फत दलबलसहित उत्रिएका थिए । उनलाई स्थानीय कार्यकर्ताले भब्य स्वागत गरेका थिए । उनको स्वागत सँगै स्वेच्छाचारी ढङ्गले आइतबार सार्वजनिक विदा दिने घोषणा गरिएको हो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४